
काठमाडौं। बैंक तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको सेयर धितो कर्जा अझै करिब डेढ खर्ब रुपैयाँ दिन सक्ने देखिएको छ।
बैंक तथा वित्तीय संस्थाहरू हाल उपलब्ध तरलताका आधारमा सेयर धितोबापत अझै १ खर्ब ३९ अर्ब रुपैयाँ ऋण दिन सक्ने अवस्थामा देखिएका हुन्।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कोर क्यापिटलको ४० प्रतिशतसम्म मार्जिन प्रकृतिको सेयर धितो कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कोर क्यापिटल ६ खर्ब ३६ अर्ब ८६ करोड रुपैयाँ छ। जसअनुसार बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोबापत कुल २ खर्ब ५४ अर्ब ७४ करोड रुपैयाँ लगानी गर्न सक्छन्।
बैंक तथा वित्तीय संस्थाले माघ मसान्तसम्म १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ लगानी गरेका छन्। सेयर धितोमा वाणिज्य बैंकहरूले ९३ अर्ब १२ करोड, विकास बैंकहरूले १७ अर्ब ८९ करोड र फाइनान्स कम्पनीले ४ अर्ब ९ करोड रुपैयाँ लगानी गरेका छन्।
अझै १ खर्ब ३९ अर्ब रुपैयाँ लगानी गर्न सक्ने स्पेस देखिए पनि पुँजीकोषमा दबाबका कारण अधिकांश बैंक तथा वित्तीय संस्था अफ्ठेरोमा छन्। ५४ मध्ये ७ वटा बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जा नै प्रवाह गरेका छैनन्।
स्टान्डर्ड चार्टर्ड बैंक तथा ६ वटा विकास बैंक र फाइनान्स कम्पनीले यस्तो कर्जा नदिएका हुन्। स्टान्डर्ड चार्टर्ड बैंकसँग सेयर धितोबापत ८ अर्ब ७ करोड रुपैयाँ ऋण दिन सक्ने क्षमता छ।
वाणिज्य बैंकहरूको कोर क्यापिटल ५ खर्ब ७१ अर्ब ३७ करोड हो। जस अनुसार वाणिज्य बैंकले सेयर धितोमा कुल २ खर्ब २८ अर्ब कर्जा प्रवाह गर्न सक्छन्।
नेपाल इन्भेष्टमेन्ट बैंकसँग लगानी क्षमता सबैभन्दा धेरै छ। यो बैंकसँग सेयर धितोमा अझै १६ अर्ब १३ करोड रुपैयाँ लगानी क्षमता छ। बैंकले माघ मसान्तसम्म यो क्षेत्रमा २ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
सबैभन्दा कम लगानी लगानी क्षमता भएको बैंक सिद्धार्थ हो। सिद्धार्थसँग सेयर धितोमा अब ७८ करोड रुपैयाँभन्दा लगानी गर्ने स्पेस छैन। बैंकले सेयर धितोमा हालसम्म ८ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ।
सेयर धितोमा हालसम्म सबैभन्दा धेरै कर्जा लगानी गर्ने बैंक नबिल हो। नबिलले अहिलेसम्म १२ अर्ब ९५ करोड रुपैयाँ लगानी गरेकामा अझै ६ अर्ब ८० करोड रुपैयाँ लगानी गर्ने क्षमता छ।
सेयर धितोमा कुन बैंकको लगानी क्षमता कति ?
वाणिज्य बैंक | कोर क्यापिटल (रु. १० लाखमा) | कूल सेयर कर्जा लगानी क्षमता ( रु. १० लाखमा) | प्रवाहित सेयर कर्जा (रु. १० लाखमा) | थप लगानी क्षमता (रु. १० लाखमा) |
नेपाल | २५,१९६ | १००७८.४ | ७,७२६.३२ | २,३५२.०८ |
राष्ट्रिय वाणिज्य | २९,१२९ | ११६५१.६ | ४,५१५.३० | ७,१३६.३० |
कृषि विकास | ३१,६९९ | १२६७९.६ | २,०३९.१८ | १०,६४०.४२ |
नबिल | ४९,४०८ | १९७६३.२ | १२,९५९.५७ | ६,८०३.६३ |
नेपाल इन्भेष्टमेन्ट मेगा | ४७,७२४ | १९०८९.६ | २,९५१.३६ | १६,१३८.२४ |
स्टान्डर्ड चार्टर्ड | २०,१८८ | ८०७५.२ | – | – |
हिमालयन | २७,१०२ | १०८४०.८ | १,९०७.२० | ८,९३३.६० |
नेपाल एसबिआई | १८,२१८ | ७२८७.२ | ४७२.६७ | ६,८१४.५३ |
एभरेष्ट | २४,२८१ | ९७१२.४ | २,६८४.७६ | ७,०२७.६४ |
एनआईसी एसिया | २४,८४१ | ९९३६.४ | २,५३८.२९ | ७,३९८.११ |
माछापुच्छ्रे | १५,५२६ | ६२१०.४ | १,३८७.९६ | ४,८२२.४४ |
कुमारी | ३१,१२७ | १२४५०.८ | ८,६४२.०२ | ३,८०८.७८ |
लक्ष्मी सनराइज | ३३,०९७ | १३२३८.८ | ४,१०७.३४ | ९,१३१.४६ |
सिद्धार्थ | २२,९३२ | ९१७२.८ | ८,३८६.१६ | ७८६.६४ |
ग्लोबल आइएमई | ५०,६८८ | २०२७५.२ | ११,६४९.१३ | ८,६२६.०७ |
सिटिजन्स | १९,०६९ | ७६२७.६ | ६,१५२.१६ | १,४७५.४४ |
प्राइम | २७,८३५ | १११३४ | ६,५५५.५२ | ४,५७८.४८ |
एनएमबि | २५,९९८ | १०३९९.२ | १,७७६.८७ | ८,६२२.३३ |
प्रभु | २९,२५३ | ११७०१.२ | ४,३२५.३५ | ७,३७५.८५ |
सानिमा | १८,०६२ | ७२२४.८ | २,३४७.८० | ४,८७७.०० |
जम्मा | ५७१,३७३ | २२८५४९.२ | ९३,१२४.९६ | १३५,४२४.२४ |
तरलता भए पनि पुँजीकोषका कारण बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा निर्धक्कसँग लगानी गर्ने अवस्था नरहेको एक बैंकका सीइओले बताए।
‘सरकारले प्राथमिकताको क्षेत्र तोकेर कृषि, ऊर्जा र साना तथा मझौला क्षेत्रमा लगानीको सीमा तोकेको छ। लगानी एउटै क्षेत्रमा गर्न पाइँदैन। अहिले पुँजीकोषमा चाप परेको अवस्था छ,’ उनले बिजमाण्डूसँग भने, ‘मार्जिन प्रकृतिको सेयर धितो कर्जा कोर क्यापिटलको ४० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था हो। तर, हामी स्पेस भएपनि पुँजीकोष सीमा नजिक रहेकाले माग्न आउने सबैलाई दिन सक्ने अवस्थामा छैनौं।’
प्रभु बैंकका डेपुटी सीइओ मणिराम पोखरेल लगानी क्षमता भए पनि पुँजीकोषमा चापका कारण लगानी सुस्त रहेको बताउँछन्। सेयर धितो कर्जाबापत ४ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेको प्रभु बैंकसँग थप ७ अर्ब ३७ करोड ऋण दिन सक्ने क्षमता छ।
५० लाख रुपैयाँ माथिको सेयर धितो कर्जाको जोखिमभार १२५ प्रतिशत र त्यसमुन्तिरको कर्जाको जोखिमभार १०० प्रतिशत छ। पुँजीकोष दबाबमा रहेका बैंक तथा वित्तीय संस्थाले जोखिमभार धेरै भएको कर्जा दिन सक्दैनन्।