खेत बाँझै राखेर नेपाली विदेशिँदा नवलपुरमा नर्बेलीको खेती, सय रोपनीमा रुद्राक्षदेखि कफीसम्म


नवलपुर। अधिकांश नेपाली युवा काम र अवसरको खोजिमा विदेशिन्छन्। यो क्रम दिनानुदिन बढ्दो छ। काम गर्न सक्ने उमेरका युवाहरु विदेशिएपछि गाँउ घरका खेत, बारी बाँझो हुनु सामान्य नै भइसक्यो। यति हुँदाहुँदै पनि धेरै जनसङ्ख्या कृषिमै निर्भर छ। परम्परागत खेती प्रणाली कायमै छ। कृषिलाई व्यवसायिक र आधुनिकीकरण गर्न सकिएको छैन। जसका कारण वर्षेनी धेरै परिमाणमा खाद्यान्न तथा फलफूल अनि तरकारी आयात गर्नुपरेको छ। 

यस्तो अवस्थामा एक जना विदेशी भने नेपालमा आएर खेती गरिरहेका छन्, प्रशस्त सम्भावना देखेर। उनले आफूले मात्र खेती गरिरहेका छैनन् आधुनिक प्रणाली भित्र्याएर नेपाली किसानलाई पनि सिकाइरहेका छन् 'व्यवसायिक खेती।' 

TaTa
Riddisiddi Cement
Nepal life

उनी हुन् नर्वेजियन नागरिक थोमस।

उनको नेपाली नाम ठूले तामाङ हो। तामाङ समुदायमा ठूले नामले परिचित भए पनि शेर्पा समुदायमा भने उनी नोर्बु शेर्पा। अनि केही केहीले गोविन्दा पनि भन्छन् उनलाई। 

उनको फार्म हाउस सिन्धुपाल्चोकको इन्द्रावती गाउपालिकास्थित नवलपुरमा छ। मेलम्ची बजारबाट १२ किमी दुरीमा पर्छ यो गाउँ।
थोमस २०७१ सालदेखि नेपालमा आएर कृषि क्षेत्रमा लागिरहेका हुन्। उनले विलोबा अर्गानिक फार्म दर्ता गरेर खेती सुरु गरेका हुन्। २०७२ सालपछि उनी नेपाली किसान झै सक्रिय रुपले लागेको बताउँछन्। उनको फार्म हाउसमा विभिन्न जातका कागती, मुन्तला, सुन्तला, जुनार, निबुवा अम्बा फलेको छ। कफी पनि लटरम्मै। बुद्धचित्त, एभोकार्डो (घिउफल), रुद्राक्ष फल्न सुरु गरेको छ। लहेर आप, किवी र अरु धेरै विरुवाहरु हुर्किँदैछन्। 


उनको फार्म हाउस सय रोपनीमा फैलिएको छ। उनले केही जग्गा किनेका छन् भने बाँकी भाडा र पार्टनरसीपमा। च्यानेखोलामा करिब ३० रोपनी जग्गा भाडामा लिएर नर्सरी बनाएका छन्। नर्सरीमा कुन जातको फलफुल र बोट विरुवा लगाउदा उपयुक्त हुन्छ भनेर अनुसन्धान गरिन्छ। र सोही अनुसारको विरुवा उत्पादन गरिने थोमस बताउँछन्।

उनका अनुसार अहिले नर्सरीमा करिब २५ थरी विरुवा उत्पादन भइरहेको छ जसमा कफी र अलैची धेरै परिमाणमा उत्पादन गरिन्छ। माउ विरुवाको हागाबाट नयाँ विरुवा उत्पादन गरिन्छ यहाँ। साथै, यो नर्सरी कृषि गर्न चाहने र पढ्ने तथा पढिरहेका विद्यार्थीहरुका लागि समेत उपयोगी हुने उनको विश्वास छ। त्यही अहिले थोमसले कटेज बनाएका छन् बस्नका लागि। 

त्यहाँबाट करिव १ किमी दुरीमा कैचले पर्दछ। थोमसले कैचलेमा ३४ रोपनी जग्गा प्रति रोपनी ७५ हजार रुपैयामा किनेको बताए। कैचलेमा होमस्टे समेत निर्माणाधीन छ। होमस्टेलाई फाइनल टच दिने काम भइरहेको छ। होमस्टेमा फार्म हाउसको कार्यालय पनि रहने छ। साथै अध्ययन गर्न आउने विद्यार्थी, र पाहुनाका लागि कोठा पनि छुट्याएका छन्। दुई तलाको ६ कोठे होमस्टे आकर्षक ढङगले बनाइएको छ। जसमा एउटै रुखको मात्रै काठ प्रयोग गरिएको छ। झ्याल ढोका, भर्‍याङ जति बनेका छन् एउटै रुखको काठबाट। 

होमस्टे तलतिर करिव दुई हजार विरुवा लगाइएको छ। जसमा ९० प्रतिशत कफी। बाँकी भने विभिन्न फलफूल। कफी लटरम्मै फल्न सुरु गरिसकेको छ। यसअघि यो बारीमा कोदो, धान मकै खेती हुन्थ्यो।

कात्तिकेमा लाक्पा शेर्पासँग पार्टनरसिपमा खेती गरिरहेका छन् उनले। कफी फलफुलसँगै जडिबुटीका विरुवा लगाएका छन्। यहाँ पनि ३० रोपनीको हाराहारीमा कृषि गरिरहेका छन् उनले।

अरु धेरै प्रकारका विरुवाहरु उत्पादनहरु गरेर खेती गरिएको भए पनि मुख्य खेती कफी नै हो। कफी रोपेर त्यसलाई प्रशोधनसमेत गरेर तयारी अवस्थामा बनाउने उनको महत्वकांक्षी योजना छ। च्यानेखोलामा उनले कफी प्रशोधन गर्ने ठाउ बनाइसकेका छन्। परीक्षणका लागि एउटा अत्याधुनिक मेसिन पनि ल्याएका छन्। मास प्रोडक्सनका लागि भने ठूलो मेसिन ल्याउने तयारी छ उनको। अहिले उनी थोरै परिमाणमा भएको कफीलाई त्यही प्रशोधन गरेर खान योग्य बनाउँछन्। साथै, अर्ग्यानिक कफीका रुपमा अन्तर्राष्ट्रिय मान्यता पाउनका लागि पनि काम  गरिरहेका छन्। 

उनको मुख्य उद्देश्य नेपाल बाहिर नेपाली ब्राण्डको कफी निर्यात गर्ने नै हो। यसैका लागि उनले वरपरका किसानहरुलाई १५ हजार विरुवा उत्पादन गरेर बितरण गरिसकेका छन्। धेरैले कफी उत्पादन पनि सुरु गरिसकेका छन्। कफीका विरुवा १५ रुपैयाँका दरले बेचेका हुन् उनले। कफीका विरुवा मात्रै बेच्दैनन् सँगै कसरी रोप्ने र हुर्काउने भनेर तालिम पनि दिँदै आएका छन्। कफी फलेपछि आफैले किन्छन्, बजार मूल्यभन्दा १० रुपैयाँ प्रतिकेजी बढी तिरेर। 


अन्य वालीको तुलनामा कफी उत्पादनका लागि एकदमै धेरै ध्यान पुर्‍याउनुपर्छ। कफी पाकेपछि त्यसलाई टिप्ने देखि प्रशोधन गरेर तयार पार्दा सम्म। कफी दुई थरीको हुने उनको तर्क छ। एउटा स्पेसल हुन्छ भने अर्को सामान्य। कफी पाकेपछि हरियो पाकेको सबै खालका राखेर प्रशोधन गरेर तयार पारिने कफी सामान्य हो। पाकेका मात्रै प्रयोग गरेर प्रशोधन गरी तयार पारिने कफी चाहिँ स्पेसल जुन महँगो पर्छ। यस्तो प्रकारको कफी उत्पादन गर्ने तयारीमा उनी छन्।

त्यसो त कफी कल्चर बढ्दो छ। संसारमा सबैभन्दा बढी कफी फिनल्याण्डमा खपत हुन्छ। दोस्रोमा नर्वे पर्छ। त्यहाँ प्रतिव्यक्ति औशतमा एक लिटर कफी पिउँछन्। चिसो ठाउ भएकाले कफी धेरै खाने कल्चर बसेको थोमस बताउँछन्। त्यहाँ कफीको ठूलो माग छ। नेपालमा पनि खपत बढिरहेको छ। थोमस नेपाल आउँदा कफी कल्चर बल्ल सुरु हुन लागेको थियो। तीन चारवटा मात्रै कफी शप थिए। अहिले तर ७ सय भन्दा धेरै कफीसपहरु खुलिसकेका छन्। विस्तारै नेपालको सबै ठाउँमा कफीको कल्चर बढ्दै गएको छ। 

कृषि नेपालको सन्दर्भमा एउटा अपहेलित पेशा बनेको छ तर ठूलो जनसङ्ख्या यसमै निर्भर छ। कानुन पढ्नेले 'मेरो पेशा वकालती हो।' छाति फुलाएर भन्छ। इन्जिनियरिङ पढ्नेले 'म इन्जनियर हुँ।' गौरवले भन्छ। तर, कृषि पढ्ने वा काम गर्ने 'म किसान हुँ, मेरो पेशा कृषि हो।' भन्न तयार हुँदैन। तर, थोमस किसान हुँ भन्दा गौरव गर्छन्। खुशी हुँदै भन्छन्, 'म त नेपाली किसान हो नि।' 
नेपाली कृषिमा आधुनिकीकरण हुनुपर्ने उनको भनाई छ। 'अब हामीले नयाँ कृषि गर्ने, पुरानो छाड्ने,’ उनले भने, 'कोदालो कोदाली छाड्ने नयाँ प्रविधि अपनाउने।' 


उनले धेरै ठाउँमा हेरेको भए पनि कफीका लागि उपयुक्त ठाउँ पाएपछि सिन्धुपाल्चोक रोजेका हुन्। हाई अल्टिच्युटको कफी राम्रो र गुणस्तरीय हुने उनको तर्क छ। 'सबैभन्दा हाइ अल्टिच्युटको वेष्ट हुन्छ। बिस्तारै पाक्छ। राम्रो क्वालिटीको हुन्छ,’ उनले भने। फार्म हाउसमा तीनवटै वातावरण भएको जमिन छ। च्यानेखोलामा मध्यम वातावरण छ। कैचलेमा थोरै न्यानो जमिन छ। कात्तिकेमा चाहिँ धेरै चिसो। 

थोमस न कृषि पढेका हुन् न त गरेका अनुभवी नै। इन्टरनेटको सहायताबाट खेती गर्ने सिकेका हुन् उनले। नर्वेमा हुँदा अस्पतालको हेल्परदेखि माछा मार्ने काम सम्म गरे। हस्तकलाको ब्यापार पनि गरे। केही समय स्थानीय पत्रकारका रुपमा पनि काम गरे। तर, यसरी खेतीपाती र कृषिमा भिजेका थिएनन्। 

उनले नर्वेमा रहेको घर गाडी बेचेर यहाँ लगानी गरेका छन्। दुई करोड भन्दा बढी लगानी भइसकेको छ। र, अझै लगानी गर्ने बताउँछन्। उनी समय समयमा नर्वे गएर काम समेत गर्छन्। त्यहाँबाट आउने पेन्सन र तलबले यहाँ ल्याएर लगानी गर्छन्। उनको फार्म हाउसमा ७ जनाले नियमित जागिर पाएका छन्। सिजनल रुपमा अरु काम गर्नेहरु पनि हुन्छन्। जागिरेहरुलाई मासिक १५ हजारका दरले तलब दिने गरेका छन् उनले। 

उनी २००२ मा पहिलोपटक नेपाल घुम्न आएका थिए। त्यसपछि उनलाई नेपाल रमाइलो लाग्न थाल्यो। घुम्न आइरहन थाले। २००५ मा एउटा उनीहरुको गोविन्दा फाउण्डेसन खोले। उनी सुरुमा जाँड रक्सी पनि खान्थे। साथीको मृत्युपछि खान छाडे। र, खाने पैसा फाउण्डेसनमा राख्न थाले। त्यही पैसाले कमजोर आर्थिक अवस्था भएका बालबालिका पढाउन सुरु गरे। अहिले पनि त्यो फाउण्डेस चलिरहेको छ। फाउन्डेसनको सदस्य हुनेले आम्दानीको ५ देखि १० प्रतिशत फाउण्डेसनलाई दिनुपर्छ। भोजपुर, संखुवासभा, बाग्लुङ, चितवन, काठमाडौं लगायतका विभिन्न स्थानमा बालबालिकाहरु पढारहेको छ फाउन्डेसनले। 
 


Share this Story

   

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell