सेबोन आफैंले स्थगित व्यवस्था ब्युँताउँदै, कम्पनीको सेयर मूल्य फेरि अन्तिम १५ मिनेटको औसत!



सुनिल कुँवर
२०८३ भदौ २३ गते १९:११ | Sep 8, 2026
सेबोन आफैंले स्थगित व्यवस्था ब्युँताउँदै, कम्पनीको सेयर मूल्य फेरि अन्तिम १५ मिनेटको औसत!


काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आफैंले स्थगित गरेको नेप्से सूचकांक गणनामा अन्तिम १५ मिनेटको औसत कारोबारको व्यवस्था फेरि लागू गर्न तयारी थालेको छ।

Vigo
GBIME
Tata

सेबोनले नेप्से सूचकांक गणनामा कम्पनीको कारोबार सत्रको अन्तिम १५ मिनेटको सेयर किनबेचलाई औसतका आधारमा अन्तिम मूल्य कायम गर्ने व्यवस्था लागू गर्न नेप्सेसँग सुझाव मागेको छ।

सेबोनले नेप्से सूचकांक गणनामा यसअघि लागू गरेर स्थगित गरेको १५ मिनेटको औसत मूल्य निर्धारणको व्यवस्था फेरि लागू गर्न नेप्सेसँग सुझाव मागेको हो।

‘हामीले आन्तरिक रुपमा छलफल गर्दा नेप्से सूचकांक गणनामा अन्तिम १५ मिनेटको औसत मूल्यका आधारमा कम्पनीको अन्तिम मूल्य निर्धारण नै पारदर्शी हुने कुरा आएपछि त्यसलाई नै फेरि लागू गर्न सकिने निष्कर्षसहित नेप्सेसँग सुझाव मागिएको हो,’ सेबोनका एक अधिकारीले भने।

स्रोतका अनुसार सेबोन अध्यक्ष डा. गोपाल भट्टको निर्देशनमा नेप्सेसँग सुझाव मागिएको हो। अध्यक्ष डा. भट्ट कम्पनीको अन्तिम सेयर मूल्य निर्धारण अन्तिम १५ मिनेटको औसत मूल्यका आधारमा गर्ने पक्षमा छन्।

सेयर बजारमा अन्तिम समयमा हुने अस्वाभाविक चलखेल रोक्न २०८१ चैत पहिलो साता धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा चौंथो संशोधनपछि नेप्सेले १५ मिनेटको अवधि तोकेर क्लोजिङ प्राइसमा भारित औसतबाट मूल्य तय हुने व्यवस्था लागू गरेकामा सेबोनले ६ महिनापछि २०८२ असोज ७ मा स्थगित गरेको थियो।

यसलाई फेरि लागू गर्ने तयारी गरिएको सेबोनले अधिकृतहरुले बताएका छन्। ‘स्थगन गरिएको कारोबार सत्रको अन्तिम १५ मिनेटको कारोबारलाई आधार लिइ नेप्से इन्डेक्स गणना गर्ने विधिलाई पुन: कार्यान्वयन गराउन सकिने/नसकिने सम्बन्धमा सुझाव पेस गर्ने,’ सेबोनले नेप्सेलाई पठाएको पत्रमा भनिएको छ।

सेबोनका तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सञ्चालक समितिबाट १५ मिनेटको औसत कारोबारका आधारमा हुने सूचकांक गणना स्थगित गरेर पुरानै व्यवस्था लागू गरेका थिए।

सेयर बजारमा अहिले कारोबारको नियमित सत्र (बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म)को अन्तिम समयमा कायम मूल्य नै अन्तिम मूल्य हुने व्यवस्था छ। बजारमा यस्तो व्यवस्थाले कारोबारको क्रममा दिनभर घटिरहेको कतिपय कम्पनीको मूल्य अन्तिम समयमा उच्च माग सिर्जना गरेर अस्वाभाविक रुपमा बढाउने गरिएको छ।

सेबोनले नेप्सेको प्रस्तावमा कारोबार विनियमावलीमा संशोधन गरेर सूचकांक गणनामा कम्पनीको अन्तिम १५ मिनेटको औसत कारोबारलाई अन्तिम कारोबार मूल्य मान्ने व्यवस्था लागू गरेको थियो।

सेबोनले कम्पनीको मूल्य निर्धारणका विषयमा औसत १५ मिनेटको कारोबार लागू गरिएको व्यवस्था ६ महिनापछि हटाउनु नै गलत भएको नेप्सेका कर्मचारीहरु बताउँछन्।

‘नेप्सेले प्रस्ताव गरेर लागू गरिएको १५ मिनेटको सूचकांक गणना विधि स्थगित गर्नु हुँदैन रहेछ भन्ने सेबोनका अधिकृतहरुलाई अहिले रियलाइज्ड भएको छ। त्यसैले फेरि लागू गर्न सकिने/नसकिने भन्दै सुझाव मागेका हुन्,’ नेप्सेका एक अधिकृतले भने।