नेप्से : चिलिमेले गर्यो बाउन्स ब्याक, बुटवल पावरको ठूलो वृद्धि, चार्टड पनि फर्ममा आयो

बिजमाण्डू
२०६९ असोज २१ गते ००:०० | Oct 7, 2012
नेप्से : चिलिमेले गर्यो बाउन्स ब्याक, बुटवल पावरको ठूलो वृद्धि, चार्टड पनि फर्ममा आयो


काठमाडौं । आइतबार बजार खुलेपछि बजार पुँजीकरणका आधारमा नेपाल टेलिकमले एक खर्ब रुपैयाँ पुग्ने पहिलो कम्पनी बनेको छ । आइतवार टेलिकमका केही सेयर प्रतिकित्ता ६९० रुपैयाँसम्म कारोवार भएको थियो । तर बजार बन्द हुँदा टेलिकमको सेयर तल झरेर कारोवार भयो । तै पनि टेलिकम विहिवारको तुलनामा प्रतिकित्ता चार रुपैयाँ बढेपछि आइतवार एक खर्बको कम्पनी बन्नका लागि ४० करोड रुपैयाँ मात्रै पछि छ । प्रतिकित्ता ६६४ रुपैयाँमा बजार बन्द भएपछि टेलिकमको चुक्ता पुँजी ९९ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । प्रतिकित्ता तीन रुपैयाँले बढे टेलिकमको चुक्ता पुँजी एक खर्ब रुपैयाँ नाघ्नेछ । टेलिकमको वृद्धिले अन्य समूहको सूचक ५.८७ अंकले बढ्यो ।
चिलिमेको चाँदी
बुक क्लोजरपछि तल झरेको चिलिमे जलविद्युतको सेयरले बाउन्स ब्याक गर्दै प्रतिकित्ता एक हजार रुपैयाँको सिमा पार गरेको छ । ३० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको चिलिमेको बुक क्लोजिङपछि सेयर आठ सय रुपैयाँको हाराहारीमा झरेको थियो । आइतवार चिलिमेको सेयर प्रतिकित्ता ३५ रुपैयाँले बढेर १००५ रुपैयाँमा कारोवार भयो ।
आइतवार बुटवल पावर कम्पनीको सेयर मूल्यमा समेत ठूलो वृद्धि भयो । बुटवल पावरले यसै साता लाभांसको घोषणा गर्ने सम्भावनाका कारण कम्पनीको सेयर मूल्यमा ठूलो वृद्धि भएको हो । बुटवल पावरको प्रतिकित्ता ४२ रुपैयाँ बढेपछि ७९० रुपैयाँ पुगेको छ । आइतवार अरुण भ्यालीको सेयर मूल्य समेत १४ रुपैयाँले बढेर कारोवार भयो । जलविद्युतका तीन कम्पनीको सेयर मूल्य बढ्दा समूह सूचक ३४.३४ अंकले बढ्यो ।
स्थगित भएको झण्डै एक महिनापछि कारोवार सुरु भएको एभरेष्ट इन्सुरेन्सले पनि आइतवार ठूलै वृद्धि देख्यो । एभरेष्ट इन्सुरेन्सको प्रतिकित्ता २१ रुपैयाँ बढेपछि ३८५ रुपैयाँमा कारोवार भयो । गुँरास लाइफको १२ रुपैयाँले बढेर १८२ रुपैयाँमा कारोवार भयो । गुँरास लाइफका सोमवार ४८ लाख रुपैयाँको सेयर कारोवार भयो ।
एभरेष्ट बैंकको सेयर १४ रुपैयाँले बढेर ११३० रुपैयाँमा, नबिल बैंकको २० रुपैयाँले बढेर ११४५ मा, स्ट्याण्डर्ड चार्टडको ४९ रुपैयाँले बढेर १७४९ रुपैयाँमा कारोवार भयो । यी तीन बैंकको वृद्धिले बाणिज्य बैंक समूहको सूचकमा समेत राम्रै वृद्धि भयो । बाणिज्य बैंक, इन्सुरेन्स, अन्य समूह र जलविद्युत समूहले लामो समयपछि वृद्धि पाउँदा नेप्से सूचक ४.३७ अंकले बढ्यो ।

Tata
GBIME
Nepal Life