काठमाडौं। बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको पूँजीको तुलनामा व्यवसाय कम देखिएपछि उनीहरुलाई बाध्यताकारी मर्जरमा लैजाने भएको छ। मर्जर प्रकृया के कसरी गर्ने भन्ने विषयमा समितिले आन्तरिक रुपमा छलफल गरिरहेको छ।
साउनमा सबै कम्पनीको वित्तीय विवरण आउने र त्यही विवरण हेरेर समितिले आवश्यक पहल गर्ने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताए।
बीमा कम्पनीले नेपालमा बीमा कम्पनी धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा भैरहेको बताउँदै आएका छन्। कतिपय कम्पनीहरुले जोखिमको वास्तविक मूल्यभन्दा कममा बीमा गर्नु पर्ने वाध्यात्मक अवस्था रहेको गुनासो गर्दै आएका छन्।
समितिले एकै पटक संख्या घटाउने गरि फोर्सफुल मर्जरमा लैजाने या अन्य कुनै उपाय अपनाउने भन्ने विषयमा छलफल सुरु गरेको हो। समितिका अध्यक्ष चापागाईले विगत लामो समयदेखि सार्वजनिक कार्यक्रममै क्रस होल्डिङ भएका कम्पनीहरुलाई मर्जमा जान बाध्य पार्ने अभिव्यक्ती दिँदै आएका छन्।
कम्पनीहरुको क्रस होल्डिङबाट मर्ज सुरु गर्दा केहि कम्पनी तुलनात्मक रुपमा ठूला हुने छन्। कम्पनी ठूलो हुँदै गर्दा प्रतिस्पर्धाका लागि भए पनि बाँकी कम्पनी मर्जमा जाने समितिको आँकलन छ।
मर्जरका लागि सञ्चालकको आग्रह
कम्पनी धेरै हुँदा व्यवसाय बाडिन्छ। सञ्चालकको दवावमा कतिपय कम्पनीले व्यवसाय तान्न सस्तो मूल्यमा जोखिम लिने गरेका छन्। सस्तोमा लिएको जोखिमको पुनर्बीमा गर्न राम्रो पुनर्बीमा कम्पनीले मान्दैनन्। पछिल्लो समय बीमा कम्पनीहरुले आफ्नो जोखिम अफ्रिकन राष्ट्रका पुनर्बीमा कम्पनीमा लगिरहेका छन्। यसले ठुलो ठुलो प्रकोप हुँदा र दाबी धेरै हुँदा समस्यामा पार्ने कम्पनीहरु बताउँछन्।
यहि अवस्थामा अस्वस्थ प्रतिस्पर्धा गर्नु भन्दा कम्पनीहरु नै घटाउन उपयुक्त हुने कम्पनीहरुको तर्क छ। कतिपय कम्पनीले एक चरणमा सबैलाई पूँजी पुर्याउन दिने साथै नयाँ कम्पनीहरुलाई पनि प्राथमिक शेयर निष्काशन गर्न दिए पछि मात्रै मर्जरमा लैजान उपयुक्त हुने कम्पनीहरुले समितिलाई सुझाव दिएका छन्।
समितिका अनुसार पछिल्लो समय प्रतिफल कम देखिन थाले पछि बीमा कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो शेयर बेच्ने कार्यालाई तिब्रता दिएका छन्। बीमामा भन्दा अन्य क्षेत्रमा राम्रो प्रतिफल देखिन थाले पछि बीमा कम्पनीका शेयरधनीहरु बाहिरिन थालेका हुन्।
एक पछि अर्को गर्दै संस्थापक शेयरधनीहरु बाहिरिन थालेसँगै कम्पनीहरुको व्यवसायिक सुनिश्चितताका लागि भए पनि मर्जरमा जानु पर्ने एक अधिकारीले बताए। समितिले केहि समय अगाडि मर्जरलाई प्रोत्साहन दिने गरि निर्देशिका जारी गरेको थियो। जीवन तथा निर्जीवन बीमा कम्पनीहरुका लागि ल्याइएको उक्त निर्देशिकाले मर्जमा जान चाहनलेलाई प्रोत्साहन गरिएको बीमा समितिका विज्ञ भोजराज शर्माले बताए।
समितिले सुरुमा क्रस होल्डिङ भएका कम्पनीलाई मर्जरको लागि बाध्य पार्ने योजना बनाएको देखिन्छ। क्रसहोल्डिङ भएका कम्पनीहरु मर्जरमा गए सँगै बाँकी कम्पनीहरु आफै जोडि खोज्न थाल्ने कम्पनीको आकलन छन्।
कम्पनीहरुको पूँजीको अवस्था हेरेर पूँजी नपुगेका कम्पनीहरुलाई मर्जरमा जान निर्देशन दिन पनि सकिने गरि निर्देशिका आउन सक्ने जनाइएको छ। यसका लागि समितिले पूँजी नपुर्याउने कम्पनीलाई हकप्रदको बाटो रोक्न सक्नेछ।
समितिले कम्पनीहरुलाई बोलाएर मर्जरको मोडालिटीको बारेमा छलफल गर्दै आएको छ। कतिपय कम्पनीले समितिको निर्देशन अनुसारको पूँजी जुटाउन दिने र नयाँ अनुमति पाएका कम्पनीहरुले प्राथमिक शेयर निष्काशन गरे पछि मर्जरमा जान निर्देशन दिदा उपयुक्त हुने सुझाव दिएका छन्।