साढे १५ करोड राजस्व छली गरेको अभियोगमा ६ जनाविरुद्ध मुद्दा, नक्कली भ्याट बिल प्रयोग गरेर कर छली

रासस
२०७६ पुष २१ गते १०:०८ | Jan 6, 2020

Tata
GBIME

काठमाडौं। राजस्व अनुसन्धान विभागले १५ करोड ५१ लाख रुपैयाँ बराबरको राजस्व छली गरेको आरोपमा ६ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार काठमाडौंको अग्रिम इन्टरप्राइजेजका सञ्चालक नवीन चौलागाईंसहित चारजना र सन्दीप ट्रेडिङका सञ्चालक प्रमिलाकुमारी साहसहित दुई जनाविरुद्ध राजस्व चुहावटमा मुद्दा चलाइएको हो।

आरोपी चौलागाईं समूहले झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजक प्रयोग गरेको र साहले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोप छ। उनीहरुविरुद्ध १५ करोड ५१ लाख बिगो असुल गरी बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्ष कैद सजायको माग दाबी गरिएको मैनालीले बताए।

अग्रिम इन्टरप्राइजेज अर्थात् अग्रिम निर्माण सेवाले वस्तु तथा सेवा खरिद नै नगरी नक्कली विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेत गरी १२ करोड ८७ लाख रूपैयाँ बराबरको राजस्व चुहावट गरेको अनुसन्धानमा खुलेको विभागले जनाएको छ। यस्तै सन्दीप ट्रेडिङमार्फत प्रमिलाकुमारी साहसहित दुई जनाले दुई करोड ६४ लाख रुपैयाँ बराबरको राजस्व चुहावट गरेको पाइएको छ।