हितेन्द्र मानेको भए सोमबारनै कुलमान हुन्थे प्राधिकरणको एमडी, राजीनामा माग बारे के भन्छन् हितेन

बिजमाण्डू
२०७८ साउन १९ गते २१:३६ | Aug 3, 2021
हितेन्द्र मानेको भए सोमबारनै कुलमान हुन्थे प्राधिकरणको एमडी, राजीनामा माग बारे के भन्छन् हितेन

Tata
GBIME

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका केन्द्रका अध्यक्ष प्रचण्डबीच केही दिन अघि विद्युत प्राधिकरणमा कुलमान घिसिङ ल्याउने सहमति भएको थियो।

प्राधिकरणमा कुलमान ल्याउँदा सरकारको लोकप्रियता बढ्ने दुबैको निष्कर्षसहित नियुक्ति अगाडि बढाउने सहमति भएको थियो। तर प्राधिकरणमा चार वर्षका लागि केपीशर्मा ओलीको सरकारले कार्यकारी निर्देशकमा चार वर्षका लागि हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।

 प्रतिस्पर्धाका आधारमा शाक्य नआएपनि हटाउँदा प्रक्रिया पुर्‍याउन नसके कानुनी उल्झनमा पर्ने समस्याका बारेमा समेत छलफल भयो।

अन्तिममा शाक्यलाई प्रधानमन्त्री राखेर उर्जामन्त्री पम्फा भुसालले राजीनामा माग्ने सहमति बन्यो। त्यही सहमति अनुसार सोमबार १२ बजे शाक्यलाई बालुवाटार बोलाइयो। प्रधानमन्त्री देउवाको उपस्थितीमा उर्जामन्त्री भुसालले शाक्यलाई अन्य ठाउँमा एडजस्ट गर्ने भन्दै कार्यकारी निर्देशकबाट राजीनामा दिन आग्रह गरे।

‘पछिल्लो समयमा प्राधिकरणको अवस्था विग्रदै गएको छ। एउटा ट्रयाकमा आइसकेको संस्था विस्तारै लथालिङ हुन थालेको छ,’ उनले शाक्यलाई भनेकी थिइन्, ‘मैले पनि केही नयाँ काम गर्ने अठोटका साथ उर्जा मन्त्रालयमा आएको हुँ। त्यसका लागि समेत तपाइँले कार्यकारी निर्देशकबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुस्।’ उनले प्राधिकरणको नेतृत्व बलियो नहुँदा चेन अफ कमाण्ड भत्किदै गएको र चुहावट बढ्न थालेको समेत बताएकी थिइन्।

मन्त्री भुसालले कार्यकारी निर्देशक शाक्यको राजीनामा माग्दा प्रधानमन्त्री देउवाले भने मौननै बसेका थिए। प्रधानमन्त्री देउवाले शाक्यसँग दोहोरो कुरा गरेनन्। प्रधानमन्त्रीको रोहबरमा उर्जामन्त्री भुसालले राजीनामा मागेपछि शाक्य मोबाइल स्वीच अफ गरेर केही घण्टा बसेका थिए। उनी बालुवाटारबाट प्राधिकरणको कार्यालय समेत गएनन्।

 उनले प्राधिकरणको गाडी बीचमा छाडेर निजी गाडीमा लिएर हिडेका थिए। दिउँसो उर्जामन्त्री भुसालले उर्जासचिव देवेन्द्र कार्कीमार्फत सम्पर्कको प्रयास गरेकी थिइन्।

 तर मोबाइल स्वीच अफ भएका कारण सम्पर्क भएको थिएन्। शाक्यले साँझ मात्रै मोबाइल अन गरेका थिए। स्रोतका अनुसार भुसालको आग्रह अनुसार शाक्यले राजीनामा दिएको भए सोमबारकै मन्त्रिपरिषद्बबाट कुलमानलाई नियुक्ति दिने तयारी भएको थियो।

 राजीनामा मागका बारेमा के भन्छन् शाक्य?

प्रधानमन्त्रीज्यूले राजीनामा दिन भन्नुभएको हो?

हितेन्द्रदेव शाक्य– होइन। त्यस्तो केही भन्नुभएको छैन।

त्यसो भए मन्त्रीज्यूले राजीनामा दिन भन्नुभएको हो त?

हितेन्द्रदेव शाक्य- मन्त्रीज्यूले पनि त्यसो भन्नुभएको होइन। अरु कामहरु के गर्न सकिन्छ भन्ने कुरा गर्नुभएको हो। मैले सरकारले जे निर्णय गर्छ स्वीकार्य भइहाल्छ भनेको हो। त्यो भन्ने कर्मचारीको कर्तब्य हो।

 त्यसो भए तपाइँलाई प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूले राजीनामा गर भन्नुभएको होइन?

हितेन्द्रदेव शाक्य- त्यो भन्नुभएको छैन्।

तपाइँलाई भन्नुभएको चाँही के हो त?

हितेन्द्रदेव शाक्य- अब अन्यत्र अरु केही कामहरु गर्न सकिन्छ? के छ? त्यो बारेमा सोध्दाखेरि सरकारले जे काम लगाउँछ, त्यो  काम गर्न तयार छु भनेको हो।

त्यसो भए तपाइँलाई अन्त कतै जानुहुन्छ भनेर सोध्या हो?

हितेन्द्रदेव शाक्य- त्यो सोधिएको हो। पठाउने हो भने म रेडि छु। तर अब सरकारले पठाउनुपर्‍यो भनेको हो।

तर तपाइँले मैले चार वर्षका लागि नियुक्त पाएको हो। म राजीनामा दिन्न भन्नुभयो रे नी?

हितेन्द्रदेव शाक्य- भन्या छैन त्यस्तो। त्यो बेकारको फाल्तु गफ हो।

कुलमान घिसिङलाई ल्याउने भन्ने कुरा छ। उहाँ आउनुभयो भने तपाइँ छोड्न तयार हो?

हितेन्द्रदेव शाक्य- त्यो उहाँको कुरा हो। को आउँछ, को जान्छसँग मलाई मतलब छैन्। सरकारले जहाँ पठाउँछ जान तयार छु।