बुटवल। नेपाल बैंक र सन्धिखर्क नगरपालिकाबीच सहुलियत दरमा व्यवसायिक कृषि कर्जा दिन सम्झौंता भएको छ।
विदेशबाट फर्किएका र कोरोनाका कारण रोजगारी गुमाएकालाई प्राथमिकतामा राखेरसुलभ कृषि कर्जा कार्यक्रम दिन बैंकसँग सम्झौंता गरेको मेयर प्रमुख कमलप्रसाद भुसालले बताए। ऋण लिँदा सेवा शुल्क नलाग्ने र ब्याजदर पनि तीन प्रतिशतको हाराहारीमा मात्रै रहने बैंकका लुम्विनी प्रदेश प्रमुख लेखनाथ भुसालले बताए।
सुलभ कृषि कर्जा लिने व्यवसायीलाई बैंकले अन्य सेवाहरु इन्टरनेट बैंकिंग, एटिएम सेवा , इविविएस लगायतका सेवाहरु समेत निशुल्क प्रदान गरिने उनले बताए।सन्धिखर्क नगरपालिकाको ७५ लाख रुपैयाँ र नेपाल बैंकको ७५ लाख गरी एक करोड ५० लाख रुपैयाँ कृषि पेशा गर्ने युवाहरुलाई एक लाख देखि ३ लाख सम्म सुलभ कर्जा प्रदान गरिने छ।
कोभिडको कारणबाट विदेशबाट फर्किएका, हातमा सीप, श्रम र क्षमतावान भएका मानिसलाई कर्जामा पहुँच पुर्याउन बैंकसँग सम्झौंता गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए। सन्धिखर्क नगरपालिकाका उपमेयर ठाकुरकुमार विकले स्रोत साधन नभएका युवाहरुलाई कृषिमा प्रोत्साहित गर्न सुलभ दरमा ऋण दिन लागिएको बताए।