साल्ट ट्रेडिङले मोबाइल भ्यानमा दैनिक ४ लाखको खाद्यान्न बेच्दै, व्यापार कम्पनीमा पनि माग

सरला सुवेदी/बिजमाण्डू
२०७८ जेठ १९ गते ०९:०३ | Jun 2, 2021
साल्ट ट्रेडिङले मोबाइल भ्यानमा दैनिक ४ लाखको खाद्यान्न बेच्दै, व्यापार कम्पनीमा पनि माग

Tata
GBIME

काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) ले मोबाइल भ्यानमार्फत दैनिक चार लाख रुपैयाँको खाद्यान्न बिक्री गरिरहेको छ।

गत शुक्रबारदेखि एक साताको लागि लागु गरिएको कडा निषेधाज्ञामा सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था गरी कम्पनीलाई खाद्यान्न बिक्री गर्ने अनुमति दिएको छ। 

 उपभोक्ताले अति आवश्यक परेको अवस्थामा कम्पनीका आधिकारिक व्यक्तिहरुलाई फोन गरेर साथै अनलाइनमार्फत खाद्यान्न अर्डर गर्ने सक्ने व्यवस्था छ।

फोनमार्फत आएका अर्डरहरु साल्ट्र ट्रेडिङले दैनिक ३ वटा मोबाइल भ्यानमार्फत होम डेलिभरी गरिरहेको छ। एउटा भ्यानले दैनिक  ७० देखि ८० वटा अर्डरहरु डेलिभरी गरिरहेको बजार प्रबन्धक प्रज्वल प्रधानले बताए। 

यसले गर्दा कर्मचारीहरुलाई भ्याइनभ्याइ छ। ५ दिनमा करिब २ हजारदेखि २५ सय घरपरिवारमा खाद्यान्न बिक्री वितरण गरिरहेको उनले बताए। भ्यानहरुबाट दैनिक ४ लाखभन्दा बढीको खाद्यान्न बिक्री भइरहेको छ। 

साथै ४ वटा आउटलेट पनि बिहान १० देखि ४ बजेसम्म खुल्ला हुने गरेको छ। सर्वसाधारणलाई हिँडडुल गर्न नदिएकाले पास हुनेहरु मात्र आउने गरेका छन्। जसले गर्दा कालिमाटीमा दैनिक एक लाखभन्दा बढीको खाद्यान्न बिक्री हुने गरेको छ। अन्य आउटलेटबाट दैनिक ५० देखि ६० हजार रुपैयाँको बिक्री हुँदै आएको छ।

यति बेला अघिल्लो लकडाउनभन्दा बढी खाद्यान्नको माग आएको छ। उपभोक्ताले दाल, चामल, चिनी, तेल र पिठो, ग्यासका साथै इन्डक्सन चुलोको अर्डर गर्न सक्छन्। उपत्यका भित्रबाट अर्डर आउने क्रम जारी छ। बाहिरका जिल्लाबाट अर्डर आए पनि तत्काल डेलिभरी हुन सकेको छैन। डेलिभरी गर्ने तयारी भने गरिरहेको कम्पनीले जनाएको छ। 

त्यस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा पनि खाद्यान्नको अर्डर बढ्न थालेको कम्पनीकी सूचना अधिकारी सर्मिला सुवेदीले बताइन। अनलाइन अर्डर र फोनबाट गरी दैनिक ३० भन्दा धेरै अर्डर हुने गरेको कम्पनीले जनाएको छ। 

कम्पनीमा फोनभन्दा अनलाइनमार्फत अर्डर धेरै आउने गरेको छ। यसमा चामलको माग बढी छ। फोनमार्फत आएका थोरै सामानका अर्डरहरुलाई पनि डेलिभरी गरिरहेको सुवेदीले जानकारी दिइन। 

बजार खुला हुँदा कम्पनीमा अर्डर कम आउने गरेको थियो। अहिले उपत्यकामा खाद्यान्नका पसलसमेत बन्द रहेकाले अर्डर बढ्ने क्रम रहेको कम्पनीले जनाएको छ।