कुमारीको सात, क्लिन इनर्जीको १० र इन्टरनेशनल लिजिङको ६.७० प्रतिशत नगद लाभांस

बिजमाण्डू
२०६९ मंसिर १७ गते ००:०० | Dec 2, 2012

काठमाडौं । एउटा बाणिज्य बैंक र दुईवटा विकास बैंकले लाभांस प्रस्ताव गरेको आइतवार घोषणा गरेका छन् । कुमारी बैंकले सेयरधनीलाई सात प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको छ । बैंकले गतवर्ष सेयरधनीलाई आठ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । बैंकले बोनस सेयरका लागि कर प्रयोजनमा दिनुपर्ने ०.४४ प्रतिशत नगद लाभांस पनि दिएको थियो । बैंकले अघिल्लो आर्थिक वर्षमा २७ करोड ५६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । त्यस अघिल्लो वर्ष बैंकको मुनाफा २५ करोड १२ लाख रुपैयाँ थियो । बैंकको बिहिवार बसेको सञ्चालक समितिको बैठकले लाभांस प्रस्ताव गरेको हो ।
स्टक बजारमा बैंकका एक करोड ६० लाख कित्ता सेयर सूचिकृत छन् । बैंकको अन्तिम कारोवार प्रतिकित्ता २६६ रुपैयाँमा भएको थियो ।
क्लिन इनर्जी विकास बैंकले पनि सेयरधनीलाई १० प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको छ । बैंकको शुक्रवार बसेको सञ्चालक समितिको बैठकले नगद लाभांस प्रस्ताव गरेको हो । अघिल्लो वर्ष बैंकले सेयरधनीलाई ५.६ प्रतिशत नगद लाभांस दिएको थियो । बैंकले अघिल्लो वर्ष १३ करोड ६७ लाख रुपैयाँ मुनाफा गरेको थियो । त्यसअघिल्लो वर्ष बैंकको मुनाफा ११ करोड १२ लाख रुपैयाँ मुनाफा कमाएको थियो । बैंकका एक करोड आठ लाख कित्ता सेयर सूचिकृत छन् । बैंकको अन्तिम कारोवार प्रतिकित्ता १७८ रुपैयाँमा भएको थियो ।
इन्टरनेशनल लिजिङ एण्ड फाइनान्सले पनि सेयरधनीलाई ६.७० प्रतिशत नगद लाभांस प्रस्ताव गरेको छ । बैंकको शुक्रवार बसेको सञ्चालक समितिले यो लाभांस प्रस्ताव गरेको हो । बैंकले गतवर्ष पाँच प्रतिशत नगद लाभांस दिएको थियो । बैंकका दुई करोड कित्ता सेयर नेप्सेमा सूचिकृत छन् । बैंकको पुँजी संरचना वाणिज्य बैंकमा स्तरोन्नती गर्न सक्ने गरी तयार गरिएको छ । बैंकले बाणिज्य बैंकमा स्तरोन्नतीका लागि पटक पटक प्रयास गर्दै आए पनि सफल भने हुन सकेको छैन् ।

Tata
GBIME
Nepal Life