काठमाडौं। पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी खेलमा सुरुवाती ब्याटिङमा उत्रिएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको हो।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई ब्याटिङको निम्ता दिएका थिए। पोखराका लागि शीर्ष क्रमका मेहेदी हसनले ३२ तथा कुशल भुर्तेलले २१ रन बनाउनु बाहेक अन्य ब्याटर चल्न सकेनन्। स्टार अलराउण्डर सकिब अल हसन पनि १४ रनमै समेटिए।

पोखराका लागि जिम्मेवार ब्याटिङ भने अर्जुन घर्तीले गरे। उनले २५ बलमा ४ चौका र १ छक्काको सहायतामा अविजित ४० रन बनाए।

बलिङमा ७ बलर प्रयोग गरेको सुदूरपश्चिमका अनिल खरेलले ३ विकेट लिँदा हेमन्त धामी, स्कट कुगेलेइन र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

सुदूरपश्चिम केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।










