गोर्खा चाइनिज इँटाको व्यवसायिक उत्पादन शुरु, लोकल इँटाको दाममा पाइने, स्ट्रेन्थ १४ एमपीए

बिजमाण्डू
२०७६ पुष १६ गते ०७:४६ | Jan 1, 2020


बिजमान्डू । ५० करोड रुपैयाँको लगानीमा स्थापना भएको वातावरणमैत्री प्रविधिको गोर्खा इको रेड ब्रिक्स प्रालिले व्यावसायिक उत्पादन सुरू गरेको छ । डेढ वर्ष अघिबाट प्लान्ट सेटअप थालेको यस उद्योगले हालै व्यावसायिक उत्पादन थालेको हो । 

Tata
GBIME
Nepal Life

यो इँटा सालाखाला लोकल एक नम्बर इँटाकै मूल्यमा उपलब्ध गराउने कम्पनीका प्रवर्द्धक इ. कृष्णभक्त दुवालले बताए । अहिले लोकल एक नम्बर इँटाको मूल्य १४ रुपैयाँको हाराहारीमा छ । ‘हामीले चाइनिज इँटा पनि १४ रुपैयाँकै दरले दिइरहेका छौं,’ उनले भने । यो भ्याटबाहेकको मूल्य हो ।

लोकल इँटाकै दाममा पाइने गोर्खा चाइनिज इँटाको मजबुती भने लोकल इँटाको भन्दा बढी (१४ मेगापास्कल) रहेको बताइएको छ । इँटा उद्योगीहरुका अनुसार, लोकल इँटाको स्ट्रेन्थ अधिकतम १० एमपीए (मेगापास्कल) रहेको पाइन्छ । 


‘केही  दिनअघि मात्र गरेको प्रयोगशाला परीक्षणबाट हाम्रो इँटाको स्ट्रेन्थ १४ एमपीए भएको नतिजा आएको छ । हामी यसलाई अझ कसरी सुधार्दै लान सकिन्छ भनेर लागेका छौं,’ दुवालको भनाइ छ । उपभोक्ताले ल्याबको रिपोर्टसमेत हेरेर गोर्खा चाइनिज इँटा किन्न सक्ने उनले बताए ।

‘लटमा निकालिने इँटा लिँदा लोकल इँटाकै दाममा दिनेछौं । एक–एकवटा छानेर ‘फेस ब्रिक’ लिन चाहनेले पनि २२ रुपैयाँ गोटामा पाउनेछ,’ दुवालले भने । सबैतिर चिल्लो भएको अलिकति पनि टुटफुट नभएको पर्फेक्ट सेप र आकार मिलेको प्लास्टरसमेत गर्नु नपर्ने इँटालाई ‘फेस ब्रिक’ भन्ने गरिन्छ । 

त्यसो त गोर्खा चाइनिज इँटा सबैतिर स्मुथ फिनिसिङ भएको र बजारमा अहिले पाइने चिनियाँ इँटाभन्दा पनि बलियो हुने दाबी दुवालको छ ।

मिलेको फिनिसिङ र आकारमा एकरुपताका कारण गोर्खा चाइनिज इँटा प्रयोगबाट संरचना निर्माण गर्दा  जोडाइ र प्लाष्टरमा सिमेन्ट मोर्टार तथा मसला ३० प्रतिशत बचत हुने दाबी कम्पनीको छ ।

लोकल इँटाबराबरकै मूल्यमा आउने रेगुलर चिनियाँ इँटा र प्रतिगोटा २२ रुपैयाँ पर्ने फेस इँटा दुवै फ्याक्ट्री मूल्य हो । यसमा उपत्यका भित्रका लागि ढुवानी खर्च प्रतिगोटा थप २ रूपैयाँको हाराहारीमा लाग्नेछ । उपत्यकाबाहिर नेपालका जुनसुकै ठाउँमा पठाउँदा पनि ढुवानी प्रतिगोटा ५ रूपैयाँभन्दा बढी नपर्ने जानकारी कम्पनीले दिएको छ । 

उद्योगको इँटा अहिले तराईका जिल्लाहरूमा पनि जान थालेको छ । बर्दिबास तथा आसपासका जिल्लाका साथै पोखराका ग्राहकले पनि कलंकीसम्मको भन्दा प्रतिगोटा १.५ रूपैयाँभन्दा बढी ढुवानी भाडा तिर्नु नपर्ने जनाइएको छ ।

तत्कालका लागि फ्याक्ट्री (बसडोल, काभ्रे) बाट नै उपभोक्ताले इँटा खरिद गर्नुपर्ने भए पनि निकट भविष्यमै कम्पनीले देशैभर डिलर नियुक्त गरी उपलब्धता सहज गराउने तयारी भइरहेको दुवालले जानकारी दिएका छन् । ‘उत्पादन थालेको धेरै भएको छैन । तर उपत्यकाबाहिरका सहरहरूबाट पनि थुप्रै माग आइरहको छ । यसले हामीलाई उत्साहित बनाएको छ । बाहिरको मागबमोजिम आपूर्तिका लागि विभिन्न सहरमा डिलर नियुक्त गर्ने प्रक्रियामा छौं,’ उनले भने । 


गोर्खा चाइनिज इँटा दुई भिन्न डिजाइनमा उत्पादन गर्ने योजना कम्पनीको छ । जसमध्ये एउटा हाल बजारमा पाइने चिनियाँ इँटाजस्तै हुनेछ भने अर्कोको मध्यभागमा तीनवटा गोलो प्वाल हुनेछ । दुवै प्रकारका इँटा आकारमा उस्तै हुनेछन् । प्वालयुक्त इँटा जोडाइ गर्दा त्यसमा मसला भरिने हुँदा यसबाट पर्खालको तहबीच राम्रो पकड आएर निर्माण बलियो हुनेछ । तर प्वालयुक्त इँटा उत्पादन थाल्न भने केही समय लाग्ने दुवालले बताए । 

हाललाई वार्षिक दुई करोड गोटा चिनियाँ इँटा उत्पादन गर्नेे गोर्खा चाइनिज ब्रिक्स उद्योगले पूर्णरूपमा वातावरणमैत्री ‘ग्रीन टेक्नोलोजी’ बाट उत्पादन गर्ने दुवालले बताएका छन् । सुरुङ भट्टी (टनेल किल्न) प्रविधि जडान गरिएको यस उद्योगको भट्टीमा ‘फाइरिङ’ समेत जर्मन प्रविधिबाट गरिएको र यस्तो प्रविधि अपनाउने गोर्खा चाइनिज ब्रिक्स नेपालकै पहिलो इँटा उद्योग भएको बताइएको छ । 

यो इँटा उत्पादनमा कृषियोग्य उर्बर जमिनको माटो पनि संरक्षित हुने दाबी प्रवर्द्धकहरूको छ । किनकि यस प्रविधिबाट बनाइने इँटामा एक त माटो मात्र प्रयोग हुने छैन भने अर्कोतर्फ यसमा हाल नेपालमा उत्पादन भइरहेका इँटालाई जस्तो ओसिलो तथा चिम्टाइलो माटो पनि चाहिने छैन । कुनै पनि किसिमको रूखो माटो यसका लागि प्रयोग गर्न सकिने छ । साथै, त्यस्तो माटो पनि यसमा ५० प्रतिशत मात्र लाग्नेछ भने ३० प्रतिशत ढुंगा र बाँकी २० प्रतिशत कोइला यसको कच्चा पदार्थका रूपमा प्रयोग हुने दुवालको भनाइ छ ।

अन्य इँटाभन्दा यसमा अर्को फरक– गोर्खा चाइनिज इँटा फ्याक्ट्रीबाट उत्पादन भएपछि मेशिनबाटै एक हजार ओटाको बन्डल–बन्डलमा प्याकेजिङ भएर उपभोक्तासम्म पुग्नेछ । तर फ्रेस इँटामा मात्र यो सुविधा उपलब्ध हुने दुवालले जानकारी दिए । नेपालमा हालसम्म यसरी इँटा बन्डलमा प्याकेजिङ गर्ने अभ्यास कुनै पनि उद्योगले गरेका छैनन् । 

फ्याक्ट्रीबाटै प्याकेजिङ भएपछि लोड–अनलोड गर्दा इँटा टुटफुट हुने सम्भावना असाध्यै न्यून हुने र उपभोक्ताले जस्ताको तस्तै पाउने हुँदा खेर जाने छैन । ‘त्यसरी बन्डलमा प्याक गरेर ढुवानी गरेको इँटा केही गरी टुटफुट भयो भने पनि हामी त्यसको सट्टा अर्को फेस ब्रिक नै दिनेछौं,’ दुवालले भने । उनीसहित यस उद्योगमा गोर्खा इको प्यानलको उत्पादक कम्पनी इन्टरनेशनल ग्रीन डेभलपर्स प्रालिका पाँच मुख्य लगानीकर्ताहरू नै साझेदार छन् ।