काठमाडौं। लगानी बोर्डको कार्यालय र नबिल बैंकबीच विदेशी लगानीकर्ता प्रोत्साहन र प्रवर्द्धनका लागि द्धिपक्षीय सम्झौता (एमओयु) भएको छ।
लगानी बोर्डले लिने रणनीतिहरु योजनाहरुमा बैक तथा वित्तीय संस्थाले गर्नुपर्ने सहयोग नबिलले गर्ने र त्यसको नेतृत्व समेत गर्ने गरि सम्झौता भएको छ। बुधबार भएको एमओयु सम्झौतामा नबिलले बोर्डसँग सयुक्त रुपमा वैदेशिक प्रत्यक्ष लगानी (एफडिआई) ल्याउनका लागि सहकार्य गर्ने उल्लेख छ।
नबिल बैकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाहले नबिलले विदेशी लगानी भित्र्याउनका लागि ठुलो भुमिका खेलेको बताए। उनका अनुसार अरुण तेस्रो बित्तिय व्यवस्थापन समेत नबिलले गरेको थियो, जुन उदाहरणीय काम भएको छ।
१० बर्षमा अन्तर्राष्ट्रियस्तरको बोर्ड बनेको शाहको भनाइ छ। 'बाबुराम भट्टराई प्रधानमन्त्री हुदा स्थापना भएको लगानी बोर्ड कार्यालय राख्न र मिटिङ कसरी गर्न भन्ने समस्या थियो। अहिले एउटा लक्ष्य लिएर पनि दौडिएको छ,' उनले भने,'लगानी बोर्ड नभएको भए अहिले विभिन्न मन्त्रालय र विभागहरु धाउँदा धाउँदै कामै गर्न नसक्ने अवस्था हुने थियो।'
उनका अनुसार अहिले नेपालका घुम्न लायक १० देश खोजी गर्दा नेपालको नाम आउन गरेको छ। '१० वटा लगानी योग्य मुलुकमा पार्नुपर्नेछ। एउटै सोच भएको टिमसँग काम गर्दा मजा आउँछ। यो सुरुवात मात्र हो,' शाहले भने। सय मेगावाट भारतलाइ विद्युत बेच्न सके नेपालको मुहार फेरिन सक्ने उनको दाबी छ।
कुनै विदेशी लगानीकर्ता आए गाइड बैकले गरिदिनेछ भने लगानी सम्मेलन हुदा वा सहयोग मागे डेस्क नै राखेर भएपनि सहयोग गर्ने उल्लेख छ। नबिल बैकसँग काम गरिरहेका अन्तरर्राष्ट्रिय निकायहरुसँग समेत विदेशी लगानी भित्र्याउन पहल गर्नेछ।
लगानी बोर्डका सीइओ सुशील भट्टले यो एउटा सम्झौता मात्रै नभएर पार्टनरसीपको कल्चर विकासको सुरुवात समेत भएको बताए। उनका अनुसार अहिले बोर्डले गुणस्तरीय र विश्वसनीय लगानीलाइ प्रवर्द्धन गर्दै आएको छ। ३१ वटा आयोजनाहरुलाई लगानीको स्वीकृति दिएको छ।