कच्चा पदार्थ महंगियो भन्दै बजारमा फेरि बढ्यो खानेतेलको मूल्य, के गर्दैछ वाणिज्य विभाग?

सरला सुवेदी/बिजमाण्डू
२०७७ चैत्र १४ गते १२:४४ | Mar 27, 2021
कच्चा पदार्थ महंगियो भन्दै बजारमा फेरि बढ्यो खानेतेलको मूल्य, के गर्दैछ वाणिज्य विभाग?


काठमाडौं। भान्सामा नटुट्ने पदार्थमा पर्छ खानेतेल। उपभोक्ताको ढाड सेक्दै यसको मूल्य क्रमिक बढेको बढेकै छ।

Tata
GBIME

किन बढेर आउँछ ? उद्योगी-व्यवसायीको जबाफ हुन्छ कच्चा पदार्थ र उत्पादन लागत बढेकाले। यो कारण कतिको जायज हो भन्ने सर्वसाधारण उपभोक्ताले न जाँच गर्न मिल्छ, न त कसैले बढी सोधीखोजी नै गर्छन्। तर एकपटक बढेको भाउ घट्दैन, केही महिनासम्म केही स्थिर देखिएको खानेतेलको भाउ फेरि क्रमिकरूपमा बढेको बढेकै छ।

अस्वभाविक मूल्य लिएको भन्दै दुई उद्योग जरिवानाको कारबाहीमा परेको धेरै दिन बित्न नपाउँदै यतिबेला बजारमा खानेतेलको मूल्य पुनः बढेको हो। सूर्यमुखी र भटमासको तेलमा दुई सातामा प्रतिलिटर २५ रुपैयाँ बढेको छ। व्यवसायीका अनुसार लागत मूल्य बढी पर्न थालेको भन्दै उत्पादकहरुले सूर्यमुखी, भटमास र तोरीको तेलमा भाउ बढाएका छन्। कच्चा पदार्थ आयात, उत्पादन र आपूर्ति सहज हुँदा पनि खानेतेल महंगिदा उपभोक्तालाई मर्का परेको छ।

दुई साताअघि सूर्यमुखी तेल प्रतिलिटर २ सय १० रुपैयाँ थियो। अहिले प्रतिलिटर न्युनतम २ सय ३५ रुपैयाँ पुगेको छ। उत्पादक ब्रान्ड अनुसार कतिपयको मूल्य २ सय ५० रुपैयाँसम्म पुर्‍याइएको छ। होटलहरुमा प्रयोग गरिने  भटमासको तेल पनि लिटरमै १५ रुपैयाँ बढेको छ। पहिले प्रतिलिटर २ सय ५ रुपैयाँबाट पर्ने भट्मासको तेल अहिले २ सय २५ रुपैयाँ भएको छ। 

तोरीको सबैभन्दा महंगो धारा तेल प्रतिलिटर २ सय ६० रुपैयाँबाट ३१० रुपैयाँसम्म पर्न थालेको छ। सामान्य ब्रान्डको तोरीको तेलमा भने मूल्य वृद्धि भएको छैन। थोक व्यवसायीका अनुसार तीन महिनायता बजारमा खानेतेलको मूल्य घट्नेभन्दा पनि उकालो लाग्ने क्रम क्रमिक छ। पाँच महिना अघि सूर्यमुखी तेल प्रतिलिटर १ सय ८५, भट्मासको प्रतिलिटर एक सय ७० र धारा तेल २ सय ६० रुपैयाँ थियो।
गत माघमा सूर्यमुखी प्रतिलिटर २२० र भटमासको २१० रुपैयाँ पुगेको थियो। 

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्दा तेलको भाउ बढाउनु परेको तेल उद्योगहरुले जिकिर गर्दै आएका थिए। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अस्वभाविक मूल्यवृद्धिबारे स्पष्टीकरण मागेपछि उद्योगीले पुरानै मूल्य कायम गर्न थालेको बताएका थिए। तर बजारमा एकपटक बढिसकेको मूल्य घटेकै थिएन। अहिले पुनः क्रमिक बढ्न थालेको हो। 

गत महिनामै खानेतेल प्रतिलिटर १० रुपैयाँले वृद्धि भएको थियो। अनधिकृत तवरले मूल्य बढाउनेमाथि कारबाही हुने विभागमा अधिकारी बताउँछन्। पुनः तेल उत्पादकहरुले कच्चा पदार्थ महंगिदा उत्पादन लागत बढी लाग्ने गरेको बताउँदै आएको वाणिज्य विभागका प्रवक्ता शिवराज सेढाइँले बताए। 'हामीले फेरि पनि उत्पादन लागत र कच्चा पदार्थ आयातको बिलबिजक मगाएका छौं,' उनले भने, 'तेल उद्योगको केही प्रतिनिधिहरुलाई थप स्पष्टीकरण सोधेका छौं।' 

सूर्यमुखी र भटमासको तेलमा दुई सातामा प्रतिलिटर २५ रुपैयाँ बढेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए। 'सूर्यमुखी तेल प्रतिलिटर २ सय ३० देखि २ सय ३५ रुपैयाँसम्म पर्छ,' उनले भने, 'सातामै यसरी मूल्य बढ्दा उपभोक्ताले हामीलाई नै किन बढ्यो भनेर सोध्न  थालेका छन्। उत्पादकहरूले नै मूल्य बढाएर बजारमा पठाउँछन्।' 

एक पटक खरिद गरेको तेलको स्टक सकिन नपाउदै मूल्य बढिसक्ने किराना व्यवसायीहरुले बताएका छन। गत असार-साउनयता बजारमा तेलको मूल्य लगातार फरक परिरहेको कंलकीका किराना व्यवसायी सुवास कार्कीले बताए। 'कोभिडअघि सातामै तेलको मूल्य यसरी बढ्दैनथ्यो। बढिहाले पनि लिटरमा ५ देखि १० रुपैयाँ हुन्थ्यो,' उनले भने। 

अहिले सातामै लिटरमा १५ रुपैयाँले बढेको छ। उनका अनुसार तेलको प्याकेटमा एमआरपी बढी लेखेर आएको छ। 'सूर्यमुखी २ सय ४५ रुपैयाँको एमआरपी छ, यसलाइ हामीले २ सय ३० रुपैयाँमा बिक्री गर्ने गरेको छौं,' उनले भने। भटमासको तेल प्रतिलिटर २ सय २८ रुपैयाँको एमआरपीसहित आउन थालेको छ। भटमासको तेल प्रतिलिटर  २ सय २० देखि २ सय २५ रुपैयाँमा बिक्री गरिरहेको उनले बताए।

के गर्दैछ वाणिज्य विभाग ? 

अनधिकृतरूपमा मूल्य बढाएर लिन पाइँदैन। यसको नियमन वाणिज्य विभागले गर्छ। विभागका अधिकारीहरूले तेलको मूल्यमा देखिएको अन्तरबारे गम्भीर रहेको बताएका छन्।

यस्तै रहँदा अघिल्लोपटक विभागले दुई तेल उद्योगलाई ३/३ लाख रूपैयाँ जरिवानाको कारबाही गरेर उन्मुक्ति दिएको थियो। तेल उत्पादकहरुले भाउ बढ्नुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि भएको जिकिर गर्दै आएका छन्, जो नितान्त नौलो कारण भने होइन। यसअघि पनि उद्योगीले बताउने कारण फरक थिएन।  

विभागले यस यसबारे स्पष्ट हुन पत्राचार गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले बताए। 'विस्तृतरूपमा अध्ययन गर्न लागेका छौं। दैनिक उपभोग्ग वस्तुमा मूल्यमा हुने उतारचढावमा एकतर्फी कुरालाई आधार मानेर धारणा बनाउन मिल्दैन,' उनले भने।

लागत मूल्य नै बढी परेकाले बजारमा भाउ बढाउनु परेको जिकिर गरिरहेका उद्योगलाई प्रमाण पुग्ने कागजात विभागमा ल्याउन भनिएको उनले बताए।