काठमाडौं। पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार मुद्दा दायर गरेको छ।
राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै मुख्य दुर्इ निर्माण व्यवसायीसहित २१ जना विरुद्ध मुद्दा दायर गरिएको छ।
आयोजना निर्माणको काम गरिरहेको सिटिसिर्इ-कालिका जेभी,परामर्शदाता कम्पनी इआरएमसी-आइटीसिइओ नेपाल जेभी र निर्माणस्थलका टिम लिडरको मिलेमतोमा जानीजानी ठेक्का सम्झौतामा उल्लेख गरिएअनुसार गुणस्तर परीक्षणसमेत नगरी गुणस्तरहीन काम गरिएको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो। उनीहरुमाथि २ अर्ब १३ करोड रुपैयाँको भ्रष्ट्राचारको मुद्दा दायर गरिएको छ।
सिचांइ आयोजनाको मुल नहर भत्किएको, मुल नहरको डिजाइनमा नै त्रुटी तथा निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक कन्सल्टेण्ट निर्माण व्यवसायीले पर्याप्त सुपरिवेक्षण नगरेको पाइएको अख्तियारले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार अनुसन्धानका क्रममा आयोजनाको चेनेज १७ देखि ३५ किमी चेनेजमा सिंचार्इ विभाग तथा सिक्टा आयोजनामा कार्यरत रहेका राष्ट्रसेवक कर्मचारीहरुको संलग्नतामा डिपिआर विना, गलत डिजाइन गरेर हतारमा ठेक्का सम्झौता लिर्इ भ्रष्ट्राचार गर्ने उदेश्य राखेका कारण मुद्दा दायर गरिएको हो।
सरकारले चालु आर्थिक वर्षमा यो आयोजनाका लागि १ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। गत वर्ष यसका लागि १ अर्ब ५८ करोड रुपैयाँ बजेट दिइएको थियो।
राष्ट्रिय गौरवको यो आयोजना निर्माण सुरु भएको १४ वर्ष भएको छ। यो अवधिमा आयोजनामा १५ अर्ब रुपैयाँ पैसा खर्च भए पनि नहर नै भत्किएको थियो।
राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष पाण्डे गत निर्वाचनमा चितवन क्षेत्र नं ३ मा तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालसँग पराजित भएका थिए। पटकपटक मन्त्री भएका पछिल्लो पटक वनमन्त्री थिए। पाण्डे कालिका कन्सट्रक्सनका संस्थापक हुन्।