काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाली समकक्षी रामचन्द्र पौडेललाई आज सन्देश पठाएका छन्। बाढीबाट पुगेको क्षतिबारे दु:ख व्यक्त गर्दै उनले सन्देश पठाएका हुन्।
बुधबार गएको बाढीले नेपालको रसुवासहित अन्य जिल्ला र चीनको केरुङ प्रान्तमा ठूलो क्षति पुर्याएको छ। आजै बसेको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय कमिटीको बैठकमा केरुङ-रसुवा बाढी बारे छलफल भएको थियो।
सो बैठकले नेपालको बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउने र अन्तर्राष्ट्रिय उद्धार सहकार्यलाई अगाडि बढाउने निर्णय समेत गरेको थियो।
सीले सन्देशमा नेपाल र चीन दुवै तर्फ पुगेको क्षतिबारे दु:ख जनाउँदै उद्धार र राहतमा चीन सदैव सहयोगका लागि तयार रहेको उल्लेख गरेको बताइएको छ।
चीनले यसअघि पनि नेपाललाई सहयोग गर्न तयार रहेको जनाएको थियो।










