
(विक्रम संवत् १९९५ देखि २०१७ सालसम्म नारायणहिटी राजदरबारमा मीर सुब्बा रहेका दयारामभक्त माथेमाले लेखेको अप्रकाशित दस्तावेज दया फाउन्डेसनले 'अनुभव र अनुभूति : जीवनयात्राका ऐतिहासिक मोड' शीर्षकको पुस्तकका रुपमा लोकार्पण गरेको छ। यो अंश त्यही पुस्तकबाट लिइएको हो। यो प्रसङ्ग विक्रम संवत्२०४० देखि २०४१ साल बीचको हो। यहाँ उल्लेख भएका दुई नाममध्ये एक महाराज भनेर तत्कालीन राजा विरेन्द्र शाह तथा भुवन भनेर उल्लेख गरिएका व्यक्ति दयारामभक्त माथेमाका नातेदार भुवनेश्वरअमात्य हुन्।)
राजा त्रिभुवनका साथमा दयारामभक्त माथेमा
एक दिन अफिसमा फोन आयो।
'म देव मैत्रा बोल्दै छु। कलकत्तामा अमेरिकन एक्सप्रेसमा काम गरेको बेला तपाइँसँग परिचय भएको थियो। हाल नेपाल आएको छु। तपाइलाई भेट्नु परेको छ । के गरुँ?'
अर्को पट्टीबाट चिरपरिचित आवाज आयो।
'हुन्छ, मेरो अफिसमै आउनुहोस न' मैले औपचारिकता पूरा गर्दै उहाँलाई आमन्त्रण गरें।
केही छिनमा उहाँ आइपुग्नुभयो। हाम्रो भेट धेरै वर्षपछि भैरहेको थियो। हाल उहाँ अमेरिकन एक्सप्रेस छोडी दुबईस्थित दुबई बैङ्कमा काम गरिरहनुभएको रहेछ। उहाँ बैंककै कामको सिलसिलामा यहाँ आउनुभएको रहेछ।
उहाँले आफ्नो कुरा राख्न थाल्नुभयो "तपाइँहरुले मद्दत गर्नुभयो भने धेरै राम्रो हुनेछ। नेपालमा दुबई बैङ्कको ज्वाइन्ट भेञ्चरमा बैङ्क खोल्ने प्लान लिएर आएको छु। यसबाट नेपाललाई पनि धेरै फाइदा हुनेछ। तपाइँहरुलाई पनि फाइदा हुनेछ। नेपाल र दुबईको ५०/५० प्रतिशत सेयर हुनेछ र चेयरम्यान नेपालको नै हुनेछ। यसको लागि लाइसेन्स लिनुपर्यो।"
मैले भनेँ, 'नेपालमा विदेशी बैङ्क खोल्नका लागि स्विकृति लिन गाह्रै छ। तैपनि हामी सोचेर जवाफ दिन्छौं।'
त्यति कुरा गरेर उहाँ जानुभयो। भुवन र म यसबारे छलफल गर्न थाल्यौं र काम राम्रो भएको निष्कर्ष निकाल्यौँ।
त्यसवेला नवराज सुवेदी राष्ट्रिय पञ्चायतको अध्यक्ष हुनुहुन्थ्यो र प्रधानमन्त्री सूर्यबहादुर थापा हुनुहुन्थ्यो। नवराज सुवेदीले प्रधानमन्त्रीलाई मनाउन सक्नुहुन्छ जस्तो लागेर पहिले नवराज सुवेदीसँग सल्लाह गर्ने विचार गर्यौं।
नवराज सुवेदीलाई सोही दिन बेलुकी डिनरको लागि अनुराध गर्यौं। बेलुकी नवराजजी पाल्नुभयो। ड्रिङ्क्स अफर गर्दै नेपालको वस्तुस्थितिबारे गफ गर्न थाल्यौं।
कुरैकुरामा उहाँले सोध्नुभयो, 'आज विशेष के हो नि?'
'हामीलाई एउटा राम्रो बिजनेस अफर आएको छ। तपाई पावरमा हुनुभएको बेला देशको लागि केही नयाँ राम्रो गर्न पाए तपाईलाई पनि राम्रै हुन्छ जस्तो लागेर सल्लाह गर्न दुःख दिएको। दुबई बैङ्कको एकजना मानिस नेपालमा संयुक्त लगानीमा बैङ्क खोल्न चाहन्छ। यसको लागि लाइसेन्सको व्यवस्था गरिदिनुपर्यो।
राजपरिवारबाट पनि बैंक खोल्न इजाजत माग गरिएको थियो तर दिइएन। विदेशी बैङ्क आएमा नेपालका बैङ्कलाई नोक्सानी हुन्छ भन्ने सरकारको धारणा थियो। तपाईको प्रयासबाट यो काम होला कि!'
म एकपटक प्रधानमन्त्रीसँग कुरा गरी जवाफ दिन्छु हुन्न? उहाँले भन्नुभयो।
'बैङ्क खोल्न पाएमा नेपाललाई पनि फाइदै हुन्छ। तपाइँले अलिकति मिहिनेत गरी प्रधानमन्त्रीलाई मनाउनु पर्यो' हामीले अनुरोध गर्यौं।
सुवेदीजी आफूले सकेको गर्छु भनी विदा हुनुभयो।
अरब बैँक र इन्डोस्वेज बैँकको प्रतिस्पर्धा
भोलिपल्ट बिहान देव मैत्रा कार्यालयमा आउनुभयो। उहाँले भन्नुभयो 'हाम्रो काम अलि छिटो गर्न पाए हुन्थ्यो।
फ्रेन्च इन्डोस्वेज बैङ्कको मानिस पनि आउँदै छन् भन्ने सुनेको छु। उहाँहरुको भन्दा अगाडि नै हाम्रो लाइसेन्स भए सारै राम्रो हुन्छ।'
तपाइको बैंक नेपाल आए नेपाललाई र हामीलाई के फाइदा हुन्छ त?
नेपालमा उद्योगको लागि गल्फ कन्ट्रीबाट प्रसस्त आर्थिक लगानी आउने नभई पेट्रोल पनि इन्टरनेसनल मार्केटको भन्दा सस्तोमा पाइने छ। काम हुँदै गएमा अरु पनि फाइदा हुनेछन्।
'हामी हुनसक्ने कोसिस गरिरहेका छौं। प्रधानमन्त्री समक्ष उहाँको विशेष मानिस मार्फत प्रस्ताव राख्न लगाएका छौं। जवाफ आएको छैन। आएपछि खबर गरौंला नि'
देव मैत्रा अगाडि भन्दै हुनुहुन्थ्यो दुबई बैङ्कका मालिक गलधारीलाई पनि लिएर आउँछु। उहाँ धेरै धनी व्यापारी हुनुहुन्छ। अरब इमिरेट्सका शेखहरुसँग उहाँको राम्रो सम्वन्ध छ।
सभामुख नवराज सुवेदीको फोन आयो। उहाँले भन्नुभयो मैलै प्रधानमन्त्रीसँग कुर गरें तर उहाँ नेपालमा विदेशी बैङ्क ल्याएमा नेपालका बैङ्कहरुलाई धेरै नोक्सान हुन्छ भन्न्हुन्छ। तपाई आफैले एकपटक प्रधामन्त्रीजीसँग कुरा गर्नुहोस न !
प्रधानमन्त्रीजीलाई कसरी भेट गरौं त?
उहाँसँग समय मिलाई तपाईलाई खबर गर्छु नि!
प्रधानमन्त्रीलाई कसरी यसको महत्व छ भन्नेबारे भुवनसँग सल्लाह गर्न थालेँ। देव मैत्रासँग कुरा गरी दुबई बैङ्क नेपालमा आए नेपाललाई हुने फाइदाका बुँदाहरु लिएर प्रधानमन्त्रीसँग छलफल गर्नु सबैभन्दा राम्रो होला जस्तो हामीलाई लाग्यो।
बैँक खोल्दा पेट्रोल सस्तो पाइने तर्क
देव मैत्रासँग सल्लाह गरेर दुवई बैङ्कसँग संयुक्त लगानीमा बैङ्क खोल्दा हुने फाइदाका केही बुँदा तयार गर्यौं।
गल्फ कन्ट्रीबाट नेपाली उद्योग धन्दामा लगानी आउने, नेपालका योजनाहरुलाई मद्दत पुग्ने, उद्योग र राष्ट्रका लागि कम व्याजमा आर्थिक सहयोग पाइने, अन्तराष्ट्रिय बजार मूल्यभन्दा कममा दुबईबाट पेट्रोल पाउन सकिने, नेपालका बैङ्कहरुबीच प्रतिस्पर्धा सृजना हुनेजस्ता बुँदाहरु हामीले तयार पार्यौं।
प्रधानमन्त्रीसँगको छलफलपछि बैङ्क खोल्ने इजाजत पाइएमा पनि हाम्रो काम सकिने अवस्था थिएन। काम भएमा पनि लगानीका लागि हामीले व्यवस्था गर्नु नै थियो।
कूल तीन करोड पुँजी
जम्मा तीन करोड रुपैंयाँको पुँजीमा एक करोड पचास लाख रुपियाँ दुबई बैङ्कले राख्दै थियो भने बाँकी हामीले राख्नुपर्थ्यो। यति धेरै रपियाँ जोगाड गर्नु सजिलो काम थिएन। केही सेयर आफ्ना भरपर्दा साथीहरुलाई पनि दिनुपर्ला भन्ने हामीले सोच्यौं।
नवराज सुवेदीजीले प्रधानमन्त्रीकहाँ समय मिलाइ दिनुभएपछि सिंहदरवारस्थित प्रधानमन्त्रीज्यूको कार्यालयमा पुग्यौं। प्रधानमन्त्री सूर्यवहादुर थापा एकजना राजदुतसँग कुरा गर्दै हुनुहुन्थ्यो। उहाँ जानासाथ त्यहाँका एक कर्मचारीले भित्र लानुभयो।
प्रधानमन्त्रीज्यूले भन्नुभयो ' तपाइँको कुरा नवराजजीले गर्नुभएको थियो। तर नेपालमा विदेशी बैङ्क आएमा हाम्रा बैङ्कलाई त धेरै गार्हो पर्छ नि हैन र?
मैले प्रधानमन्त्रीज्यूको चासोको सराहना गर्दै भने 'त्यो एउटा बाटो हुनसक्ला तर विदेशी बैङ्क आएमा हाम्रा बैङ्कले उन्नति गर्ने सम्भावना पनि छ। उनीहरु विदेशी बैङ्कको दाँजोमा जानुपर्ने हुन्छ। नेपालको बैङ्किङ क्षेत्रले अन्तराष्ट्रिय स्तरमा प्रवेश पाउनेछ । यसका साथै मैले आफूले तयार परेका अन्य फाइदाका बुँदाहरु पनि प्रस्तुत गरेँ।'
उहाँले भन्नुभयो 'हुन्छ म महाराजधिराज सरकारमा जाहेर गर्छु। तपाईको नाम लिएर बिन्ती गर्छु। तपाईलाई पछि खवर गर्नेछु।
गभर्नरलाई गहना
केही दिनपछि कार्यालयमा नेपाल राष्ट्र बैङ्कका गभर्नर कल्याणविक्रम अधिकारीको फोन आयो। अभिवादनको आदानप्रदानपछि उहाँले भन्नुभयो 'दयारामजी मलाई अलि गहना चाहिएको छ। तपाईँसँग छ भन्ने सुनेकोले भेट्न चाहेको।'
हुन्छ गभर्नर साहेबलाई समय भएको बेला मसँग भएका गहनाहरु देखाउनेछु आजै समय मिल्छ कि? आज यसो साँझमा पाल्नुहोस न त!
उहाँले कोसिस गर्छु भन्नुभयो। उहाँ आउनुभएको मौकामा बैङ्कको विषयमा पनि कुरा गर्नु राम्रै होला जस्तो लाग्यो। राष्ट्र बैङ्कका गभर्नर कल्यणविक्रम अधिकारी पहिला राजदरवारमा पनि सचिव हुनुहुन्थ्यो। उहासँग मेरो परिचय थिएन तर उहाँका दाजु र बुबासँग भने राम्रो परिचय थियो। उहाँको बुबा वोधविक्रम अधिकारी दरबार हाइस्कुलको हेडमास्टर हुनुहुन्थ्यो। उहाँले नै मलाई दरबार हाइस्कुलमा भर्ना गरिदिनुभएको थियो। उहाँका दाजु कृष्णविक्रम दरबारमा आर्मीको क्याप्टेन हुनुहुन्थ्यो, बडो राम्रो मिलनसार हुनुहुन्थ्यो। मसँग उहाँको राम्रो सम्वन्ध थियो।
साँझतिर गभर्नर साहेब र उहाँकी श्रीमती आउनुभयो। मैलै गहनाहरु मिलाइराखेको थिएँ। कुरा गर्दै गहना देखाउन थालेँ। नेक्लेस, हिराको एअर क्लिप, औंठी, ब्रासलेट अदि विभिन्न किसिमका गहना उहाँहरुलाई देखाएँ। दुवैजनाले एक एक गरी हेर्नुभयो र मोल सोध्नुभयो।
'तपाईहरुलाई राम्रो भाउमा मिलाइदिनेछौं। केही फरक पर्ने छैन। तपाइँहरुलाई मन परेको छुट्याउनुहोस' मैले भनेँ।
उहाँकी श्रीमतीले भन्नुभयो आज यो सेट लिएर जान सक्छु?
मैले सहमतिमा टाउको हल्लाएँ।
मैले विस्तारै कुरा थालेँ, दुःख मान्नुहुन्न भने गभर्नर साहेबसँग एउटा कुरा गरौं कि भनेर।
भन्नुहोस न उहाँले भन्नुभयो।
'हामीले दुबई बैङ्कसँग ज्वाइन्ट भेन्चरमा बैङ्क खोल्ने विचार गरेका छौं। तपाइले बैङ्क खोल्ने इजाजत दिनुपर्यो।'
दयारामजी विदेशी बैङ्क नेपालमा खोल्न दियो भने त हाम्रा बैङ्कलाई नोक्सान हुन्छ। तसर्थ विदेशी बैङ्क खोल्नेतिर नसोच्नुहोस्।
हामीले दुबई बैंङ्कसँग ज्वाइन्ट भेन्चरमा खोल्न पाएमा नेपालमाई हुने फाइदाबारे बुझाउन कोसिस गर्यौं।
सबै कुरा सुनेपछि उहाँले भन्नुभयो हुन्छ म विचार गर्छु। महाराजधिराज सरकारमा पनि चढाउँछु।
हामीले प्रधानमन्त्रीसँग भइरहेको कुरा केही भनेनौं। आफ्नो कार्य सफल हुने जस्तो लागेर भुवन र मलाई खुसी लाग्यो। अब हामीले कुरा गर्नुपर्ने अर्को व्यक्ति अर्थमन्त्री हुनुहुन्थ्यो। अर्थमन्त्री यादवप्रसाद पन्त साथी नै हुनुहुन्थ्यो। प्रधानमन्त्रीबाट केही जवाफ नपाई अर्थमन्त्रीसँग कुरा गर्नु ठीक होला जस्तो लागेन।
प्रधानमन्त्रीज्युले बोलाउनु भएकोले उहाँले दिनुभएको समयमा म उहाँको कार्यालयमा पुगेँ । सामान्य औपचारिकतापछि मूल मुद्दामा प्रवेश गर्दै प्रधानमन्त्रीज्युले भन्नुभयो, “मैले महाराजाधिराज सरकारमा तपाईले ल्याउनुभएको दुबई बैँक नेपालमा खोल्ने प्रस्ताव चढाएँ।
सरकारबाट विदेशी बैकं आएपछि नेपालका बैँकलाई नोक्सान हुन्छ होला नै हुकुम होइबक्सियो । मैले तपाईले भन्नु भए बमोजिम यति कारणले नेपाललाई फाइदा हुन्छ भनेर बिन्ती चढाएँ । विशेष गरी गल्फ कन्ट्रीको आर्थिक सहायताले नेपाललाई आउने , पेट्रोल पनि अन्तर्राष्ट्रिय मूल्यमा सस्तोमा पाउने, नेपालका बैंकहरु पनि विदेशी बैंकको स्तरमा आउनुपर्ने, अन्तराष्ट्रिय बैंकहरुसँग नेपालको राम्रो सम्बन्ध हुने र नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा राम्रो हुने कुराहरु राम्ररी जाहेर गरेँ। त्यसो भए तिमीले हेरेर गर्नु हुकुम भयो। अब अर्थमन्त्री र राष्ट्र बैंकको गर्भनरलाई भनिदिन्छु। चाहिने कुरा उहाँहरुसँग गर्नुहोस्। उहाँहरुले तपाईलाई खबर गर्नुहुने छ। ”
प्रधानमन्त्रज्यूले त्यती भन्नुभएपछि उहाँलाई धन्यवाद दिई बाहिर निस्किएँ।
ताहाचलमा भुवन पर्खिरहेको थियो । प्रधानमन्त्रीज्यूसँग भएको कुरा सुनाउँदा उनी दङ्ग परे ।
एक दिन पुनः गभर्नर कल्याणविक्रम आउनुभयो। उहाँले लिएर जानुभएको गहना पनि साथैमा लिएर आउनुभएको थियो, उहाँको श्रीमतीले गहना मन पराउनुभएको रहेछ। गर्भनर साहेवले भन्नुभयो, “मैले महाराजधिराजकोमा तपाईको नाम लिएर बैंकबारे बिन्ती गरें। दुबई बैंक ज्वाइन्ट भेन्चरमा खोल्न दिनु राम्रै हुने निवेदन गरेँ।
सरकारबाट त्यसले गर्दा नेपालमा बैकलाई हानी हुन जाला कि हुकुम भयो। तपाईले भनेको सबै जाहेर गरेपछि प्रधानमन्त्रीसँग सल्लाह गरी गर्न हुकुम भयो। तपाई दुबई बैंकको प्रतिनिधिलाई लिएर भोलि मेरो अफिसमा आउनुहोस्।”
गर्भनर साहेबले सम्झेर भन्नुभयो, “अँ सरकारबाट ब्लाक लिस्टमा भएकाहरु, स्मग्लरहरुलाई सेयर नदिनु हुकुम भएको छ ।”
देव मैत्रालाई फोन गरी भोलि ११ बजे गर्भनर साहेबले राष्ट्र बैंकमा बोलाउनु भएकोले त्यहाँ जानुपर्ने खबर गरेँ।
भोलिपल्ट देव मैत्रालाई लिएर राष्ट्र बैकं पुग्यौं। गर्भनर साहेबसँग देव मैत्रको परिचय गराएपछि कुराकनी सुरु भयो । गर्भनर साहेबले बैंक खोलने विषयमा देव मैत्रासगँ धेरै कुरा सोध्नुभयो।
शुक्रवार दयारामभक्त माथेमाको पुस्तक सार्वजनिक गर्दै
नेपालीको ५१ प्रतिशत सेयर
देव मैत्राले दुबई बैंकबारे बताउन थाल्नुभयो,“दुबई बैंकको विशेष गरी लण्डनमा ठूलो कारोबार चलिरहेको छ। अरु गल्फ कन्ट्रीहरुमा ब्रान्चहरु छन्। यो बैंक अन्तराष्ट्रिय स्तरको हो।”
“नेपालमा ज्वाइन्ट भेन्चर खोलेपछि दुबई बैंकको कति प्रतिशत सेयर हुन्छ?”
“दुबई बैकंको ५० प्रतिशत र नेपालको तर्फबाट ५० प्रतिशत।”
“दुबई बैकंको तर्फबाट ५० प्रतिशत मिल्दैन। नेपालको मेजर सेयर हुनुपर्छ र चेयरम्यान पनि नेपालको तर्फबाट नै हुनुपर्छ। भाइस चेयरम्यान भने दुवई बैकंको तर्फबाट हुनुपर्छ।”
“त्यसो भए नेपालको तर्फबाट ५१ प्रतिशत र दुबई बैंकको तर्फबाट ४९ प्रतिशत गरे कसो होला? चेयरम्यान नेपालको तर्फबाट हुनेमा हामीलाई मन्जुर छ। चेयरम्यानमा नेपालको तर्फबाट दयारामजी बस्नुहुनेछ। दुबई बैंकबाट भाइस चेयरम्यान मनोनित भएपछि खबर गर्ने छु। दयारामजीबाट २५ प्रतिशत राखी बाँकी सेयर पब्लिकमा दिनुपर्ला।”
“सेयरहरु नेपालका बैकंहरु अथवा कर्पोरेसनहरुलाई दिनुपर्ला ।”
“बैकहरुलाई दिन मिल्दैन, बरु कर्पोरेसनहरुलाई दिन मिल्छ।”
धेरै कुरा भएपछि “तपाईहरु अब आफ्नो मिलाउनतिर लाग्नुहोस्” भन्दै गर्भनर साहेबले बिदा दिनुभयो।
काम हुने भएकोले हामी तीनैजना खुसी भयौं। देव मैत्राले भन्नुभयो,“म एकपटक दुई दिनको लागि दुबई जानुपर्ला। त्यहाँ गएर सबै मिलाउनुपर्ने मिलाएर आउँछु र मिल्छ भने बैकंको मालिक गलाधारीलाई पनि लिएर आउछुँ। तपाईहरुले उहाँसग भेट गर्नु राम्रै हुने छ। सारै भलादमी र मिलनसार हुनुहुन्छ।”
केही दिनपछि देव मैत्रा दुबई बैकंका मालिक गलाधारीलाई लिएर तहाचलस्थित कार्यालयमा आउनुभयो। उहाँले गलाधारीसगँ हाम्रो परिचय गराउदैं भन्नुभयो,“दुबई बैकंको काम दयारामजी र भुवनजीको मिहिनेतका कारणले नै हुने जस्तो भएको छ।
गलाधारीसँग अरु विजनेसबारे पनि कुराकानी भयो। उहाँ ज्वेलरीको पनि राम्रो कलेक्सन गर्नुहुँदो रहेछ । हामीसगँ भएका राम्र राम्रा गहना देखायौं। तीमध्ये केही उहाँले मन पराउनु भयो। केही गहना किन्नु पनि भयो। सारै राम्रो र भलादमी हुनुहुदो रहेछ। एकैछिन बसी कफी लिएर जानुभयो। हामीसगँ भेटघाटका लागी मात्र आउनुभएको रहेछ।
इन्डोस्वेजको प्रतिनिधिको फोन
यस्तै एक दिन भुवन र म कार्यालयमा बसीरहेका थियौ, एउटा फोन आयो। को भनी सोध्दा उताबाट कसैले भन्नुभयो,“म इन्डोस्वेज बैकंको प्रतिनिधि बोलेको। तपाईसगँ भेट गर्न कुन समय मिल्ला?”
“तपाईलाई मिल्छ भने आजै पाल्नुभए हुन्छ”, मैले भनेँ।
साझँतिर उहाँ आउनुभयो। एकआपसमा परिचय गर्यौं । फ्रेन्च नागरिक जवान राम्रो हुनुहुँदो रहेछ। उहाँले आफ्नो कार्ड दिनुभयो र भन्नुभयो,“म इन्डोस्वेज बैंकको प्रतिनिधि, नेपालमा इन्डोस्वेज बैंकको शाखा खोल्नका लागि आएको। यो बैंकको शाखा युरोपेली, अमेरिकी र अफ्रिकी मुलुकहरुमा छन्। इन्डियामा बम्बईमा छ। अस्ति तपाई राष्ट्र बैकको गर्भनरसगं धेरैबेर बस्नु भएको थियो। म बाहिर समय पाउन पर्खी बसेको थिएँ, तपाईलाई देखेँ। तपाईको गर्भनरसगँ राम्रो सम्बन्ध रहेछ।
तपाईले भनिदिनुभयो भने मेरो काम छिटो होला जस्तो लागेर तापाईलाई भेटन आएको। श्री ५ महाराजाधिराज फ्रानसको राजकीय भ्रमणमा सवारी हुदाँ हाम्रो प्रेसिडेन्ट र मौसुफवीच इन्डोस्वेज बैकंको शाखा नेपालमा खाल्नेबारे कुरा भएको थियो। मौसुफबाट स्विकृति बक्सेकोले हाम्रो हेड अफिसबाट मलाई नेपाल पठाएको हो। म यहाँ आएको पनि छ सात दिन भैसक्यो। गर्भनरलाई एकपटक भेटेको थिएँ, काम केही भएको छैन। शाखा खोल्ने कुरामा गर्भनरले मन्जुरी दिई सक्नुभएको छ।
फ्रेन्च आगन्तुकले एउटा मात्र ड्रिङ्क्स लिनुभयो । मैले भनेँ,“तपाईको बैंकले नेपालमा ज्वाइन्ट भेन्चर गरेको भए राम्रो हुने थियो। त्यसमा हाम्रो पनि सहभागी हुने इच्छा छ।”
“अहिलेसम्म हाम्रो बैकंले संसारमा कहीँ पनि ज्वाइन्ट भेन्चर गरेको छैन्। हाम्रो बैंकको सिद्धान्त नै शाखा खोल्नु हो।”
केहीबेर कुराकानी गरेर उहाँ जानुभयो । हामीले केही आश्वासन भने दिएनौँ। भुवनलाई मैले भनेँ,“महाराजधिराजबाट फ्रान्सको राष्ट्रपतिलाई सहमति बक्सेको भए इन्डोस्वेज बैंक पक्कै पनि आउँछ। हाम्रो बैंकको काम छिटो गर्न पाए वेश होला। गर्भनरसँग कुरा गरी छिटो गराउनेतिर लाग्नृ पर्यो ।”
माथेमालाई २५ हैन १५ प्रतिशत सेयर
गर्भनरसँग समय लिएर भेट्न गएँ। उहाँको कार्यालय बाहिर इन्डोस्वेज बैंकका प्रतिनिधि पर्खिरहनुभएको देखेँ। गर्भनरले मलाई आफ्नो कोठाभित्र बोलाउनु भयो र भन्नुभयो, “तपाईँहरुले बैकं खोल्न इजाजत मागी दिनुभएको निवेदन अर्थ मन्त्रालयबाट टिप्पणीसहित पेस भएको छ। प्रधानमन्त्रीलाई भनेर अलि छिटो गराउनेतिर लाग्नुहोस्।
तपाईहरुले २५ प्रतिशत राख्नुभएको अलि बढी भयो। यसलाई अलि कम गर्ने बिचार गरेको छु। सकेसम्म जनतामा धेरै सेयर गएको वेश होला। नत्र तपाईहरुको मात्र भयो भनी मानिसहरुले कुरा गर्ने छन्। अनि, बैकहरुलाई निदिने भए कर्पोरेसनहरुलाई १० प्रतिशत र अरु जनतामा जाने गर्नुहोला ।”
मैले सोधेँ,“मैले कति पाउने भएँ त ?”
“तपाईलाई १५ प्रतिशत जनतालाई २६ प्रतिशत गरे कसो होला?”
“हामीलाई अलि मर्का पर्ने भयो नि त ! अलि बढाउनु भए बेश होला।”
“मैले गरेर हुँदैन, माथिबाट नै भएर आएको।”
“इन्डोस्वेज बैकं पनि आएको छ नि! ”
कुरैकुरामा मैले भनेँ,“हो, उहाँहरुको बैंक नेपालमा स्थापना गर्न श्री ५ महाराजाधिराजबाट नै फ्रान्सका राष्ट्रपतिसगँ कुरा भएको रहेछ, आउने नै भयो नि !”
“नेपालीहरुलाई सेयर नदिने रे। त्यसो हुँदा हामीलाई फाइदा होला र?”
“यो ठूलो विश्वव्यापी बैंक हो । यसबाट अवश्य पनि नेपाललाई फाइदा हुने छ। इन्डोस्वेजको मानिससँग तपाईहरुको राम्रो सम्बन्ध छ?”
“राम्रो सम्बन्ध छ, हामीकहाँ आउने गर्नुहुन्छ। अहिलेपनि उहाँ बाहिर पर्खिरहनुभएको छ।”
“त्यसोभए उहाँलाई भित्र पठाइदिनुहोस्। अब तपाईसँग म बाहिरवाट फर्केर आएपछि भेटौला।”
हामी विदा भयौँ र त्यो फ्रेन्च व्यक्तिसंग हात मिलाई गभर्नरले भित्र वोलाउनुभएको छ भनी भित्र पठाएँ।
सेयर वाँडफाँडवारे भुवनसंग सल्लाह गर्न थालें। गभर्नरले तराई र पहाडबाट सेयर होल्डरहरु लिनुपर्दछ भन्नुभएको थियो। त्यसैले तराइवाट डा महेन्द्र प्रसाद, पहाडवाट अनङ्गमान शेरचन, काठमाडौंबाट चिनीकाजी श्रेष्ठ, नरसिंहवहादुर श्रेष्ठ र रामशंकर श्रेष्ठलाई लिने विचार गर्यौं। नपुगे अरु एक दुईजना अरु लिनुपर्ला भन्ने योजना बनायौं।
माथेमाको ताहाचलस्थित निजी निवास जहाँ बैंकका कर्मचारीलाई सुरुवाती तालिम दिइएको थियो
देब मैत्राले बैंकमा काम गर्ने नयाँ कर्मचारीहरुलाई तालिम दिनका लागि हङकङबाट बैंकिङ सम्वन्धी विशेषज्ञ झिकाउनु भएको थियो। ताहाचल घरमा तालिम सुरु भयो। बैकको कार्यालय पनि त्यहीँ राखिएको थियो।
देब मैत्रासंग वसि हामीले बैकको काम सम्वन्धि योजनाहरु बनाउन थालिसकेका थियौं। अखवारहरुमा पनि नेपालमा दुबई बैङ्क खुल्न लागेको वारे समाचारहरु छापिन थालेका थिए। कुनै अखवारले नयाँ बैङ्क आउन लागेकोमा खुशी प्रकट गरेका थिए भने कुनै अखवारले विदेशी बैंक आएकोमा विरोध गरेका थिए। देब मैत्रा भन्दै हुनुहुनथ्यो “इन्डोस्वेज बैंकभन्दा पहिले हाम्रो बैक आउनुपर्छ। गभर्नर साहेवलाई भनेर छिटो गराउन पाए हुने थियो।” बैंकको लागि घर दरबारमार्गमा लिने निधो भयो।
माथेमालाई तीन प्रतिशतमात्र सेयर
एकदिन गभर्नर साहेवले राष्ट्र बैकमा वोलाएर भन्नुभयो, दयारामजी, तपाईलाई तीन प्रतिशतमात्र सेयर हुने भयो। श्री ५ को सरकारले नियम बनाएको छ, सोही अनुसार नै हुने भयो। अरु सेयर बिक्री केन्द्र मार्फत विक्रि हुनेछ।
त्यति भनि गभर्नर साहेव सिंहदरवारमा बैठक छ भनी जानुभयो। यो कुरा सुनेर अचम्म लाग्यो तर गर्न सकिने केही थिएन। प्रमोटरका रुपमा सही गर्न राष्ट्र बैङ्कमा बोलाइएको थियो, भुवन र म भई बैक सम्वन्धी कागजातहरुमा दुई तीन घण्टा लगाई सही गरेर फक्यौं।
बैकको नाम नेपाल अरब बैँक राखिने भयो। हामीले पनि सेयर बिक्री केन्द्रबाट किन्नुपर्ने भयो। हाम्रो मन त्यति चहकिन सकेन। आफ्नो मिहिनेतबाट पाएको उपलब्धिप्रति त्यति सन्तुष्टि भएन। भुवन र मैले सेयर नलिने निधो गर्यौ। यो हामीमाथि पञ्चायत सरकारको तेस्रो मार थियो। पहिले जनसेवा काण्ड, दोस्रो गोल्छा उलन्स मिल र तेस्रो नेपाल अरब बैङ्क।
राष्ट्र बैकका मानिसहरुले हामीलाई सेयर खरिद गर्न धेरै आग्रह गरेका थिए। तेजवज्र वज्राचार्यले भन्नुभएको थियो, तपाईहरुले धेरै मानिसहरुको नाममा सेयर लिनुहोस, म सवै मिलाईदिने छु। तर हामीले सेयर किन्ने विचार नै गरेनौ। जे भयो भयो। देव मैत्रा पनि आउन छाड्नुभयो। बढो दिक्क लाग्यो। यसको भित्री रहस्य बुझ्यौ तर हामीले गर्न सक्ने केही थिएन।
देव मैत्राहरु बैङ्क खोल्नतिर व्यस्त हुनुभयो। हामीलाई केहि खबर गर्नुभएन। बैङ्कवाट अलग हुनुपरेकोमा साह्रै दुख लाग्यो। हुनत, नेपालमा विदेशी बैङ्क खोल्न अरुले पनि दरखास्त दिएका थिए। तीमध्ये कतिपय माथिल्लो तहका पहुँचवाला नै हुनुहुन्थ्यो तर वहाहरुले इजाजत पाउनुभएको थिएन। हामीले इजाजत पाएकोमा धेरैलाई इर्ष्या लागेको थियो।
त्यस घटनाले गर्दा नेपालमा हामीलाई केही काम गर्न दिदैनन् भन्ने मनमा लाग्यो। भारततीर नै आफ्नो व्यापार विस्तार गर्न लाग्नुपर्ला भनी मैले सोचिरहेको थिएँ। छाउनीमा घरहरु निर्माण गरेकोमा पनि दरवारका जनरल मोहनविक्रम शाह, श्री ५ महाराजधिराजका एडिसीले दयारामले छाउनीमा साम्राज्य खडा गरिसक्यो भन्दै हल्ला गर्दै हिड्नुभएको थियो। यसमा पनि उहाँहरुको कुदृष्टि पर्यो होला जस्तो लाग्यो। घरहरु बेची भारततिर लाग्नु सिवाय अरु केहि उपाय होला जस्तो लागेन।
तत्कालिन नेपाल अरब बैंङ्क अहिले नबिल बनेको छ।
नेपाल अरब बैङ्कको उद्घाटनको उपलक्षमा पर्टी आयोजना गरिएको थियो। भुवन र मलाई पनि निमन्त्रणा थियो। भुवनले त्यस्तोमा के जाने भन्दै थिए तर हामीले जाने निर्णय गरि अन्नपुर्ण होटल पुग्यौं। पी एस लाहारी पाहुनाहरुको स्वागत गर्दै हुनुहुन्थ्यो।
देब मैत्राले हामीलाई देख्नासाथ मुख एकाएक अँध्यारो पार्नुभयो। हामीले हात मिलाई दुवैलाई बधाई दियौं। त्यहाँ परिचित मानिसहरुले हामीलाई बधाई दिनुभयो तर मैले भने यो बैङ्कमा हामी छैनौं। सबैले त्यो बैङ्कको मुख्य हामीलाई नै सम्झेका रहेछन्।
(माथेमा साझेदार नबनेपछि नेपाल अरब बैंकमा नेपाल औद्योगिक विकास निगम(एनआइडिसि), राष्ट्रिय बीमा संस्थान लगायतका संस्थागत साझेदारहरु बने। वीरेन्द्रका छोरा निराजनको नाममा पनि नबिल बैंकमा सेयर थियो। यो सेयर अहिले नेपाल ट्रष्टलाई हस्तान्तरण भएको छ। संस्थागत सेयरधनी भएपछि नबिलमा व्यक्तिगत बिजनेस हाउसको प्रभाव कम रह्यो। इमिरेट्स बैंकले बेचेको सेयर २०५० सालमा विनोद चौधरीले अफसोर कम्पनीमार्फत् खरिद गरे। चौधरीले इमिरेट्सको सेयर खरिदको एउटा कारण यसलाई पनि मान्न सकिन्छ किनकि बैंकमा नेपालकातर्फबाट व्यक्तिगत प्रभाव कसैको पनि थिएन।)