उपभोक्ता शोषण गरेर व्यवसायी पोस्दै आयल निगम, मूल्य बढाएर कमिसनमा वृद्धि

२०६९ पुष ८ गते ००:००

काठमाडौं । नेपाल आयल निगमले तेलको मूल्य घढबढ गर्दा पेट्रोलियम व्यवसायीको कमिसन समेत बढाएको छ । निगम उच्च स्रोतका अनुसार व्यवसायीको अनुकुल हुने गरी एक किलोलिटरमा पाँच सय रुपैयाँ बढाएको हो ।  घाटा कम गर्न भन्दै मूल्यवृद्धि गरेको दावी गर्ने निगम व्यवस्थापनले व्यवसायीको मुनाफा बढाएर थप भार बोकेको छ ।
‘निगमले मूल्यवृद्धि गरेर उपभोक्तालाई भार बोकाउने काम गरेका छ भने अर्कोतिर व्यवसायीको कमिसन बढाएर निगमलाई कुनै राहत नहुने निर्णय गरेको छ,’ निगमका एक कर्मचारीले भने, ‘व्यवसायीको हित हेरेर निगम व्यवस्थापनले लाभ लिएको छ ।’ तेलको कमिसन कम भएको भन्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले ६ महिना अघि निगमसमक्ष मागपत्र पेस गरेको थियो ।
 मागपत्र पेस गरेपछि एसोसिएसनले कुने दबाब दिएको थिएन । तर अचानक निगम व्यवस्थापनले तेलको मूल्यवृद्धि गर्दा व्यवसायीलाई कमिसन बढाएर गुन लगाएको ती कर्मचारीले बताए । ‘व्यवसायीले भित्रभित्रै कमिसन बढाउन चलखेल गरिरहेका थिए । उनीहरुले कमिसन बढाउनै विभिन्न क्षेत्रबाट रकम समेत उठाएका थिए,’ उनले भने, ‘रकम उठाएर निगमका उच्च व्यवस्थापनलाई बुझाएपछि निर्णय भएको हुनसक्छ ।’ तर निगमका व्यवस्थापन पक्ष भने व्यवसायीले कमिसनको माग बढाउन दबाब दिएपछि वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमको प्राविधिक टोलीले दिएको अध्ययन अनुसार कमिसन बढाएको दावी गरेको छ ।


Sunrise Bank
TATA
GBIME