काठमाडौं। नेपाल राष्ट्र बैंक र बीमा समितिको पूँजी बृद्धि गर्ने निर्देशन सकिन लागेसँगै हकप्रद र बोनस शेयरको निष्कासनको दर पनि घट्न थालेको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजी एकै पटक चारगुनाले बढाउन निर्देशन दिएसँगै अधिकांश बैंक तथा वित्तीय संस्थाले हकप्रद र बोनस शेयरको बाटो रोज्दा आर्थिक वर्ष २०७३/७४ मात्रै ४५ अर्ब ६४ करोड रुपैयाँको हकप्रद शेयर र ३४ अर्ब ७९ करोड रुपैयाँ बोनस शेयर जारी गरेका थिए।
त्यस्तै चालु आर्थिक वर्षमा बोनस शेयर ३३ अर्ब २ करोड रुपैयाँ र हकप्रद शेयर २५ अर्ब ३९ करोड रुपैयाँ जारी गरेका थिए। चालु आर्थिक वर्षमा गत वर्षको भन्दा ७९.७४ प्रतिशतले हकप्रद निष्कासन घटेको छ।
किन घट्यो हकप्रद शेयर
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति मार्फत बाणिज्य बैंकको न्युनतम चुक्ता पूँजी ८ अर्ब विकास बैंकको २ अर्ब ५० करोड रुपैयाँ, तीन देखि १० जिल्ले विकास बैंकको एक अर्ब २० करोड रुपैयाँ, तीन जिल्ले विकास बैंकको ५० करोड रुपैयाँ, राष्ट्रिय स्तरको फाइनान्सको ८० करोड रुपैयाँ पूँजी पुर्याउन निर्देशन दिएको थियो।
पूँजीको लागि बैंकहरुले मर्जरको पोलिसी भन्दा पनि हकप्रद र बोनस शेयरको बाटो रोज्दा अघिल्लो आर्थिक वर्षमा बोनस र हकप्रद शेयरको निष्कासन बढेको हो।
हकप्रद र बोनस शेयरको बहार
आर्थिक वर्ष | बोनस शेयर | हकप्रद शेयर | ||
संख्या | रकम | संख्या | रकम | |
२०७३/७४ | 352698899 | 34795992768 | 456424142 | 45642414201 |
२०७४/७५ | 338078716 | 33025929713 | 253941886 | 25394188675 |
बृद्धि (%) | -4.32 | -5.36 | -79.74 | -79.74 |
त्यस्तै बीमा समितिले चालु आर्थिक वर्ष भरीमा जीवन बीमा कम्पनीले दुर्इ अर्ब र निर्जीवन बीमा कम्पनीले एक अर्ब रुपैयाँ पूँजी जुटाउनु पर्ने निर्देशन गर्यो। यसअघि जीवन बीमा कम्पनीको चुक्ता पूँजी २५ करोड रुपैयाँ मात्रै थियो।
बीमा कम्पनी, बैंक तथा वित्तीय संस्थाले पूँजीको लागि हकप्रद र बोनस शेयर जारी गर्ने क्रममा दुर्इ आर्थिक वर्ष भरीमा एक खर्ब ३८ अर्ब रुपैयाँ जारी गरेका छन्।
जसमा ६७ अर्ब ८२ करोड रुपैयाँ कम्पनीले आफ्नो आम्दानीबाट बोनस प्रदान गरेका छन् भने ७१ अर्ब तीन करोड रुपैयाँ लगानीकर्तालार्इ भार बोकाएका छन्।
आर्थिक वर्ष २०७३/७४ मा बैंकहरुले बाध्य भएर पूँजी बढाउनु पर्ने बाध्यतामा रहेकोले उक्त वर्ष हकप्रद शेयर धेरै निष्कासन भएको हो।
त्यस्तै चालु आर्थिक वर्षमा बीमा कम्पनीले बढी हकप्रद शेयर निष्कासन गरेका छन्। बैंकहरुले भने कम हकप्रद निष्कासन गरेका छन्।
दोस्रो बजारमा ओभरसप्लाइ
नेपाल राष्ट्र बैंक र बीमा समितिले पूँजी बृद्धि योजना ल्याएसँगै शेयर बजार एकाएक बढ्यो। पूँजी बृद्धि योजना अगाडि एक हजार हाराहारीमा रहको नेप्से सूचक हकप्रद र बोनस शेयरको आकांक्षामा बढेर १८८१ विन्दुसम्म पुग्यो।
बोनस र हकप्रद पाउने भन्दै गर्दा बजारमा शेयर सप्लाइ कम थियो। शेयर सप्लाइ कम हुँदा बजार ह्वात्तै उकालो लागेको विश्लेषक सुरज अधिकारी बताउँछन् ।
हकप्रद र बोनसबाट बजारमा विस्तारै शेयर सप्लाइ बढ्न थालेपछि बजार पनि घट्न थालेको उनको भनाई छ।
विश्लेषक प्रकाश तिवारीका अनुसार थोरै शेयर संख्या हुँदा महँगोमा शेयर बिक्री गरेर तीनै लगानीकर्ताले हकप्रद खरिद गरेका हुन्।