भारतले पेट्रोलियमको मूल्य नियन्त्रणका लागि बढायो सस्तो अमेरिकी क्रुडको आयात, नेपालमा सस्तिएला




काठमाडौं। कोभिड कहरबाट विश्व अर्थतन्त्र विस्तारै बाहिर आउँदै गएपछि बढेको आर्थिक गतिविधिले पेट्रोलियम पदार्थको माग फेरि पुरानो लयमा फर्किने क्रममा छ।

माग सुध्रँदै गएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि लगातार उकालो लाग्दै ६० देखि ७० डलर प्रतिब्यारेल हाराहारीसम्म पुगेको छ। कच्चा तेलको मूल्यको पारो उकालो लाग्दा त्यसको असर नेपाली उपभोक्ताको खल्तीसम्म परेको छ।

TATA
Safety
TVS

तर पेट्रोलियमको अन्तर्राष्ट्रिय बजार मूल्यमा प्रभाव वा नियन्त्रणको हैसियत नेपालले कहिँ कतै अलिकति पनि राख्दैन। विश्व बजारमा पेट्रोलियम जुन मूल्यममा कारोबार हुन्छ, त्यसलाई स्विकार्नुको विकल्प नेपालसँग छैन। 

पेट्रोलियम खपत गर्नेमा विश्वको तेस्रो ठूलो मुलुक भारतले भने आयात परिमाणकै कारण तेल उत्पादक मुलुकहरुसँग मूल्य नेगोसिएसन गर्ने सामर्थ्य राख्छ, मूल्य प्रभावित नै गर्न नसके पनि। यसैले कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्यवृद्धिले बजारमा तयारी पेट्रोलियम पदार्थहरुको मूल्य पनि आकासिएपछि भारतले यसलाई रोक्न कच्‍चा तेल आयातको वैकल्पिक स्रोत खोज्न थालेको छ।

भारतले ठूलो परिमाणमा कच्चा तेल आयात गरेर विभिन्न पेट्रोलियम पदार्थहरु उत्पादन गर्छ। यसैले कच्‍चा तेलको अन्तर्राष्ट्रिय मूल्यवृद्धिकै कारण भारतमा पेट्रोल तथा डिजेलको बजार मूल्य वृद्धिको क्रम नरोकिँदा यसले सतामा रहेको दल भारतीय जनता पार्टीलाई नजिकिँदै गएको चुनावका लागि अफ्ठ्यारो पर्न सक्ने आकलनमा नरेन्द्र मोदी सरकारले पछिल्लो करिब तीन सातादेखि पेट्रोलियमको मूल्य स्थिर राखेको छ। 

तर सरकारले बलजफ्ती गरेको मूल्य स्थिरता लामो समय थेग्न नसक्ने भएकाले पेट्रोलियमको बढ्दो उपभोक्ता मूल्यमाथि नियन्त्रणका लागि भारतले कच्चा तेल आयातको विकल्प खोज्दै अमेरिकाबाट आयात गर्न थालेको छ। ओपेक राष्ट्र साउदी अरेबिया र इराकबाट गर्दै आएको 'ब्रेन्ट' बेन्चमार्कको कच्चा तेलको परिणाम घटाएर अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई)  कच्चा तेल आयाततर्फ भारतले झुकाव बढाएको हो।

भारतको अर्थतन्त्रको विशाल आकार रफ्तारमा बढिरहेकाले आर्थिक वृद्धिको लयलाई सघाउन भारतलाई इन्धनको आवश्यकता (माग तथा खपत) पनि बढ्दै गएको छ। यसैले कुनै बेला कच्चा तेलमा अन्य मुलुकसँगको निर्भरता ७० प्रतिशतभन्दा तल रहेको बताउने भारतको कुल क्रुड आयल निर्भरता (आयात) खपतको ८३ प्रतिशतमाथि पुगिसकेको छ।

यसमध्ये अधिकांश कच्चा तेल भारतले साउदी अरेबियाबाट गर्दै आएको छ, त्यसपछि इराकबाट। तर हालै भारतले साउदीबाट गर्दै आएको आयातको करीब २७ प्रतिशत घटाएर सो बराबरको कच्चा तेल अमेरिकाबाट खरिद गरेको छ। भारतको सरकारी तेल कम्पनी (रिफाइनरी) ले साउदीबाट मासिक एक करोड ४८ लाख ब्यारेल आयात गर्दै आएकोमा अहिले यसलाई घटाएर त्यसमध्ये ४० लाख ब्यारेल अमेरिकी तेल (डब्लुटीआई क्रुड) को आयात गर्न लागेको हो। 

विश्वका प्रमुख १३ तेल उत्पादक मुलुकहरुको संगठन ओपेकले आयात मुलुकको माग परिमाण बमोजिम उत्पादन नबढाएर कच्चा तेलको मूल्य अझ उचाल्न खोजेको भन्दै भारतले ओपेकको विकल्प आफूसँग रहेको सन्देश दिनका लागि समेत अमेरिकी कच्चा तेल आयात बढाउन सुरु गरेको समेत एक किसिमको विश्लेषण छ।

अहिले भारतले अमेरिकाबाट दैनिक ५.४५  लाख ब्यारेल तेल आयात गर्छ। यसअघि अमेरिकाबाट गर्दै आएको तेल आयात परिमाणमा यतिबेला भारतले करिब ४८ प्रतिशतले वृद्धि गरेको बताइएको छ। आफ्नो दैनिक कच्चा तेल प्रशोधन क्षमता भने ५० लाख ब्यारेल रहेको भारतको जिकिर छ।

ओपेक आबद्ध देशहरुले नर्थ सीबाट उत्खनन गर्ने कच्चा तेलको बेन्चमार्क ब्रेन्ट क्रुडभन्दा अमेरिकाको टेक्सास, लुसियाना र नर्थ डाकोटास्थित तेल कुवाहरुबाट उत्खनन् हुने डब्लूटीआई बेन्चमार्कको कच्चा तेल सस्तो पर्छ। अहिले यो ब्रेन्ट क्रुडको तुलनामा ब्यारेलमा ३.५ डलरदेखि ५ डलरले सस्तो छ। एक ब्यारेल बराबर १५९ लिटर (४२ युएस ग्यालन) हुन्छ।

अर्कोतर्फ अमेरिका साउदी अरबलाई समेत उछिनेर विश्वको दोस्रो प्रमुख तेल निर्यात मुलुकमा उक्लिएको छ। व्यापारिक रूपमा प्रतिस्पर्धी हुन नसक्ने विश्लेषण हुँदै आएको अमेरिकासँग ठूलो परिमाणमा रहेको ठोस कच्चा तेल उत्खनन तथा प्रशोधनलाई यसले प्रविधि विकासबाट सम्भाव्य र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाएको छ। यसैले भारतले अमेरिकासँग विशेष (मूल्य) नेगोसिएसनमा कच्चा तेल आयात गर्न थालेको समेत अनुमान छ।

यसले तयारी पेट्रोलियमको बजार मूल्यमा नियन्त्रणका लागि सघाउने विश्वासमा भारतले अमेरिकी कच्चा तेल आयात सुरु गरेको बताइन्छ। यद्यपि, साउदीबाट भन्दा अमेरिकादेखि कच्चा तेल ल्याउँदाको ढुवानी लागत भने भारतलाई स्वाभाविकरूपमा बढी पर्नेछ।

भारतको लागत घट्दा नेपालमा सस्तिएला पेट्रोलियम ?
भारतले सस्तोमा अमेरिकी कच्चा तेल खरिद गरेर ल्याउँदा ढुवानी भाडाका कारण ब्रेन्ड क्रुडभन्दा प्रतिस्पर्धी नहुन पनि सक्छ। तर त्यसका बाबजुद भारतले अमेरिकाबाट साउदीको भन्दा राम्रो गुणस्तरको कच्चा तेल प्राप्त गर्‍यो भने त्यसले रिफाइनरी लागत कम पर्नसक्ने नेपाल आयल निगमका उपमहानिर्देशक सुशील भट्टराई बताउँछन्। 

रिफाइनरी लागत कम पर्‍यो भने भारतमा तयारी पेट्रोलियम पदार्थ अहिलेको भन्दा सस्तो हुन सक्छ। तर भारतले नै उत्पादन गरेको तयारी पेट्रोलियम खरिद गर्ने भए पनि यसको लाभ नेपाललाई मिल्ने छैन। अर्थात्, भारतले कुनै पनि मुलुकबाट जुनसुकै मूल्यमा कच्चा तेल ल्याएर जतिसुकै लागतमा प्रशोधन गरेपनि त्यसको असर वा प्रभाव नेपालले भारतबाट खरिद गर्ने तयारी पेट्रोलियमको मूल्यमा पर्दैन।

किनकि, नेपालले खरिद गर्ने पेट्रोलियमको मूल्य भारतको उत्पादन लागतका आधारमा नभएर अरब मुलुकमा तयारी पेट्रोलियम पदार्थको दैनिक अन्तर्राष्ट्रिय सन्दर्भ मूल्यका आधारमा हुन्छ। यसकारण पनि भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो भएको हो।

नेपाल आयल निगमले २०७१ असोजयता प्रत्येक अंग्रेजी महिनाको १ र १५ तारिखमा तयारी पेट्रोलियमको अन्तर्राष्ट्रिय मूल्यबमोजिम स्थानीय बजारमा मूल्य समायोजन गर्न थालेको छ । त्यो अन्तर्राष्ट्रिय मूल्य खाडी मुलुक वा सिंगापुरकोलाई मानेर खरिद-बिक्री मूल्य तय गर्ने सहमति नेपालले भारतसँग गरेको छ। यसअनुरुप खासगरी खाडी मुलुकमा रहेको तयारी पेट्रोलियमको १५ दिनको दैनिक अन्तर्राष्ट्रिय मूल्यलाई लिएर त्यसको औसत मूल्य निकालेर त्यसमा गल्फबाट भारतीय बन्दरगाहसम्म ल्याउने भाडा जोडी भारतले नेपाललाई बिक्री गर्ने तेलको मूल्य निर्धारण हुन्छ। 

नेपालमा कति पुग्ला पेट्रोल/डिजेलको मूल्य ?
जनजीवनलाई सोझै छुने तेलको मूल्यको पारो लगातार उकालो लागेपछि नेपाल आयल निगम यतिबेला आम उपभोक्ताको आँखाको तारोजस्तै बन्न थालेको छ। कच्चा पेट्रोलियमको अन्तरराष्ट्रिय मूल्यमा आएको वृद्धिसँगै नेपालमा पनि यो महँगिएको हो। तर भारतीय आयल निगमबाट खरिद गरेको मूल्यभन्दा बजारमा झन्डै दोब्बर महँगोमा बेचेको उपभोक्ताको आक्रोश निगमप्रति छ।

निगमले गत १६ मार्चमा समायोजन गरेको मूल्यअनुसार अहिले पेट्रोल लिटरको ११८ रुपैयाँ र डिजेल/मट्टितेल १०१ रुपैयाँ पुगेको छ। जबकि पेट्रोल र डिजेलको खरिदमा निगमले आइओसीलाई तिर्ने मूल्य अहिले क्रमशः ६०.७२ रुपैयाँ र ६०.१० रुपैयाँ मात्रै हो। 

उपभोक्ताले सरकारलाई विभिन्न करमात्र पेट्रोलमा ५५.४८ रुपैयाँ र डिजेलमा ३८.१५ रुपैयाँ तिर्नुपर्छ। निगमको खर्च, ढुवानी भाडा र डिलर तथा बिक्रेतालाई दिने कमिसनका लागि पनि निगमले पेट्रोलमा ११.२५ रुपैयाँ र डिजेलमा ८.५४ रुपैयाँ उपभोक्ताबाटै उठाउँछ।

यसअनुसार निगमको लागत अहिले पेट्रोलमा प्रतिलिटर १२७.४५ रुपैयाँ र डिजेलमा १०६.७९ रुपैयाँ पर्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ। 'हामी उपभोक्ता र सरकारको चेपुवामा छौं खासमा। सरकारलाई कर उठाएर दिनैपर्छ, त्यो नलिने निर्णय हाम्रो हातमा छैन। अर्कोतर्फ उपभोक्ताबाट चर्को मूल्य भयो भनेर विरोध हुन्छ,' उनी भन्छन्, 'तर खासमा अहिले पनि निगमलाई  पेट्रोलमा प्रतिलिटर ९.३५ रुपैयाँ, डिजेलमा ५.८० रुपैयाँ र एलपीजी ग्यासमा एउटा सिलिन्डरमै २९३ रुपैयाँ घाटा छ।'

विश्व बजारमा कच्चा पेट्रोलियमको मूल्य लगातार उकालो लागिरहेकाले र तत्काल घट्ने संकेत नदेखिएकाले यो क्रम जारी रहे नेपालमा पनि पेट्रोल तथा डिजेल/मट्टितेल अझै महँगिदै गएर सात वर्षअघिको उच्च मूल्यलाई भेट्न सक्ने सम्भावना पनि उपाध्यायले औंल्याए। 

यसअघि २०७० फागुन ३० मा मूल्य बढेर प्रतिलिटर पेट्रोल १४० र मट्टितेल तथा डिजेल १०९ रुपैयाँ पुगेको थियो। त्‍यतिबेला कच्चा तेल (ब्रेन्ट क्रुड) को मूल्यले १०८.५७ प्रतिब्यारेलको उचाइ छोएको थियो। तर त्यसबेला निगमले अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम नेपाली बजारमा पेट्रोलियमको मूल्य समायोजनको व्यवस्था लागू गरेको थिएन। 

निगमले २०७१ असोजबाट अन्तर्राष्ट्रिय मूल्यबमोजिम नेपाली बजारमा पेट्रोलियमको मूल्य समायोजन गर्न थालेको हो। त्यसयताको साढे ६ वर्षमा निगमले ७९ पटक मूल्य समायोजन गरिसकेको यसको तथ्यांकबाट देखिन्छ। यसबीच एक वर्षअघि कोभिडले विश्व अर्थतन्त्रको गति रोकिएजस्तै हुँदा पेट्रोलियमको माग पनि शून्यप्रायः थियो। त्यसले मूल्यह्रासमा परेको चापका कारण डब्ल्यूटिआई क्रुडको मूल्य ऋणात्मक हुँदा नेपालमा पेट्रोलियम पछिल्लो सात वर्षयताकै सस्तो (पेट्रोल रु. ९६ र डिजेल/मट्टितेल रु. ८५ प्रतिलिटर) विन्दुमा झरेको थियो।

लगभग एक वर्षअघि २० अप्रिल २०२० (८ वैशाख २०७७) मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य इतिहासमै पहिलोपटक ऋणात्मक भएको। उक्त दिन विश्व बजारका प्रमुख तीन बेन्चमार्कमध्येको डब्लुटीआई क्रुडको मूल्य एकैदिन ब्यारेलमा करिब ५३ डलरले घटेर -३७ डलरमा ओर्लिएको थियो। त्यतिबेला नेपाली बजारमा पनि पेट्रोल र डिजेल/मट्टितेलको मूल्य पनि लिटरमा एकैचोटी १०/१० रुपैयाँले घटेर क्रमशः ९६ रुपैयाँ र ८५ रुपैयाँमा झरेको थियो। 

तर त्यसपछि भने यो आर्थिक वर्षकै आठ महिनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सात पटक बढेर लिटरको ११८ रुपैयाँ पुगिसकेको छ। भारतीय बजारमा योभन्दा करिब ३३ रुपैयाँ (प्रतिलिटर ९३.७० भारु) देखि ४२ रुपैयाँसम्म महँगो (प्रतिलिटर १०० भारु) रहेकाले मूल्य बढ्ने क्रम भारतीय बजारकै हाराहारीमा नपुगेसम्म नरोकिए आश्चर्य मान्नु नपर्ने आशय पनि नेपाल आयल निगमको छ। 

त्यो विन्दुमा पुग्दा पेट्रोलियमको मूल्यले सात वर्षअघिको अहिलेसम्मकै उच्च मोललाई उछिन्ने छ। यद्यपि, नेपालमा पेट्रोलियम पदार्थको मूल्यको घट-बढको आधार भारतको उत्पादन लागत नभएर खाडी मुलुकमा तयारी पेट्रोलियमको अन्तर्राष्ट्रिय मूल्य रहँदै आएकाले नेपाली बजारमा पेट्रोलियमको मूल्य प्रवृत्तिलाई भारतीय बजारको मूल्यसँग तुलना गर्न मिल्दैन।


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Pvt. Ltd. All Rights Reserved.
Ncell