ग्लोबल आइएमई लघुवित्त र स्पर्स लघुवित्तको एकीकृत कारोबार सुरु, चुक्ता पूँजी ४३ करोड नाघ्यो

बिजमाण्डू
२०७८ बैशाख ९ गते १५:५६ | Apr 22, 2021

Tata
GBIME

काठमाडौं। ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति पश्चात् ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट बिहीबारदेखि एकीकृत कारोबार सुरु भएको छ।

लमजुङ केन्द्रीय कार्यालय भई राष्ट्रियस्तर कार्यक्षेत्र भएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र  पोखरा –२६, कास्की केन्द्रीय कार्यालय भएको स्पर्स लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय पोखरा –२६, कास्कीबाट एकीकृत वित्तीय कारोबार सुरु गरेको हो।

एकीकृत कारोबार शुभारम्भका अवसरमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. संचालक समितिका अध्यक्ष बुद्धि अकेला र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थिति थियो।

कार्यक्रममा ग्लोबल बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले लघुवित्त क्षेत्रमा डुप्लीकेसन समस्या रहेको र त्यसको निराकरणको उपाय मध्येको एक उपाय मर्जर तथा प्राप्तिले डुप्लीकेसनमा कमी हुने बताए ।

यस कार्यले सफल र सुदृढ संस्था हुन तथा नेपाल राष्ट्र बैंकको नीतिलाई पनि सहयोग पुग्ने उनको भनाई छ।

कार्यक्रममा वित्तीय संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशी, संयुक्त प्राप्ति समितिका संयोजक एवं वित्तीय संस्थाका सञ्चालक रुपेन्द्र वाग्लेलगायतको उपस्थिती थियो।

एकीकृत कारोबार पश्चात् वित्तीय संस्थाको कुल चुक्ता पुँजी ४३ करोड १७ लाख २० हजार ४ सय ११ पुगेको छ। यसैगरी  कुल कर्जा लगानी ६ अर्ब १४ करोड ६३ लाख १० हजार, निक्षेप/बचत २ अर्ब ३ करोड ६९ लाख ४९ हजार ६ सय २० रहेको संस्थाले जनाएको छ।

संस्थाले देशका विभिन्न ५१ जिल्लाका ९९ वटा शाखा कार्यालयहरु मार्फत वित्तीय सेवा दिइरहेको जानकारी दिएको छ।

हाल वित्तीय संस्थाका कुल ग्राहक सदस्यहरु एक लाख २३ हजार भन्दा धेरै तथा ६३ हजारभन्दा बढी ऋणीले विभिन्न शीर्षक अन्तर्गत कर्जा लिएको जारी विज्ञप्तिमा उल्लेख छ।