निता अम्बानीको महँगो सोख: बोक्छिन् ४ करोडमाथिको ब्याग, बुहारीलाई उपहार ६५ करोडको हार

बिजमाण्डू
२०७७ असोज २८ गते १७:३६ | Oct 14, 2020
निता अम्बानीको महँगो सोख: बोक्छिन् ४ करोडमाथिको ब्याग, बुहारीलाई उपहार ६५ करोडको हार

Tata
GBIME
Nepal Life

पछिल्ला केही महिनामा भारतकै ठूलो व्यापारिक घराना रिलायन्स इन्डष्ट्रिजको मूल्य थप करिब १२४ अर्ब अमेरिकी डलरले बढेपछि मुकेश अम्बानी एशियाको मात्र धनीमा सीमित रहेनन्, विश्वकै १० धनाढ्यको सूचीमा पर्दै उनी अहिले त्यसबाट माथि उक्लने क्रम जारी छ ।

कोभिड-१९ को असहज अवस्थाबीच पनि छोटो समयमै १३ अन्तरराष्ट्रिय कम्पनीहरुबाट कुल २० अर्ब डलर लगानी भित्र्याएर विश्वका व्यावसायिक समूदायलाई चकित बनाएका मुकेश संसारकै मूल्यवान निजी घर 'एन्टेलिया' मा बस्छन्, जसको निर्माणमा नै अम्बानीले एक अर्ब डलर खर्चिएको बताइन्छ । 

महँगा र दूर्लभ कारहरुको ठूलो कलेक्शन उनको सोखमध्ये पर्छ । विश्वचर्चित सेलिब्रेटीहरुलाई आमन्त्रण गरेर विभिन्न पारिवारिक अवसरमा ठूला पार्टी तथा इभेन्ट आयोजना गर्न रुचाउँछन् उनी । यीबाहेक आफ्ना व्यावसायहरुको साम्राज्य रफ्तारमा विस्तार गर्न सफल देखिएका मुकेशका अन्य विलासी सोख खासै छैनन् । 

तर यी भारतीय अर्बपतिकी श्रीमती भने संसारकै खर्चालु सोख भएकी महिलामध्येमा पर्छिन् । निता अम्बानी ६ करोड अमेरिकी डलर (७ अर्ब रुपैयाँभन्दा बढी) मूल्यको प्राइभेट जेट एयरबस ए३१९ मा यात्रा गर्छिन्, जुन उनलाई श्रीमान् मुकेशले गिफ्ट गरेका हुन् ।

'हर्मेज हिमालया बर्किन' को साढे ३ लाख डलर (४ करोड १३ लाख रुपैयाँबराबर) पर्ने ह्याण्ड ब्याग बोक्छिन् उनी । करिष्मा र करिना कपुर दिदीबहिनीसँग लण्डनमा सपिङ गर्दा उनले पनि उनले उक्त ब्याज बोकेकी थिइन् । संसारकै महँगो मानिने यो ब्रान्डका ह्याण्ड ब्यागको न्यूनतम मूल्य नै ४० हजार डलरबाट शुरु हुन्छ ।

करोडौं डलर मूल्यको वार्ड्रोब कलेक्शन छ नितासँग । उनको वारड्रोबमा त्यस्ता कयौं ड्रेस यस्ता छन् जसको मूल्य लाखौं डलर पर्ने बताइएको छ । 

मूल्यवान टेबलवेयर तथा डाइनिङ सेट कलेक्शन पनि उनको सोख हो । एकपटक उनले १० लाख डलर (झन्डै सवा १० करोड रुपैयाँबराबर) बराबरको २५ हजार थान टेबलवेयर मात्र किनेको कुराले ठूलो चर्चा पाएको थियो । 

इकोनोमिक टाइम्सका अनुसार, जापानी ब्रान्ड 'नोरिटेक' का ती टेबलवेयर त्यसको श्रीलंकास्थित कारखानाबाटै कस्टुमाइज गरेर बनाउन लगाएर मगाएकी थिइन् । संसारका महँगा टेबलवेयर ब्रान्डमध्ये पर्ने 'नोरिटेक' का ती टेबलवेयरको प्रत्येक डिनर सेटमा २४ क्यारेट सुन प्रयोग गरिएको थियो । 

फेसन र व्युटी प्रडक्टमा पनि उत्तिकै रुचि राख्ने निता यसमा ठूलो रकम खर्च गर्न संकोच मान्दिनन् । करोडौंका गहना मात्र हैन, लिपिस्टिक समेत आफ्ना बहुमूल्य कपडामा मिल्दो हुने गरी कस्टुमाइजेशनका लागि उत्पादक कम्पनीहरुलाई एउटै लिपिस्टिकका लागि उनले हजारौं डलर खर्च गर्ने गरेको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ ।

श्रीमान् मुकेशलाई जन्मदिनको उपहारमा ७ लाख ३० हजार डलर (साढे ७ करोड रुपैयाँमाथि) को विलासी कार 'माइबाक ६२' दिएकी निताले आफ्नी बुहारीलाई संसारकै महँगो नेकलेस (हार) दिएको विषय पनि उत्तिकै चर्चामा रह्यो । 

बुहारी श्लोका मेहतालाई बिहेको उपहारस्वरुप निताले ४०७ क्यारेट हिराको हार दिएकी थिइन् । 'संसारमै अतुलनीय र गिनिज वर्ल्ड रेकर्ड सर्टिफाइड'  भनिएको उक्त हारको मूल्य ५.५ करोड डलर (६५ करोड रुपैयाँ) रहेको बताइएको छ ।

विलासी शोख पूरा गर्ने निताको आम्दानी स्रोत 
त्यसो त विश्वकै धनाढ्यमध्येको अम्बानी परिवारकी प्रमुख महिला नितालाई व्यक्तिगत आयबिनै पनि संसारका कुनै पनि शोख पूरा गर्न पैसाको कमि हुँदैन । श्रीमान् मुकेशको करिब ८५ अर्ब डलरको सम्पत्तिले उनलाई के नपुग्दो होला र ! 

यद्यपि, निताको व्यक्तिगत आम्दानीको स्रोत पनि कमजोर छैन । प्रायः परोपकारी काममा बढी सक्रिय देखिँदै आएकी निता एक चलाख विजनेश उमन समेत मानिन्छिन् ।

उनीसँग सबैभन्दा ठूलो धनराशीको क्लब क्रिकेट प्रतियोगिता आइपीएलको सर्वाधिक मूल्यवान टिम मुम्बई इन्डियन्सको सह-स्वामित्व छ । दि इकोनोमिक टाइम्सका अनुसार गत वर्ष नै यस टिमको नेट वर्थ ११ करोड डलर (करीब १३ अर्ब रुपैयाँ बराबरको) थियो ।

यस्तै, सन् २०१४ देखि नै उनी रियालयन्स इन्डष्ट्रिजमा नन्-एक्जुकेटिभ डाइरेक्टरका रुपमा कार्यरत छिन्, जसबापत उनले मासिक साढे ९ हजार डलर 'सिटिङ फि' मात्र पाउँछिन् भने यसबाहेक कमिशनवापत पनि एक लाख ५७ हजार डलर कम्पनीले दिन्छ ।

मुम्बईकै उत्कृष्ट विद्यालयमध्ये दरिएको धिरुभाइ अम्बानी इन्टरनेशनल स्कुलमा पनि निताको स्वामित्व छ । उनी सन् २००३ देखि संचालित यस स्कुलको अध्यक्ष हुन् । भर्ना शुल्क नै प्रतिविद्यार्थी पाँच लाख रुपैयाँको हाराहारीमा पर्ने यस विद्यालयमा वार्षिक एक हजार विद्यार्थी भर्ना हुने साउथ चाइना मर्निङ पोष्टले लेखेको छ । 

सन् २०१० मा स्थापित रिलायन्स फाउन्डेशन पनि निताले नै हेर्छिन् । रिलायन्स इन्डष्ट्रिजअन्तर्गतका कम्पनीहरुको सीएसआर कार्यक्रमहरु संचालन गर्ने रिलायन्स फाउन्डेशन पनि नाफामुखी संस्था नै हो । यसले गत अप्रिलमा प्रधानमन्त्री नरेन्द्र मोदीको राहत कोष 'पीएम केयर्स फण्ड' मा ६.८ करोड अमेरिकी डलर सहयोग दिएको थियो ।