बीमा समितिको निर्देशनपछि खेतानले प्राइमबाट राजिनामा, एभरेष्टको अध्यक्ष

बिजमाण्डू
२०६९ भदौ २६ गते ००:०० | Sep 11, 2012

काठमाडौं । बीमा समितिले एउटै व्यक्ति दुई बीमा कम्पनीको सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था गरेपपछि व्यवसायी राजेन्द्र खेतानले प्राइम लाइफ इन्स्योरेन्स छाडेका छन् । समितिले दुई साताअघि जारी गरेको ‘संस्थागत सुशासन सम्वन्धि निर्देशिका–२०६९’ अनुसार एउटै व्यक्ति दुई कम्पनीको सञ्चालक तथा एकाघर परिवारको व्यक्ति एउटै संस्थामा बस्न पाइदैन ।

Tata
GBIME
Nepal Life

बीमा समितिको नयाँ निर्देशनपछि प्राइम लाइफ र एभरेस्ट इन्स्योरेन्स दुवैका अध्यक्ष रहेका राजेन्द्र खेतानले प्राइमलाई छाडेका हुन् । प्राइममा राजेन्द्रका भाइ प्रेमप्रकास (पिपी) खेतान पनि सञ्चालक छन् । अब प्राइममा खेतान समुहका तर्फबाट पिपी मात्र हुने छन् । समितिले निर्देशन पालनाका लागि ६ महिनाको समय दिएको थियो । खेतानले भने निर्देशन आएको दुई साता भित्रै प्राइम अध्यक्षबाट राजिनामा गरेका हुन् ।
प्राइम र एभरेस्टमा दुवै ठाउँमा रतनलाल संघाइ र मधुसुदन अग्रवाल पनि  सञ्चालक छन् । तर खेतान वाहेक कसैले पनि पद छाडेका छैनन् । उनीहरुले पनि पद छाड्ने वारेमा छलफल भइरहेको स्रोतले जानकारी दियो ।

लामो समयदेखि सिंगापुरमा रहेका खेतान गैरआवसिय नेपाली संघको क्षेत्रीय सम्मेलनमा भाग लिन अस्टे«लिया गएका थिए । अस्टे«लियाबाट फर्किए लगत्तै उनले राजिनामा गरेको स्रोतले बतायो । अन्य कम्पनीमा पनि एकाघर परिवारका सदस्यहरु सञ्चालक छन् । तर उनीहरुले अहिलेसम्म पद छाडिसकेका छैनन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा अध्यक्ष र सञ्चालक रहेका संघाइ ग्रुपका दाजुभाइभध्ये एकले कम्पनी छाड्नु पर्ने छ । कम्पनीमा दाजु पुरुषोत्तमलाल संघाइ अध्यक्ष छन् भने भाइ गोविन्दलाल संघाइ सञ्चालक छन् । संघाइ समुहकै विरेन्द्रकुमार संघाइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा सञ्चालक छन् ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनमा सञ्चालक रहेका अशोककुमार अग्रवाल र राजेन्द्रकुमार अर्याल प्रुडेन्सिय इन्स्योरेन्समा पनि छन् । अर्याल सञ्चालककै अधिकार लिएर प्रुडेन्सियलमा कर्पोरेट सल्लाहकार छन् । कारोबार रोक्का भएको एनबी इन्स्योरेन्स कम्पनीमा परिवारका तीन जना  सञ्चालक समितिमा छन् । जितवहादुर श्रेष्ठ अध्यक्ष छन्, उनका भाइ लक्ष्मीवहादुर श्रेष्ठ र छोरा जेन श्रेष्ठ सञ्चालक समिति सदस्य छन् । १५ करोड रुपैयाँभन्दा वढी घोटाला गरेपनि कम्पनीलाई समितिले कारवाही गरेको हो ।

प्रिमियर इन्स्योरेन्स कम्पनीमा पनि एकाघरका सञ्चालक  धेरै छन् । रामलाल श्रेष्ठ अध्यक्ष रहेको कम्पनीमा उनका छोरा सुरेसलाल श्रेष्ठ प्रबन्ध सञ्चालक छन् । समितिको नयाँ निर्देशनले एकाघर परिवारको सदस्य सञ्चालक समितिमा वस्न नपाउनुका साथै सञ्चालकले व्यवस्थापनको जिम्मेबारी लिनसमेत पाउने छैन । उनी कम्पनीमा सुरेसलाल प्रबन्ध सञ्चालक छन् । प्रिमियर इन्स्योरेन्समा एकाघर परिवारका वालकृष्ण श्रेष्ठ, विजयकृष्ण श्रेष्ठ र मदनकृष्ण श्रेष्ठ सञ्चालक छन् । हिमालयन जनरल इन्स्योरेन्समा राजकृष्ण श्रेष्ठ अध्यक्ष छन् । उनको एकाघर परिवारका महेन्द्रकृष्ण श्रेष्ठ, सन्नी श्रेष्ठ, विक्रमकृष्ण श्रेष्ठ सञ्चलक छन् । श्रेष्ठ समुहले भर्खरै मात्र समिट होटल ५३ करोड रुपैयाँमा खरीद गरेका छन् ।

गुँरास लाइफ इन्स्योरेन्समा दुगडहरुको एकाघर परिवारको लगानी छ । मोती दुगड अध्यक्ष छन् भने सदस्यमा मालचन्द दुगड छन् । समितिको निर्देशनले मारवाडी कमिटि र नेवार समुदायलाई वढी प्रभावित पार्ने छ । यि समुदायको लगानी बीमा कम्पनीहरुमा छरिएको छ ।
समितिको निर्देशन अनुसार, कम्पनीहरुले एकाघर परिवारको व्यापार गर्न पाउने छैनन् । निर्देशनले आफ्नै संस्था तथा फर्महरुको समेत बीमा गर्दै व्यापार वढाइरहेका कम्पनीहरुलाई समस्या पार्ने छ । सञ्चालकहरुले आफ्नै निजी कम्पनीमा गरेको व्यापारमा समस्या धेरै पाएपछि निर्देशन जारि गरिएको हो । आफैले वीमा गरेर आफैले भुक्तानी लिँदा कोषको व्यापाक दुरुपयोग भएको समितिले भेटेको थियो ।