
काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)ले अनुमतिविनै जहाज सि-चेक (विस्तृत मर्मत)का लागि पठाउने अवस्था आउनुमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई दोष दिएको छ।
क्यानले कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित ५ जनामाथि कारबाही गरेपछि एनएसीले क्यानमाथि नै दोष लगाएको हो।
९ एन-एएलवाई कलसाइनको वाइडबडी जहाजको सि-चेक दुई महिना पछाडि सार्नका लागि तीन साताअघि गरेको अनुरोधसहितको पत्रमा क्यानले निर्णय नदिएका कारण अहिलेको परिस्थिति आएको एनएसीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
क्यानमाथि दोष लगाएपनि यसमा एनएसीकै गल्ती रहेको उसको प्रेस विज्ञप्तिबाट देखिन्छ। उसले सि-चेकका लागि अनुमति मागेको उल्लेख गरेको छैन। त्यस्तै क्यानले मागेको कागजात बुझाए/नबुझाएको कुरा पनि एनएसीको विज्ञप्तिबाट खुल्दैन।
विज्ञप्ति अनुसार ९ एन-एएलवाई कलसाइनको वाइडबडी जहाजको सि-चेक जुन २६ भित्र सुरु गर्नुपर्ने बाध्यताका कारण एनएसीले २ महिनापछि धकेल्न अनुरोधसहित जुन २ मा क्यानलाई पत्र पठायो। क्यानले ९ दिनपछि अर्थात ११ जुनमा थप कागजात माग्यो। सि-चेक २ महिनापछि धकेल्ने अनुरोधमा क्यानले जुन २२ सम्म कुनै निर्णय दिएन।
‘क्यानबाट स्वीकृति नआइसकेको र एमआरओले दिएको मेन्टिनेन्सको स्लटको समय व्यतित भई फेरि कहिले स्लट पाउने भन्ने निश्चित नहुने विषम परिस्थिति सृजना हुने भएकोले ईयूको नियमानुसार फेर्री फ्लाइट फर मेन्टिनेन्स अन्ली भनेर क्यानबाट एमआरओ भ्यालिडेसन प्राप्त भएपछि मर्मत कार्य सुरु गर्ने गरी चालक दलका ५ जना लिएर जुन २३ मा दुबईबाट इटलीको नाप्लेजस्थित मर्मत कम्पनीमा जहाज अवतरण गरेको हो,’ एनएसीका प्रवक्ता रमेश पौडेल र प्राविधिक प्रवक्ता देवेन्द्र पुनले मंगलबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ।
कम्पनी छनोट नै शंकास्पद
एनएसीले जहाज सि चेकका लागि इटलीको एटिटेक एसपीए कम्पनी टेण्डरमार्फत छानेको बताएको छ। सि-चेक गर्ने कम्पनी छान्नका लागि एनएसीले चार महिनाअघि अर्थात फेब्रुअरी १३ मा टेण्डर आह्वान गर्यो। ४५ दिनको समय दिएर गरिएको टेण्डरमा एटिटेक एसपीएको मात्र निवेदन परेको पर्यो।
त्यसपछि एनएसीले १५ दिनको समयसीमा तोकी मार्च ३० मा अर्को सूचना निकाल्यो। यसपटक अमेरिकाको स्ट्र्याटेजिक ग्लोबल एभिएसन एलएलसी एण्ड लिगेसी एरोस्पेसको आवेदन गर्यो।
‘मूल्याङ्कन उप-समितिले नियम अनुसार जाँच गर्दा दुवै टेन्डर सारभूत रुपले प्रभावग्राही नभएका कारणले कम्पनी छनोट प्रक्रिया र सिफारिस हुन सक्ने अवस्था नभएकोले उक्त टेन्डर प्रक्रिया रद्ध गरियो,’ एनएसीले भनेको छ।
एनएसीले मे १७ मा १५ दिनको समयसीमा तोकी पुनः टेन्डर आह्वान गर्यो। ‘उक्त प्रतिस्पर्धामा भाग लिन ईच्छुक भएको तर समय अभाव भएको कारण देखाई दुई कम्पनीबाट इमेलमार्फत अनुरोध गरिएको आधारमा जुन ३ मा ७ दिनको म्याद थप गरियो। उक्त कम्पनीबाट प्रस्ताव पेस हुन आएन,’ एनएसीले भनेको छ।
तर, कतिवटा कम्पनीको आवेदन पर्यो भन्ने एनएसीले खुलाएको छैन। मूल्यांकन उपसमितिले यसअघि सारभूत रुपले प्रभावग्राही नभएका कारण सिफारिस हुन नसक्ने भनेको एटिटेक एसपीएलाई नै सि-चेकको जिम्मा दिने निर्णय एनएसी अध्यक्ष अधिकारीले जुन १४ मा गरे।
एनएसीको विज्ञप्ति अनुसार कम्पनी छनोट नै शंकास्पद देखिएको छ।
जहाज पठाएपछि मान्यता लिने प्रक्रिया !
अर्को कुरा जुन २६ भित्र सि-चेक सुरु गरिसक्नुपर्ने अवस्था रहेकामा एनएसी व्यवस्थापन समयमै कम्पनी छनोट गर्न असफल भएको देखिन्छ। किनभने उसले छनोट गरेको कम्पनीले क्यानबाट मान्यता लिनुपर्छ। मान्यता लिनका लागि निश्चित शुल्कसहित आवेदन दिनुपर्ने कानुनी व्यवस्था छ।
क्यानका अनुसार एटिटेक एसपीएले निगमको जहाज सि-चेकका लागि अनुमति मागेकै छन्। एनएसी स्वयंले पनि आफूले छनोट गरेको कम्पनीले अनुमतिका लागि निवेदन दिएको उल्लेख गरेको छैन।
‘एटिटेक कम्पनीले आफूसँग भएको ईएएसएको अप्रुभललाई नेपाल नागरिक उडडयन प्राधिकरणको नियमानुसार भ्यालिडेसन लिन पर्ने र सोका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ’ भनेपनि क्यानमा निवेदन दिएको भन्न सकेको छैन।
नागरिक उड्डयन प्राधिकरण नियमावली २०५८ मा वायुयान मर्मत संभार गर्ने विदेशी संस्थाले नेपाली वायुयान मर्मत संभार गर्ने भएमा क्यानसँग अनुमति लिनुपर्छ। क्यानका महानिर्देशकले दरखास्त परेपछि आवश्यक जाँचबुझ गरी सर्त तोकेर नेपाली वायुयानको मर्मत संभार र ओभरहल गर्न पाउने गरी मान्यता दिन सक्ने व्यवस्था नियमावलीमा छ।
आफूले मान्यता नै नदिएको कम्पनीमा एनएसीले अनुमतिविनै जहाज सि-चेकका लागि पठाएपछि क्यानले मंगलबार एनएसीका अध्यक्ष अधिकारी अपरेसन डाइरेक्टर दिपु ज्वारचन, कन्टिन्युइङ एयर वर्दिनेस मेन्टिनेन्स अर्गनाइजेसन म्यानेजर ज्ञानबहादुर कुँवर, क्याप्टेनद्वय रमन घिमिरे र महेश्वरमान डंगोललाई कारबाही गरेको छ।