विदेशी च्यानलको एजेण्ट प्यासिफिक ट्रेडर्समा राजस्वको छापा, ल्यापटप सिपियु र बिल नियन्त्रणमा

बिजमाण्डू
२०६९ पुष १८ गते ००:०० | Jan 2, 2013

काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधवार काठमाण्डौ, कमलादीस्थित हेरिटेज प्लाजामा रहेको प्यासिफिक ट्रेडर्समा छापा मारेको छ । राजेशदेव प्रधान संचालक रहेको उक्त ट्रेडर्सले विभिन्न विदेशी टेलिभिजन च्यानलको एजेन्ट भई स्थानीय केवल टेलिभिजन संचालकलाई विक्री वितरण गर्ने गरेको छ ।
ट्रेडर्सले नेपाल सरकारलाई बुझाउनु पर्ने मूल्य अभिवृद्धि कर र आयकर छलेको समबन्धमा उजुरी आएपछि विभागले छापा मारेको हो । छापा मार्ने क्रममा ट्रेडर्सको कारोवारसँग सम्बन्धित दुई थान ल्यापटप, एउटा सिपीयू र विभिन्न स्थानीय केवल टेलिभिजनसँग गरेको सम्झौता पत्र, खरीद–विक्री रजिष्टर लगायतका सामग्रीहरु विभागले नियन्त्रणमा लिएको छ ।
ट्रेडर्समा छापा मार्न विभागका निर्देशक नरबहादुर थापाको नेतृत्वमा शाखा अधिकृत अर्जुन थापा, महेन्द्र श्रेष्ठ, ठाकूर गैरे, सूर्य नकर्मी लगायतको टोली परिचालन गरिएको विभागले बुधवार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । ट्रेडर्सले गरेको कारोवार तथा तिर्नुपर्ने नियमानुसारको राजस्व सम्बन्धमा विहिवारबाट विस्तृत अनुसन्धान हुने विभागले जानकारी दिएको छ ।
यसअघि विभागले नारायणगढमा कपडा विक्रि गर्ने फर्म, वल्र्ड लिंक, हाइल्याण्ड डिष्ट्रिलरी, टिएम दुगड ब्रदर्स, लुम्बिनी चिनी उद्योग लगायतमा छापा मारेको थियो । छापा मारेपछि सूचना जानकारी दिए पनि विभागले कारवाहीको विवरण भने अहिलेसम्म पनि गोप्य राख्ने गरेको छ ।
यो पनि पढ्नुहोस्

Tata
GBIME
Nepal Life

भर्जिन ह्वीस्की उत्पादन गर्ने आईसिटीसीको हाइल्याण्डमा छापा, कागजात नियन्त्रणमा, अनुसन्धान जारी

http://bizmandu.com/content/-1849.html