सुन जब तोलाको ८२० रूपैयाँ थियो, २५ वर्षयता कसरी उक्लेर नाघ्यो लाख, अझै कति बढ्ला ? 

सरला सुवेदी/बिजमाण्डू
२०७७ साउन २४ गते ०९:५८ | Aug 8, 2020
सुन जब तोलाको ८२० रूपैयाँ थियो, २५ वर्षयता कसरी उक्लेर नाघ्यो लाख, अझै कति बढ्ला ? 

Tata
GBIME
Nepal Life

काठमाडौं। सुन तोलाको २८ रूपैयाँ २५ र चाँदी ७५ पैसा। यो बिसं १९८३ अर्थात् आजभन्दा ९४ वर्षअघिको मूल्य हो। धेरैले सम्झने मूल्य २०३१ सालको हुन सक्छ। त्यो वर्ष सुन ८ सय २० रुपैयाँ प्रतितोला थियो।

२०५२ सालमा आइपुग्दा सुनको तोलाको १० हजार ५ सय ५० रूपैयाँ भएको थियो। नेपाली बजारमा शुक्रबार सुन प्रतितोला १ लाख ३ हजार ५ सय रूपैयाँमा आइपुग्दा जहाँ पुरानो जमानामा खरिद गरेकाहरू मख्ख होलान्, त्यहीँ किन्नैपर्ने बाध्यतामा रहेकाहरू परिमाण घटाएर विधिमात्रै पूरा गर्ने योजनामा छन्। सुनको यतिबेला आइपुगेको भाउ सर्वसाधारणमात्रै होइन व्यवसायीहरूको पनि अनुमानविपरीत निकै उच्च हो। 

२५ वर्षको अन्तरालमा मात्रै सुनको मूल्य तोलामा ९२ हजार ९ सय ५० रूपैयाँ बढिसकेको छ। धेरै पर नपुग्ने हो भने गत वर्षका तुलनामा मात्रै पनि शुक्रबारसम्म २० हजार ८ सय रूपैयाँ बढेको छ। पुरानो भाउमा किन्नेहरू यतिबेला जहाँ फाइदा कति भयो भन्ने हिसाब निकालिरहेका हुन सक्छन्, त्यहीँ किन्नैपर्ने भएकाहरू भाउ घट्ला की भनेर बाटो हेर्दैछन्।

दुई महिनामै तोलाको १४ हजार ९ सय रुपैयाँले बढेको छ। लकडाउन अघि र पछिका पाँच महिनाको तुलना गर्दा पनि धेरै फरक परिसकेको छ। पछिल्लो एक सातामै ४ हजार रूपैयाँ बढेको छ।  

सन् २०१९ को मध्यतिर अमेरिका र इरानबीच तनाव रहँदाको अवस्थादेखि नै सुनको मूल्य प्रभावित हुँदै आएको थियो। कोरोना भाइरसको महाव्याधि विश्वव्यापी हुँदै जाँदा सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ। यसबीच पेट्रोलियम पदार्थ र डलरको भाउमा आएको उतारचढावको असरलाई हेर्दै लगानीकर्ताहरू आफ्नो लगानीको सुरक्षाका लागि सुनतर्फ आकर्षित थिए। 

कोरोनाको महाव्याधिले विश्व बजारमा सेयर मूल्य प्रभावित हुँदा लगानीकर्ता सुनचाँदीतर्फ आकर्षित हुनु बजारको पुरानै ट्रेण्ड हो। यसपटक सन् २०२० को सुरुवातदेखि नै अन्तर्राष्ट्रिय बजारमा यस्तो देखिएको विश्लेषकहरू बताउँछन्। सुन नगदभन्दा बलियो सम्पत्ति मानिन्छ। बैंकमा धितो राखेर सजिलै ऋण पाइने भएकाले यो गहनाभन्दा पनि सुरक्षित सम्पत्तिमा पर्छ। सुन भए गाह्रो साह्रोमा गर्जो टार्न कतै ऋण सापटी मागिरहनु पर्दैन। बेच्दा नगद आउने, धितो राख्न चाहे बैंकले सजिलै लिने। त्यसैले सुन जोड्नेहरू बुद्धिमानमा पर्छन्। 

सुनको मूल्य एक वर्षमा  प्रतिऔंस ५७० डलरभन्दा माथि उक्लिएको छ। २०१९ को अगस्ट ६ मा सुन प्रतिऔंस १४७२ .४० डलरमा कारोबार भएको सुन एक वर्षमा २०६२.७० पुगिसकेको छ। चाँदीमा पनि झण्डै दोब्बरको बढोत्तरी भइसकेको छ। चाँदी प्रतिऔंस १०.६४ डलरले बढेको छ। गत वर्ष यही समय चाँदी प्रतिऔंस १६.४१  डलर थियो, शुक्रबारको कारोबार मूल्य २८.७४ डलर पुगिसकेको छ।

सुनको भाउ उकालो लागिरहँदा व्यवसायीले बैंकबाट उटाउने परिमाण घटाएका छन्। बिक्री नै प्रभावित हुँदा आयात पनि घटेको छ। सुनचाँदीको बजारमा नयाँ किनेर गहना बनाउने होइन पुराना बेच्नेहरू उत्साहित छन्। अहिले चलेको भाउका तुलनामा आधाभन्दा कम हुँदा किनेकाहरू सुन पसलमा बेच्न पुगेका देखिन्छन्। तर, व्यवसायीले रसायनको शुल्क भन्दै ५ देखि १० प्रतिशतसम्म घटाएर किन्ने गरेका छन्। बिल नै नलिइ गहना बेच्न पुग्नेबाट चलेको भाउका तुलनामा २० प्रतिशतसम्म कट्टी गरिरहेको गुनासो बिक्रेताहरू गरिरहेका छन्। 

बढ्दो भाउले बजार बिग्रियो
सुनको मूल्य लगातार बढेसँगै व्यापार ठप्प बन्दै आएको रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले बताए। 'इन्टरनेशनल मार्केटमै लगातार बढेको छ। हामीकहाँ सुन बाहिरबाटै आउँछ। भाउ बढ्दा सोझो असर पर्छ,' उनले भने, 'यतिबेला सुन किनेर गहना बनाउनेहरू बजारमा आउँदैनन्। बरू बढेको भाउमा बेच्दा फाइदा हुन्छ भन्नेहरू पुराना गहना बेच्न निस्कन्छन्।' पुराना गहना खरिद गरेर मात्रै व्यापार नचल्ने उनको भनाइ छ।

काठमाडौं उपत्यकामा मात्रै करिब २ सय जना सुनचाँदी व्यवसायी छन्। लामो लकडाउनले  कारोबार ठप्प भएको थियो। लकडाउन हटेर बजार खुल्दा क्रमिक व्यापारले गति लिने ठानेकाहरू यतिबेला दिनदिनै बढेको सुनचाँदीको भाउका कारण स्तब्ध छन्। कतिपयले व्यवसाय नै छाड्ने मनस्थिति बनाएका छन्। 

लकडाउनसँगै गत चैतमा धेरै जना व्यवसायीका कालिगढ घर गएका थिए। लकडाउन खुल्दा पनि अझै कतिपयका कालिगढ काममा फार्किएका छैनन्। भाउ बढेर नयाँ अर्डर नआउँदा व्यवसायी पनि धेरै कालिगढलाई काममा बोलाउने मनस्थितिमा देखिँदैनन्। काठमाडौं उपत्यकामा करिब दुई सय सुनचाँदी पसल छन्। लकडाउन खुलेको एक महिना बित्दासम्म आधाजसोका सबै कालिगढ फर्किसकेका छैनन्। 

तोलामा लाख नाघेको सुनको भाउ अझै कति माथि जान्छ भनेर अनुमानै गर्न नसकिने अवस्था आएको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले बताए। 'लकडाउन खुले पनि सुनचाँदी व्यवसायीले खुसी हुनुपर्ने अवस्था छैन। भाउ बढेको बढ्यै, कारोबारमा सधैं मन्दी,' उनले भने, 'यसरी भाउ बढ्दै जाँदा बजारमा नयाँ सुन किन्ने नै आउँदैनन्।'

सस्तो बेलामा किनेकाहरू यतिबेला बेच्न उत्साहित हुने भएकाले व्यवसायीले उनीहरूबाट किनिरहेको उनले बताए। 'महासंघमा आगामी दिनका लागि व्यवसायीलाई पुनर्कर्जाको आवश्यक परिरहेको छ भन्ने कुरा उठ्छ,' उनले भने, 'बेच्न आउने ग्राहकलाइ त्यसै पठाउन मिल्दैन।
आम्दानीभन्दा खर्च धेरै भएपछि कसरी कारोबार अगाडि बढाउने भन्ने विषय गम्भीर भएको छ।' अस्वभाविक रूपमा बढिरहेको सुनको मूल्य कोरोना भाइरसको रोकथामपछि मात्रै घट्ने अनुमान गरिएको उनले बताए।  

२५ वर्षयता १० ग्राम सुनको मूल्य नै  ८६ हजार रुपैयाँले बढेको देखिएको छ। सुनको मूल्य २०५२ मा १० हजार ५ सय ५० र २०५६ मा ७ हजार २ सय ६० रूपैयाँ प्रतितोला हुनुलाई व्यवसायी २०५० साल पछिको सबैभन्दा कम मूल्य  मान्छन् । त्यसयता २०७२ मा  तोलाको ४७ हजार १ सय ९८ रुपैयाँसम्म पुग्यो। लगातार बढ्न थालेको मूल्य २०७७ साउनमा आइपुग्दा तोलामा एक लाख नाघेको छ।

व्यवसायीहरू अहिलेकै गतिमा सुनको भाउ उकालो लागिरहँदा १ लाख ३० हजार प्रतितोलासम्म पुग्न सक्ने अनुमान गर्छन्। तर बजारको ट्रेण्ड सधैं एकनास हुँदैन। संसारका टूला बजारहरू कोरोनाले केही समय प्रभावित भएर पुनः खुल्न थालिसकेका छन्। अन्य व्यापारिक गतिविधि पनि पुनः लयमा फिर्न थालेका छन्। त्यसैले एक थरीको अनुमान सुनचाँदी धेरै बढ्दैन बरू भाउ घट्न सक्छ भन्ने पनि छ। 

व्यवसायीले आर्थिक वर्ष २०७६/७७ मा २१ वटा वाणिज्य  बैंकहरुमार्फत २४ सय केजी सुन आयात महासंघले जनाएको छ। बजारमा माग घट्दा आयातको परिमाण पनि घटाइएको छ। व्यवसायीहरू उकालो लागेको भाउ स्थीर नहुने अनुमान गर्छन्। पुनः भाउ ओह्रालो लाग्दा बजार लयमा फर्कन सक्ने उनीहरू बताउँछन्।

चाँदीमा पनि लगातार उतारचढाव छ। महासंघका अनुसार २०६८ मा एकपटक चाँदीको भाउ प्रतितोला ११ सय ५७ सम्म पुगेको थियो। तर भाउमा तत्कालै गिरावट आयो। गत वर्ष तोलाको ६ सय १७ रूपैयाँ रहेको चाँदी यतिबेला १ हजार ४ सय ५ रूपैयाँ पुगेको छ। यो सर्वाधिक उच्च मूल्यमा पुगेको अवस्था हो। 
 

२५ वर्षमा यस्तो छ नेपाली बजारमा उतारचढाव

वर्ष

सुन (प्रतितोला)

चाँदी (प्रतितोला)

२०५२

१०५५० (रूपैयाँ)

 

२०५६

७२६०

 

२०५९

१०९६४

 

२०६०

११३८३

२२८

२०६१

१२६०८

३००

२०६२

१६३७६

३४६

२०६३

१९८२८

४११

२०६४

२५००१

४७४

२०६५

२९८०१

 

२०६६

३४४४९

५५९

२०६७

४०६९५

९८६

२०६९

६१८५०

 

२०७०

६३३००

 

२०७५

६३३००

६१७

२०७६

८२७००

५८३

२०७७

१०३५००

१४०५