
काठमाडौं। नेपाल आयल निगमले पेट्रोल,डिजल र मट्टितेलको भाउ लिटरमा १० रुपैयाँ घटाएको छ। निगम संचालक समितिको विहीबार बसेको बैठकले तीन वटा वस्तुमा लिटरमा १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो।
यो मूल्य विहीबार राती १२ बजेदेखि कार्यान्वयनमा आउनेछ। अर्थमन्त्रालयले पूर्वाधार कर लिटरमै १० रुपैयाँ घटाउने भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको थियो।
अर्थले मूल्य समायोजन गर्न भनेपनि भन्सार विन्दुमा कार्यान्वयन हुने पूर्वाधार कर भने लिइरहेको थियो। यो लिइरहेर मूल्य घटाउन नसकिने अडानमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु थिए।
तर मन्त्रिपरिषद्बाट निर्णय भइसकेको र संसदमा आफैले बोलेको कुरा कार्यान्वयन नगर्दा नेगेटिभ म्यासेज जाने भन्दै मूल्य घटाउन निगम संचालक समितिलाई निर्देशन दिएका हुन्।
त्यही निर्देशन अनुसार विहीबार संचालक समिति बैठक बसेर यो निर्णय गरिएको हो। यो निर्णयपछि अब उपभोक्ताले पेट्रोल लिटरको १७० र डिजल तथा मट्टितेल लिटरको १५३ रुपैयाँमा पाउनेछन्।
अर्थको गोलमटोल पत्र
अर्थले आफ्ना मातहतका भन्सार कार्यालयलाई पूर्वाधार कर हटाउन निर्देशन नदिई वाणिज्य मन्त्रालयलाई मूल्य समायोजन गर्न निर्देशन दिएको थियो। अर्थले पूर्वाधार करको रकम पछि शोधभर्ना दिने गरि मूल्य घटाउन दिएको निर्देशनले वाणिज्यमन्त्री बडु आक्रोशित छन्।
'अर्थमन्त्रालयले आफू कर पनि लिने र मूल्य घटाउन भन्दै वाणिज्यलाई पत्र पठाउनु गतल हो। अर्थले जनताका माझ राम्रो बनेर अर्को मन्त्रालयलाई नराम्रो बनाउन खोज्यो,' वाणिज्यका एक अधिकारीले बिजमाण्डूलाई भने, 'त्यही भएर मन्त्रीज्यू आक्रोशित हुनुभएको हो।'
तर अर्थमन्त्रालयले भने आर्थिक ऐन संसदमा विचाराधिन रहेकाले करका दर हेरफेर गर्न नसकिएको भन्दै आफ्नो बचाउ गरेको छ। पूर्वाधार कर नहटाई मूल्य घटाउँदा निगमको नोक्सानी झन् फराकिलो बनेको छ। अब निगमलाई मासिक ७ अर्ब ७८ करोड नोक्सानी हुने भएको छ।