चिलिमे पुरानै लयमा फर्कंदै, टेलिकमको वृद्धि पनि रोकिएन, नेरुडेलाई जोरको झट्का

बिजमाण्डू
२०६९ असोज १६ गते ००:०० | Oct 2, 2012
चिलिमे पुरानै लयमा फर्कंदै, टेलिकमको वृद्धि पनि रोकिएन, नेरुडेलाई जोरको झट्का


काठमाडौं । टेलिकमको वृद्धि मंगलवार पनि रोकिएन । मंगलवार प्रतिकित्ता तीन रुपैयाँले बढेर प्रतिकित्ता ६२१ रुपैयाँमा कारोवार भयो । टेलिकमको सेयर मूल्य पाँच रुपैयाँले बढेपछि त्यसको असर पुरै बजारमा पर्यो । टेलिकमको वृद्धिले नेप्से सूचक ०.४१ अंकले बढ्यो भने अन्य समूह ५.८८ अंकले बढ्यो ।
जलविद्युत र बैकिङ्ग क्षेत्रका ठूला कम्पनीले निराशाजनक लाभांस घोषणा गरेपछि लगानीकर्ता टेलिकमतर्फ सिफ्ट भएका हुन् । यही बीचमा टेलिकमका रणनीतिक साझेदार भित्र्याउने चर्चा बढेपछि टेलिकमको सेयर ओरालो लागेको छैन । एक महिना अघिसम्म टेलिकमको सेयर ५८० वरिपरि कारोवार भैरहेको थियो भने दुई महिना अघिसम्म ५२० रुपैयाँको वरिपरि कारोवार भैरहेको थियो ।
मंगलवार स्टकमा जलविद्युत समूहका कम्पनीले पनि राम्रै प्रदर्शन गरे । चिलिमे र बुटवल पावरको सेयर मूल्य बढ्यो । बुक क्लोजपछि तल झरेको चिलिमेको सेयरले पनि विस्तारै रफ्तार लिन थालेको छ । मंगलवार चिलिमेको सेयर मूल्य २८ रुपैयाँले बढेर प्रतिकित्ता ९०० रुपैयाँमा कारोवार भयो । अरुणभ्यालीको सेयर मूल्य नौ रुपैयाँले तल झरेर कारोवार भयो ।
चिलिमेको सेयर मूल्य बढेपछि जलविद्युत समूहको सूचक १०.१७ अंकले बढ्यो । मंगलवार इन्सुरेन्स समूहका कम्पनीको मिश्रीत प्रतिक्रिया आयो । सूर्यलाइफ इन्सुरेन्स प्रतिशतका आधारमा सबैभन्दा बढी मूल्य बढ्ने कम्पनी रह्यो भने नेपाल लाइफ इन्सुरेन्स कम्पनीका सेयरधनीले गुमाउनुपर्यो । नेपाल लाइफ इन्सुरेन्सको १०६ रुपैयाँले तल झरेर १२०८ रुपैयाँमा कारोवार भयो ।
नेरुडेलाई झड्का
गतवर्षभन्दा झण्डै आधा लाभांस घोषणा गरेको नेरुडे लघुवित्त विकास बैंकको सेयर मूल्य मंगलवार २३ रुपैयाँले तल झर्यो । नेरुडेल मंगलवार मात्रै १५ प्रतिशत बोनस सेयर र १०.७९ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको थियो । बैंकले गतवर्ष ४० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस दिएको थियो । नेरुडेको मंगलवार प्रतिकित्ता ३८७ रुपैयाँमा कारोवार भयो ।

Tata
GBIME
Nepal Life