
काठमाडौं। दुई साताअघि बरामद भएको २५ करोड विदेशी मुद्रा बराबरको रकमका मालिक सुन तस्करीमा संलग्न व्यापारी भएको खुलेको छ।
काठमाडौंको टोखाबाट चैत ४ गते राति बरामद भएको विदेशी मुद्राका मालिक नारायण पौडेल भएको खुलेको हो। उनी सिन्धुपाल्चोकको भोटेकोशीका हुन्। पौडेल एक दशक अघिदेखि काठमाडौंको टोखा-१० स्थित गणेशथानमा बस्दै आएका थिए।
राजस्व अनुसन्धान विभागले इन्टेलिजेन्स र विज्ञ अनुसन्धान टोलीबाट विदेशी मुद्राको मालिक पौडेल भएको पत्ता लगाएको हो।
विभागले पौडेलको घरमा मंगलबार छापा मारेर बैंक चेकहरु बरामद गरेको छ। पौडेलले प्रयोग गर्ने मोबाइल नम्बरको सीडीआर, सीसीटिभी फुटेज र डिजिटल डिभाइस विश्लेषण गर्नुका साथै उनको घर, कारोबारस्थल र गोदाम खानतलासी गरी विभिन्न प्रमाण विभागले बरामद गरेको हो।
प्रहरीले नियन्त्रणमा लिनुअघि ट्रक ग्यारेज, पार्किङ स्थल र विभिन्न गोदाममा गएको देखिएको छ। ट्रक चालक कुसाङ लामाको बैंक खाता अध्ययन गर्दा अस्वाभाविक शंकास्पद कारोबार भएको देखिएको छ।
सीडीआर विश्लेषणबाट पौडेलको मोबाइल नम्बरमा चालक कुन्साङले पक्राउ पर्नु ठिक अगाडि फोन सम्पर्क गरेको देखिएको छ।
विभागले पौडेललाई पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको छ। पौडेल भने प्रहरीले विदेशी मुद्रासहित ट्रक र चालक कुसाङलाई नियन्त्रणमा लिएदेखि नै फरार रहेको उनका छिमेकीहरुले जानकारी दिए।
सुरुमा खासाको व्यापारमा संलग्न पौडेल माओवादी शान्ति प्रक्रियामा आएपछि भएको रक्तचन्दन तस्करीमा सामेल भए। रक्तचन्दन तस्करीबाट राम्रै रकम आर्जन गरेका पौडेल खासाको व्यापार सेलाएपछि सुन तस्करीमा लागे।
सुन तस्करी पौडेलको नियमित धन्दा नै भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्। पौडेलले गर्ने सुन तस्करीमा व्यापारीहरुको समूह नै छ। ‘सुरुवातमा खासाको व्यापार गर्ने पौडेल विस्तारै रक्तचन्दन हुँदै सुन तस्करीमा लागेका थिए,’ स्रोतले भन्यो।
पौडेल यसअघि विभिन्न प्रकरणमा पक्राउ परिसकेका व्यापारी हुन्। केही वर्षअघि डलर काण्डमा पक्राउ परेका पौडेललाई साढे ४ वर्षअघि महाराजगञ्जस्थित आफ्नै घरमा जुवाखाल चलाएबापत प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यतिखेर पौडेललाई रिहा गर्न तत्कालीन सभामुख अग्नि सापकोटाले दबाब दिएको प्रहरी स्रोतले बतायो।
नारायण भोटेकोशी गाउँपालिकाका पूर्वअध्यक्ष राजकुमार पौडेल र हिमालय सीमापार वाणिज्य संघका पूर्वअध्यक्ष बच्चु पौडेलका आफ्नै दाइ हुन्। राजकुमार २०७४ को निर्वाचनमा माओवादीबाट निर्वाचित भएकामा बच्चु कांग्रेस समर्थित हुन्।
उनीहरुका चार दाजुभाइमध्ये ध्रुव एमालेका जिल्लास्तरीय नेता हुन्। उनी २०५४ मा तत्कालीन फुप्लिङकट्टी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए। ध्रुव १२ वर्षअघि रक्तचन्दन तस्करीमा पक्राउ परेका थिए भने राजकुमारविरुद्ध भोटेकोशी गाउँपालिका अध्यक्ष रहेकै बेला सुन तस्करीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मुद्दा दायर गरेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चैत ४ गते राति काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको ट्रक टोखा झोरबाट नियन्त्रणमा लिएको थियो।
ट्रकमा चालक बस्ने स्थान माथिको क्याबिनमा फल्स बटम बनाइ खैरो रंगको टेपले बेरेको अवस्थामा १३ लाख ७५ हजार १५० युरो र ३ लाख २० हजार ८५० अमेरिकी डलर भेटिएको थियो। प्रहरीले ट्रक चालक कुसाङलाई त्यतिबेलै पक्राउ गरेको थियो।