दसैंका लागि ८० हजार खसीबोका, १५ हजार च्याङग्रा, मूल्य पनि बढ्दै

बिजमाण्डू
२०६९ असोज २२ गते ००:०० | Oct 8, 2012
दसैंका लागि ८० हजार खसीबोका, १५ हजार च्याङग्रा, मूल्य पनि बढ्दै

वसन्त खड्का/काठमाडौ
दसैका लागि काठमाडौ उपत्यकामा ८० हजार खसीबोका तथा १५ हजार भेडाच्याङ्ग्रा  ल्याइने भएको छ । दसैमा मासुको खपत बढी हुने भएकोले व्यवसायीले यो परिमाणको खसीबोका ल्याउन लागेका हुन् । भेडाच्याङ्ग्रा हिमाली भेग र तिब्बतबाट आउने गर्छ । दसैका लागि अहिले दैनिक पाँच ट्रक खसीबोका राजधानी भित्रिरहेको छ ।  दसैमा  उपत्यकामा भित्रने अधिकांश खसीबोका  स्वदेशबाटै आउने चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले बताए । उनका अनुसार अरु बेलामा सबै भारतबाट खसीबोका आउने भएपनि दसैको बेलामा गाउँगाउँबाट खसी बिक्री गर्न आउँछन् ।
 तर नेपालको खसीबोकाले दसैको बेलामा धान्दैनन् । दसैमा आउने अधिकांश खसीबोका भारतबाट आउने गरेको अर्का एक व्यवसायीले बताए ।
‘स्वदेशी खसीबोकाले नधान्ने भएकोले भारतमै निर्भर हुनुपर्छ,’ ती व्यवसायीले भने । नेपाल खाद्य संस्थानले समेत स्वदेशको खसीबोका नपाउने भएपछि भारतबाटै ल्याउने तयारी गरेको छ ।
‘हामीले पहिलो प्राथमिकता नेपाललाईनै दिएका छौ । तर नेपालमा खसीबोकानै पाइएको छैन,’ संस्थानका उच्च अधिकारीले भने, ‘त्यसैले हामीले भारतबाट ल्याउनेतर्फ सोच्दैछौ ।’
मूल्य के होला ?
दसैको बेलामा खसीबोकाको मूल्य केही बढ्नेछ । व्यवसायीहरुका अनुसार प्रहरीले दसैमा खसीबोका बोकेर आउने ट्रकसँग अवैध असुली गरेकोले महँगो हुने सम्भावना रहन्छ । ‘खसीबोका लिएर आएका ट्रकलाई विभिन्न प्रहरी चेकपोष्टमा अवैध रुपमा रकम उठाउने गरिएको छ,’ पाठकले विजमान्डूलाई भने, ‘त्यसले खसीबोकाको मूल्य बढाउनेछ ।’ व्यवसायीहरुले दसैमा खसीबोकाको मूल्य तय गरेका छैनन् । संस्थानले खसीबोकाको मूल्य तोकेपछि व्यवसायीले मूल्य तोक्छन् ।
‘अहिलेनै मूल्य तोक्दा हाम्रो नविक्ने समस्या हुनसक्छ,’ ती व्यवसायीले भने । ती व्यवसायीका अनुसार भारतीय विचौलियाका कारण यो वर्ष खसीबोकाको मूल्य केही महँगो पर्ने देखिएको छ । अहिले जिउँदो खसीको मूल्य तीन सय ५० को हाराहारीमा छ । विगतका वर्षमा समेत व्यवसायीले यही प्रक्रिया अनुसार मूल्य तोकेका थिए ।दुईवर्ष अघि संस्थानले ल्याएको खसीबोका बढी बिकेर व्यवसायीले बिकेका थिएनन् । त्यसबेला धेरै व्यवसायी नोक्सानीमा परेका थिए ।

Tata
GBIME
Nepal Life