काठमाडौं । नेपालमा पाइने बहुमूल्य रत्न पत्थर प्रशोधन केन्द्र यसै वर्ष स्थापना हुने भएको छ । सरकारले देशका विभिन्न भागमा टर्मालिन र क्वार्जका गरी करिब एक दर्जन खानीमा उत्खनन्को लागि अनुमति दिएको हो।
त्यसैगरी, काइनाइट, टर्मालिन, क्वार्ज रुबी, गार्नेट, कोरोण्डम लगायतका रत्न–पत्थरका गरी करिब दुई दर्जन स्थानमा अन्वेषणको लागि अनुमति दिएको छ ।
नेपालका उच्च तथा मध्य पहाडी क्षेत्रमा पाइने बहुमूल्य पत्थरको परीक्षण र प्रशोधन गर्ने प्रयोगशाला नहुँदा कौडीको भाउमा विदेश निर्यात हुँदै आएको छ ।
काइनाइट, टर्मालिन, क्वार्ज, एक्वामेरिन, गार्नेट, डेब्युराइट, हेम्बरराइट नेपालमा पाइने बहुमूल्य पत्थरहरु हुन् । यस्ता पत्थरहरुको स्वदेशमै प्रशोधन हुन नसक्दा भ्यालु एड हुन सकेको छैन ।
यसरी उत्खनन् भएका रत्न पत्थर विश्व बजारमा विक्री भइरहे पनि नेपालले उचित मूल्य भने लिन सकेको छैन ।
यिनै पत्थरको प्रशोधनको लागि खानी तथा भूगर्भ विभागले यसै आर्थिक वर्षमा प्रशोधन प्रयोगशाला स्थापना गर्ने भएको हो । प्रयोगशाला स्थापनको लागि दुई करोड रुपैयाँ बजेट विनियोजन भएको विभागका इन्जिनियर एवं सूचना अधिकारी कृष्णदेव झाले जानकारी दिए ।
‘नेपालमा उत्पादन भएका बहुमूल्य पत्थरको प्रशोधन हुन नसक्दा त्यसमा भ्यालु एड हुन सकेको छैन। कुन पत्थर कस्ता हुन भन्ने छुट्टयाउन नसक्दा सरकारले सरकारले पाउने राजश्व पनि गुमिरहेको छ ।
प्रयोगशला स्थापना भएपछि यो समस्याको समाधान हुन्छ’, झाले भने । यस्तो प्रयोगशला काठमाडौंमै बनाउने खानी तथा भू–गर्भ विभागको तयारी छ ।
प्रभावकारी नियमन नहुँदा नेपालमा उत्खनन् भएका यस्ता पत्थर अवैध रूपमा निकासी पनि हुने गरेका छन् । सरकारी ल्याबमा प्रशोधन हुने भएपछि अवैध निकासी पनि रोक्न सकिने विभागको विश्वास छ ।
व्यवसायीहरुले पनि वर्षौदेखि नेपालमै प्रयोगशाला स्थापनाको माग गर्दै आएका छन् । स्वदेशमै प्रयोगशाला नहुँदा नेपालको बहुमूल्य पत्थर पनि निकै कम मूल्यमा विश्व बजारमा विक्री भइरहेको उनीहरुको भनाई छ ।
नेपालमा उच्च पहाडी र हिमाली भेगमा पाइने पत्थर सबैभन्दा गुणस्तरीय रहेको विश्वास गरिन्छ । यस्ता पत्थरहरु थाइल्याण्ड, चीन, अमेरिका र युरोपका बजारमा समेत पुगिरहेका छन् ।
खानी तथा भू–गर्भ विभागले चालु आर्थिक वर्षमै जाजारकोटमा बहुमूल्य रत्थ पत्थरको थप अध्ययनको लागि पनि बजेट विनियोजन गरेको झाले जानकारी दिए ।
जाजरकोट, कालीकोट, अछाम, धादिङ, संखुवासभा, भोजपुर लगायतका जिल्ला बहुमूल्य रत्थ पत्थरको संम्भावित जिल्लामा पर्छन् ।