पुरानो ढर्रामा चलेका नेपाली बैंकको भविष्य अब कति ? सुमन पोखरेलको लेख

बिजमाण्डू
२०७६ पुष १५ गते ०९:०१ | Dec 31, 2019
पुरानो ढर्रामा चलेका नेपाली बैंकको भविष्य अब कति ? सुमन पोखरेलको लेख


Tata
GBIME

संसारमा प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्न विभिन्न कम्पनीहरू आक्रामक ढंगले अगाडि आएका छन् र नेपाल पनि यसबाट अछुतो छैन|  नेपालमा पनि वित्तीय क्षेत्रलाई डिजिटलाइज्ड गर्ने उद्देश्यका साथ धेरै कम्पनीहरू सञ्चालनमा छन् र, प्रविधिमा आधारित रहेर वित्तीय कार्य गर्ने यस्ता अरू 'फिनटेक' कम्पनी पनि आउँदै छन्। वित्तीय क्षेत्रमा यस्ता कम्पनीहरूको प्रवेशसँगै यसले अब नेपालको बैंकिङ क्षेत्रलाई के गर्छ ? भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ।

विश्व बजारमा 'फिनटेक' ले परम्परागत बैंकलाई चुनौती दिन थालेको छ। नेपालमा भने यस विषयमा सामान्य छलफल भए पनि जुन गम्भीरताका साथ बहस हुनुपर्दथ्यो, त्यो भएको पाइँदैन। अब बैंकिङ क्षेत्रमा काम गर्ने नेपालका सरोकारवालाले यस विषयमा छलफल चलाउन ढिला गर्नु हुँदैन।

विकसित मुलुकमा हेर्ने हो भने 'फिनटेक' ले बैंकहरूलाई धेरै नै प्रभावित पारिसकेको छ। तर, नेपालमा अहिले बैंकिङ जुन हिसाबले बढिरहेको छ चाहे पुँजीको हिसाबमा होस् वा बजार आफै परिपक्व बन्दै गएको सन्दर्भमा यसको  प्रभाव के हुन्छ भनेर जान्नका लागि थप अध्ययन गर्नुपर्ने समय आएको छ|

सन् २००८ मा विश्व अर्थतन्त्रमा जुन संकट आयो बैंकहरू विस्तारै 'कम्प्लायन्स' (अनुपालन) तथा आन्तरिक सुधारतर्फ केन्द्रीत हुन थाले। त्यसै समयमा वित्तीय आवश्यकता पूरा गर्न विभिन्न प्रविधि कम्पनीहरू स्थापना भए। आज तिनै कम्पनी ठूला 'फिनटेक' कम्पनी बनेका छन्।

विश्वका ठूला बैंकले अहिले के महसुस गरिरहेका छन् भने पहिले हामीले 'फिनटेक' लाई त्यति वास्ता गरेनौं। तर, यो महत्वपूर्ण विषय रहेछ। अब हामी 'डिजिटल टेक्नोलोजी'मा आधारित बैंकिङमा गएनौं भने हामीलाई टिक्न जुन लागत लाग्छ त्यो उठाउन पनि सक्दैनौं। त्यही कारण अहिले बैंकहरुले डिजिटल प्रविधिमा ध्यान दिन थालेका छन्, लगानी गर्न थालेका छन्।

अबको समयमा बैंक आफैले सबै काम गरेर साध्य पनि हुँदैन। बैंकको आफ्नो जहाँ दक्षता छ त्यही गर्ने हो। बैंकिङमा मान्छेको विश्वास छ, साइज छ र स्केल पनि छ। बैंकहरू पहिले 'फिनटेक' कम्पनीसँग प्रतिष्पर्धा गरेर जानुपर्छ भन्ने सोचमा हुन्थे तर उनीहरु अहिले प्रतिष्पर्धा होइन, सहकार्यमा जानुपर्छ भन्न थालेका छन्। मसँग एक खालको दक्षता छ, अर्कोसँग अर्को खालको दक्षता छ। ती दुवै मिलेर अगाडि जाने हो भने अझ बढि प्रगति गर्न सकिन्छ।

कतिपय बैंकहरूले 'फिनटेक' का लागि आफ्नै इनोभेसन सेन्टर पनि खोलेर काम गर्न थालेका छन्। जस्तो जेपी मोर्गन बैंकले आइटीमा काम गर्न हजारौं इन्जिनियरलाई नियुक्ति दिएर काम गरिरहेको छ। ठूला बैंकले डिजिटलाइजेसनमा खर्च गर्ने गरी अरबौं डलर रकम छुट्याउन थालिसकेका छन्। 

त्यस्तै मध्येको एक डचे बैंक पनि हो। उसले डिजिटलाइजेसनमा आक्रामक रूपमा काम गरिरहेको छ। उ आफू अब बैंक होइन फिनटेक भएर काम गर्नु पर्छ भनेर अगाडि बढिरहेको छ। डचे बैंकले आफूलाई बैंक भन्न समेत छाडेर टेक्नोलोजी कम्पनी भनेर चिनाउन थालेको छ। विश्वका अरु केही ठूला बैंकहरू पनि त्यही डचे बैंकले जस्तै गर्न थालेका छन्। ती बैंकहरू अबको पाँच/सात वर्षमा १०औं हजार कर्मचारीलाई रोबोटबाट रिप्लेस गर्ने गरी काम गरिरहेका छन्।

पहिले पहिले श्रम लाग्ने ठाउँमा कर्मचारीलाई रोबोटले विस्थापित गर्दथ्यो। तर अहिले दिमाग लगाउनुपर्ने ठाउँका कर्मचारी पनि रोबोटले विस्थापित गर्न थाल्यो। ती कर्मचारीको काम रोबोर्टले गर्नुको अर्थ हो, त्यो काम आर्टिफिसियल इन्टेलिजेन्स/मेशिन लर्निङबाट भइरहेको छ।

नेपालको सन्दर्भमा यही कुरो भइरहेको छैन अर्थात नेपालमा डेटा विश्लेषण (तथ्यांकलाई प्रशोधन गरि प्रयोग) भइरहेको छैन। संसारभर डेटा सुन र तेलभन्दा बहुमूल्य छ भनेर बुझ्न थालिएको छ। तर नेपालमा अहिले पनि डेटा (तथ्यांक/विवरण) लाई सम्पति मान्ने गरिएको छैन।

जस्तो उदाहरणका लागि अहिले नेपालमा खोलिएकामध्ये ठूलो संख्यामा बैंक खाता निष्क्रिय छन्। यस्ता निष्क्रिय खातालाई म्यानुअल्ली सक्रिय बनाउन गाह्रो मात्रै हुँदैन, बैंकले त्यसमा खर्च हुने लागत पनि उठाउन सक्दैन्।

तर एआइको माध्यमबाट ती खाता किन निष्क्रिय वा कम सक्रिय छन् भन्ने कारण पत्ता लगाउन सकियो, खाता खुलेदेखि निष्क्रिय हुँदासम्मको व्यवहारलाई एआई मार्फत विश्लेषण गर्न सकियो, त्यसको कमजोरी वा कारण पत्ता लगाउन सकियो र प्रविधिको प्रयोगमार्फत ती खातालाई सक्रिय बनाउन सकियो भने पक्कै पनि बैंकलाई त्यसले सुखद परिणाम दिन्छ।

तर हामी डेटालाई कसरी प्रयोग गर्ने भन्ने तहमा पुग्नै सकेका छैनौं। बाहिर ग्राहकको आवश्यकता कसरी सम्बोधन गर्ने भनि यस्तै तथ्यांक हेरेर निर्णय गर्न थालिसकेका छन्।

उनीहरू ग्राहकलाई प्रोडक्ट (वस्तु) अफर गर्ने होइन, 'एक्सपेरियन्स' अफर गर्न थालेका छन्। बैंकले आफ्ना ग्राहकलाई 'एक्सपेरियन्स' अफर गर्नका लागि 'कस्टमरको जर्नी' लाई बुझ्नुपर्छ। बैंकसँग हुने डेटाबाट ग्राहकको 'ट्रान्जेक्सनल बिहेभियर' बुझ्न सकियो भने उसको अबको वित्तीय आवश्यकता कहाँ हुन्छ भनेर बैंकले अनुमान गर्न सक्छ। त्यो अनुमानका आधारमा उसले ग्राहकलाई वित्तीय सेवा प्रदान गर्न सक्छ। 

ग्राहकको ब्यवहार बुझेर उसका लागि उपयुक्त वस्तु तथा सेवा जान्नका लागि 'ह्युमन इन्टिलिजेन्स' ले मात्रै सम्भव छैन्। त्यसका लागि प्रविधिको प्रयोग गर्नुपर्छ। प्रविधिको प्रयोगमार्फत ग्राहकका सबै आवश्यकता बुझ्न सकियो भने मात्रै उनीहरुलाई के सुविधा दिनुपर्छ भन्ने कुरा थाहा हुन्छ र त्यही अनुसार सेवा प्रवाह गर्न सकिन्छ। तर बिडम्बना भनौं वा के भनौं यस्तो कुरामा हामी धेरै पछाडि छौं।

अहिले संसारभर विभिन्न क्षेत्रमा नयाँ नयाँ कुराहरु आइरहेका छन्। जस्तो युरोपतिर अहिले च्यालेन्जिंङ बैंक वा  नयाँ बैंकिङ अवधारणाका रूपमा 'नियो बैंक'हरू आइरहेका छन। साधरण ढंगले बुझ्दा यो भनेको बैंक मोबाइलमा भन्ने हो। यस्ता बैंक नियामकबाट स्वीकृति लिएर खुलेका त हुन्छन् तर यो कुनै बिल्डिङमा बैंकिङ काउण्टर राखेर चलेका भने हुँदैनन्। यो बैंक सबैको हातहातमा हुन्छ अर्थात मोबाइलमा हुन्छ।

युरोपमा एन-ट्वेन्टीसिक्स (N26) भन्ने बैंक छ, त्यो नियो बैंक हो। आइटीबेस यो बैंकले परम्परागत रुपमा चलिरहेका बैंकको तुलनामा यति धेरै प्रतिष्पर्धी सुविधा दिन्छ, अरू बैंकले उसँग प्रतिस्पर्धा गर्नै सक्दैनन्। अर्को रिभोल्ट भन्ने बैंक छ। फ्रान्समा मोन्जो भन्ने अर्को नियो बैंक छ। यी बैंक बजार विस्तारमा आक्रामक छन् र ग्राहकले रुचाएका पनि छन्। कारण बैंक कम लागतमा चलेको हुन्छ, ग्राहकले अरूभन्दा सस्तोमा सेवा पाएको हुन्छ। अझ त्योभन्दा बढी बैंकले आफ्नो ग्राहकका वारेमा यति धेरै जानकारी राखेको हुन्छ, त्यो जानकारी अरू साधारण बैंकसँग हुँदै हुँदैन।

नियो बैंकको कार्ड प्रयोग गर्दा साधारण बैंकको कार्डले पाउनेभन्दा बढी डिस्काउन्ट पाइन्छ। निक्षेप राख्दा धेरै ब्याज पाइन्छ भने ऋण लिँदा ब्याज सस्तो पर्छ। त्यसले ठूला बैंकहरुलाई चुनौती थपेको छ। यी अहिले साना छन् तर भविष्य यसैमा छ भन्नेमा कुनै दुविधा छैन।

हाम्रो बैंकिङले पनि यो कुरा महसुस गर्नु पर्छ। ढिलो-चाँडो हाम्रोमा पनि त्यो कुरा आइहाल्छ। हिजोको बैंकिङ र आजको बैंकिङ नै धेरै फरक परिसकेको छ। 

बेलायतमा मुख्य गरी चार ठूला बैंक छन्, त्यही कारण रेगुलेटरले के भन्यो भने- 'तिमीहरुले प्रतिस्पर्धालाई प्रवर्द्धन गरेनौं। अब 'फिनटेक' कम्पनी आइरहेका छन्। हामी फिनटेकलाई सहजीकरण गर्छौं फलतः ग्राहकले राम्रो सेवा पाउँछ।'

उसले ओपन बैंकिङ कन्सेप्ट ल्यायो, यो भनेको मानौं कुनै बैंकमा खाता छ भने आफ्नो विवरण चाहँदा अरूलाई पनि त्यहींबाट दिन सकिन्छ। जस्तो राष्ट्रिय वाणिज्य बैंकमा कसैको खाता छ भने ग्राहकले बैंकमा दिएका विवरण तथा कागजात त्यही बैंकका लागि मात्र प्रयोग गर्नुपर्छ भन्ने हुँदैन। ग्राहकले अरू बैंक वा सेवा प्रदायकलाई त्यहीँको विवरण दिएर सेवा लिन सक्छ। त्यतिबेला राष्ट्रिय वाणिज्य बैंकले बैंकिङ मात्रै गर्दैन, त्यो प्लेटफर्ममा बदलिएको हुन्छ।

विदेशमा यो सेवा आउन थाल्यो भनेपछि नेपालमा पनि ढिलोचाँडो आइहाल्छ। यस्तोमा उपभोक्ताको तथ्यांक सुरक्षा मुख्य चासो हो। त्यो पनि लाइसेन्स लिएपछि सम्बन्धित कम्पनीले सुरक्षित राख्नु पर्छ। यदि तलमाथि भए त्यो कम्पनी जवाफदेही हुन्छ।

भोलिका दिन हाम्रोमा पनि नियामकले यो गर्न सक्छ। अहिले पनि ठूलो मात्रामा कारोबार बैंकिङ क्षेत्रभन्दा बाहिर छ। यसका लागि नियामकले 'फिनटेक' लाई सपोर्ट गरेर जान सक्छ। रेगुलेटरले हेर्ने भनेको जनताको सुविधा हो। उसले जे गर्दा जनताले बढि सुविधा पाउँछन्, त्यही सेवालाई प्रवर्द्धन गर्ने गरी काम पनि गर्छ।

नेपालमा पनि फिनटेकमा धेरै स्टार्ट-अप कम्पनी आएका छन्। नेपालका बैंकले पनि अब म ठूलो बैंक हो भनेर बस्नु हुँदैन। बैंकले 'फिनटेक' कम्पनीसँग साझेदारी गरेर जानु पर्छ। आजका दिनमा बैंकसँग जे एडभान्टेज छ, त्यो फिनटेकसँग छैन र फिनटेकसँग जे छ त्यो बैंकसँग छैन। जस्तो अहिले वालेटप्रति आम उपभोक्ताको विश्वास कम छ, तर बैंकसँग मिलेपछि त त्यो विश्वास झन बढ्छ। यसो हुँदा ग्राहक र बैंक दुवैलाई फाइदा हुन्छ।

अब बैंकहरूले हावा कतातिर बगिरहेको छ भनेर अनुभव गर्नु पर्छ। अहिले गरिरहेको ब्यापारलाई गुणात्मक रुपमा बढाउन सक्छु भनेर हेर्नु पर्छ। अबको बैंक प्ल्याटफर्ममा आधारित हुनु पर्छ। जस्तो फेसबुक, अमेजन, अलिबाबा भनेको प्लेटफर्म हो। सिंगापुरमा 'फिनटेक' लाई बैंकिङ लाइसेन्स नै दिन थालेको छ| उदाहरणका लागि ओला, उबर जस्तै राइड सेयरिङ कम्पनी 'ग्रयाब' लाई सिंगापुरले भर्खरै डिजिटल लाइसेन्स दिएको छ| 

विश्वका धेरै बैंकहरु प्ल्याटफर्ममा जान थालेका छन्। उनीहरुले धेरैभन्दा धेरै सेवा प्रदायकलाई बैंकमा जोडेर, ती सेवा प्रदायक कम्पनीले दिने सेवा तथा उत्पादन आफ्ना ग्राहकलाई उपलब्ध गराइरहेका छन्। त्यही कारण नेपालमा पनि बैंकले अब निक्षेप लिने र ऋण दिने गरेर मात्रै हुँदैन। ग्राहक आएपछि के सुविधा चाहिएको हो त्यो सुविधा लिएर जाउ भन्ने हिसाबले बैंकलाई स्तारोन्नति गर्नुपर्छ।

म मेरो बैंकिङ प्रडक्ट मात्रै बेच्छु भनेर जुन बैंक बस्छ, त्यसको भविष्य लामो जाँदैन। पछिल्लो पुस्ताले मोबाइलमा आठ घण्टा बिताउँछ, जुन हिसाबमा मोबाइलमा ग्राहकको इङ्गेजमेन्ट बढिरहेको छ त्यसलाई लक्षित गरेर बैंकहरू सेवा विस्तारमा जान थाल्नुपर्छ। किन्ने, खाने, लाउने सबै कुरा मोबाइलबाट हुन थालेको छ। ती सबैका लागि वित्तीय सेवा बैंकले अब मोबाइलबाट दिनु पर्छ भनेर उनीहरु त्यतातिर लागेका छन्। छिमेकी भारतका बैंक पनि बिस्तारै त्यतातर्फ गइरहेका छन्। यसमा लगानी बढाइरहेका छन्।

डिजिटलाइजेसनका लागि ग्राउन्ड भनेको 'डिजिटल प्रविधि' नै हो। नेपालमा भने बैंकहरूले यस्तो ठाउँमा लगानी गरेका छैनन्। यो क्षेत्रमा लगानी गर्नु पर्छ भन्ने नै बैंकहरूलाई लागेको छैन। बरु यो कुरा राष्ट्र बैंकले बुझेको छ। आइटीमा लगानी बढाउन आग्रह गरिरहेको छ।

डिजिटलाइजेसन गर्छु भनेर मात्रै पनि हुँदैन। यो के हो भनेर उच्च ब्यवस्थापक, सञ्चालक र लगानीकर्ताले बुझ्नु पनि जरुरी छ। यसलाई अगाडि बढाउनु पर्छ भन्ने कल्चर हाम्रोमा कम छ । नयाँ कुरा आयो भने रोक्नेतिर नै हामी लाग्छौं।

अब जसले यो क्षेत्रमा लगानी बढाउन सुरु गर्छ त्यो अगाडि बढ्छ। त्यसले फस्ट मुभर एडभान्टेज पनि पाउँछ। नेपालमा अहिले बिजुलीको बिल तिर्न पाएको, टेलिफोनको टपअप गर्न पाएको विषय नै अहिले ठूलो भएको छ। तर यो भनेको होल 'इको सिस्टम'को सानो अंश मात्र हो। 

डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्दै बैंकहरुले ब्लकचेनमा आधारित भइ विभिन्न बैंकिङ सेवाहरू प्रदान गर्न थालेका छन्। एचएसबीसी बैंकले गर्ने एलसीको कारोबारमा ब्लकचेनको प्रयोग सुरू गरिसकेको छ। यसको प्रयोगले कारोबारमा लागत घट्ने मात्र नभई यसले कारोबारमा सुरक्षा र पारदर्शिता पनि ल्याउछ। भारतमै पनि धेरै बैंकहरूले यसलाई प्रयोगमा ल्याइसकेका छन्।
 
विश्वभर करोडौंको संख्यामा ग्राहक भएका अमेजन, एप्पल र उबर जस्ता कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको सहकार्यमा डेबिट/क्रेडिट कार्ड लगायतका अन्य वित्तीय सेवा सुरु गरिसकेका छन्। फेसबुकले मनी ट्रान्सफर सेवा सुरू गरिसकेको छ भने साझा मुद्राको अवधारणा अगाडि सारेको छ। यी केही उदाहरण मात्र हुन् । खोज्दै गयो भने यस्ता धेरै उदाहरण पाउन सकिन्छ। यसले पनि के पुष्टि गर्छ भने, अब बैंक तथा वित्तीय क्षेत्रमा ठुलो परिवर्तन निश्चित छ। 

नेपाली बैंकिङ अहिले पनि परम्परागत रूपमा चलिरहेको छ। लिगेसी बैंकिङमा छ। 'ब्याज देउ ब्याज लेउ' मा मात्रै बैंकिङ टिकेको छ। जस्तो बैंकको शाखा विस्तारमा त अझ उल्टो हिंडेको हो कि जस्तो पनि देखिन्छ। मोबाइलबाट सबथोक हुन्छ भने शाखा किन चाहियो ? टच बैंकिङमा सबै उपलब्ध हुने हो भने बैंकको शाखा विस्तार किन गरिराख्नुपर्‍यो ?