मोही हक कायम भएको जग्गा मोहीकै नाममा लिने अन्तिम अवसर, २०७८ असारसम्म निवेदन दिनुपर्ने

बिजमाण्डू
२०७७ चैत्र ९ गते १६:३९ | Mar 22, 2021

Tata
GBIME

काठमाडौं। सरकारले मोही हक कायम रहेका जग्गा सम्बन्धित मोहीकै नाममा गर्न आगामी असार मसान्तसम्म समय दिएको छ।

यस अघि २०७३ भदौमा पहिलोपटक मोहीको जग्गा मोहीकै नाममा गर्न सार्वजनिक सूचना निकालिएको थियो। उक्त अवधिमा समेत सबै मोहीले जग्गा आफ्नो नाममा लिन नपाएपछि २०७४, २०७५ र २०७६ मा पनि सूचना निकालिएको थियो।

अझै पनि सबै मोहीले जग्गा आफ्नो नाममा लिन नसकेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै एक पटकका लागि समय दिएको हो।

उक्त समयमा छुटेका मोहीले २०७८ असार मसान्तभित्र निवदेन दिएर आफूले भोग गरिरहेको जग्गाको स्वामित्व लिन सक्ने छन्।

यतिबेला पनि स्वामित्व लिन मोही वा जग्गाधनीले निवेदन नदिएमा भने सरकारले भूमि सम्बन्धि ऐनमा भएको व्यवस्थाअनुसार मोही र जग्गाधनी दुवैको नाममा संयुक्त वा छुट्टाछुट्टै पुर्जा जारी गर्न सक्ने छ।

कतिपय मोहीले सूचना नपाएर निवेदन दिन सकेका छैनन्। तर जग्गाधनीले भने सूचना पाएपनि निवेदन नदिए सबै जग्गा आफ्नो हुने भ्रम पाल्दा धेरै जग्गाधनी सम्पर्कमा नआएको भूमि व्यवस्था मन्त्रालयको गुनासो छ। 

जग्गा छुट्ट्याउन मोही वा जग्गाधनी मध्ये कुनै एकले निवेदन दिए पुग्छ। निवेदन दिन आफ्नो जग्गा किनबेच हुने सम्बन्धित मालपोत वा भूमिसुधार कार्यालयमा सम्पर्क गर्नुपर्छ।

देशभर एक लाख २० हजार भन्दा धेरै मोही रहेकोमा अहिले सम्म ५० प्रतिशत मोहीको मात्रै समस्या समाधान भएको छ।