सरकारका ३७ संस्थान, २१ नाफामा, १४ घाटामा, नाफाघाटाको विवरण पनि

बिजमाण्डू
२०६९ असार ३० गते ००:०० | Jul 14, 2012

काठमाडौं । सरकारी स्वामित्वमा रहेका ३७ संस्थानमध्ये २१ संस्थान खुद मुनाफामा र १४ संस्थान नोक्सानमा रहेको विवरण अर्थमन्त्रालयले सार्वजनिक गरेको छ । शनिवार जारी गरेको संस्थानसम्वन्धी प्रगति विवरण अनुसार चालु आर्थिक वर्षमा छ अर्ब ६७ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरे । तर यो नाफा गतवर्षभन्दा तीन अर्ब ९० करोडले कमी हो । गतवर्ष सरकारी संस्थानले १० अर्ब ५५ करोड मुनाफा गरेका थिए ।
नेपाल विद्युत प्राधिकरण छ अर्ब ९ करोड र नेपाल आयल निगम पाँच अर्ब ११ करोड रुपैयाँ घाटामा भएका कारण सरकारी संस्थानको खुद नाफा घटेको अर्थमन्त्री वर्षमान पुनले बताए ।
सरकारले २७ वटा संस्थान र ११ वटा विकास समितीमा एक खर्ब ५१ अर्ब ८५ करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ, यसमध्ये दुई संस्था नेपाल इञ्जिनियरिङ कन्सल्टेन्सी र जलविद्युत लगानी तथा विकास कम्पनीले अहिलेसम्म कारोवार गरेका छैनन् ।
सरकारले यी सार्वजनिक संस्थानहरुमा ९२ अर्ब शेयर लगानी, ९५ अर्ब १६ करोड रुपैयाँ ऋण लगानी गरेको छ । गतवर्षभन्दा यो वर्ष सरकारले ११ प्रतिशत शेयर लगानी र १२ प्रतिशत ऋण लगानी बढाएको छ । लगानी गरेको संस्थानहरुबाट सरकारलाई यो र्ष पाँच अर्ब ४९ करोड ७२ लाख रुपैयाँ लाभांस प्राप्त भएको छ । सबैभन्दा बढी नेपाल टेलिकमले सरकारलाई लाभांस दिएको छ ।
आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षका लागि दिएको संसोधित अनुमान अनुसार दुग्ध विकास संस्थान नौ करोड ७१ लाख, जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र एक करोड तीन लाख, उदयपुर सिमेन्ट उद्योग २६ करोड ५४ लाख र नेपाल ओरिण्ड म्याग्नेसाइट सात करोड छ लाख रुपैयाँ घाटामा छ । औद्योगिक क्षेत्रका संस्थानमा मुनाफा गर्ने एक मात्र संस्थान हेटौडा सिमेन्टले आठ करोड ७७ लाख रुपैयाँ मुनाफा गरेको छ ।
व्यापारिक क्षेत्रमा कृषि सामाग्री कम्पनीले चालु आर्थिक वर्षमा २३ करोड ९६ लाख आम्दानी गर्दै छ भने खाद्य संस्थानले २५ करोड १५ लाख, टिम्वर कर्पोरेशनले १२ करोड ३१ लाख नाफा गर्दैछन् । नेपाल आयल निगम यो वर्ष ११ अर्ब ३५ करोड ६८ लाख रुपैयाँ घाटामा जाँदैछ ।
औद्योगिक क्षेत्र व्यवस्थापन कम्पनी एक करोड ४४ लाख, नेपाल पारवहन तथा गोदाम कम्पनी एक करोड ४५ लाख राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र ६३ लाख रुपैयाँ घाटामा जाँदैछन् । यो क्षेत्रमा नेपाल वायु सेवा निगम १५ करोड ७४ लाख र नागरिक उडड्यन प्राधिकरण दुई अर्ब ५६ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गर्दैछ ।
सामाजिक क्षेत्रका संस्थानमध्ये सांस्कृतिक संस्थान ३४ लाख, गोरखापत्र ४८ लाख, जनक शिक्षा सामाग्री सात करोड १९ लाख रुपैयाँ घाटामा जाँदैछन्, नेपाल टेलिभिजनले २४ लाख रुपैयाँ र ग्रामिण आवास कम्पनीले दुई करोड ४५ लाख रुपैयाँ आम्दानी गर्दैछ । जनउपयोगी संस्थानमध्ये नेपाल खानेपानी संस्थान ३२ लाख, विद्युत प्राधिकरण आठ अर्ब २३ करोड ३७ लाख घाटामा छ भने यो क्षेत्रका नेपाल टेलिकमले सबै सार्वजनिक संस्थानमा सबैभन्दा बढी १२ अर्ब ९५ करोड रुपैयाँ नाफा आर्जन गर्दैछ ।
कृषि विकास बैंक २१ करोड १४ लाख, राष्ट्रिय विमा संस्थान (जीवन) ९९ करोड २१ लाख, निर्जीवन १० करोड ३५ लाख रुपैयाँ, एनआईडिसी ४१ करोड ७२ लाख रुपैयाँ, राष्ट्रिय बाणिज्य बैंक एक अर्ब १३ करोड ९७ लाख रुपैयाँ, निक्षेप तथा कर्जा सुरक्षण निगम १९ करोड २ लाख रुपैयाँ, नेपाल आवास फाइनान्स तीन करोड ८१ लाख रुपैयाँ, नेपाल स्टक एन्सचेञ्ज सात करोड ९ लाख रुपैयाँ, नागरिक लगानी कोष १८ करोड चार लाख रुपैयाँ, जलविद्युत लगानी तथा विकास कम्पनी ४० करोड नाफामा जाँदैछन् ।

Tata
GBIME
Nepal Life

संस्थान प्रगति विवरणको पूर्ण जानकारी लिनका लागि तलको लिंक क्लिक गर्नुहोस्
http://mof.gov.np/files/yellow/2011/pdf/nepali.pdf