नाडा अटो शोमा सिएरालगायत आधा दर्जन नयाँ ब्रान्ड, नाइमामा देखिएका १३ ब्रान्ड पनि राखिने



बिजमाण्डू
२०८३ भदौ ४ गते १९:२३ | Aug 20, 2026
नाडा अटो शोमा सिएरालगायत आधा दर्जन नयाँ ब्रान्ड, नाइमामा देखिएका १३ ब्रान्ड पनि राखिने


काठमाडौं। भदौ ९ गते सुरु हुने १८औं नाडा अटो शोमा नाइमा मोबिलिटी एक्स्पोमा सहभागीमध्ये १३ वटा सवारी ब्रान्डले स्टल राख्ने भएका छन्।

Tata
GBIME

बीवाइडी, टाटा, एमजी, चेरी क्यूक्यू, ओमोडा एण्ड जेको, आइकार, रोयल इन्फिल्ड, कामा, जीडब्लूएम, लिपमोटर, प्रोटोन, होन्छी र एनआईयूले नाइमा मोबिलिटी एक्स्पो पछि नाडामा पनि सहभागिता जनाउने भएका हुन्।

११ वटा कम्पनीले स्टल पाइसकेका छन् भने होन्छी र एनआईयूले अहिले स्टलका लागि नाडासँग ठाउँ मागिरहेका छन्। यी सबै ब्रान्डका सवारीले नाइमामा राम्रो ‘रेस्पोन्स’ पाएका थिए।

यसबाहेक नाडामा सुजुकी, स्कोडा, डिपल, नामी, यामाहा, रिडारा, आयोन, एम्पियर, जीली, अवतार, हिरो, स्काइवेल, सिङलङ, न्यु गोनाउ, फोटोन, कामा, फरिजोन, फेइडी, जोनसेन, बीएडब्लू, जीन्बेई, हाइगर, टाटा मोटर्स कमर्सियल, भेस्पा अप्रिला, स्काईवर्थ जस्ता ब्रान्ड सहभागी हुनेछन्। यी सबै ब्रान्डले आफ्नो नयाँ उत्पादन नाडा अटो शोमा राख्नेछन्।

टाटाले नयाँ पन्च र टियागो इभी ल्याएको छ। यी गाडीहरुले नाइमामा राम्रो रेस्पोन्स पाएका थिए। टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शोका लागि सियारा इभी ल्याइसकेको छ।

नयाँ पन्च इभीको फेसलिफ्टमा ब्याट्री ४० किलोवाट आवरबाट ४५ किलोवाट आवर क्षमताको बनाइएको छ। यस्तै ग्राउन्ड क्लियरेन्स पनि १९० एमएमबाट बढाएर १९५ एमएम बनाइएको छ।

यसैगरी बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले एटो१, २ र ३को फेसलिफ्ट मोडल नाडामा राख्नेछ।

एटो१ मा केही फिचर थपिएको छ। यस्तै एटो२ भने बेस भेरियन्टमा ४५ किलोवाट आवर क्षमता ब्याट्री प्याकमा आएको छ। यसअघि ५१ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा मात्रै थियो। अब यसमा दुई वटा विकल्प छन्।

एटो३ मा पनि फेसलिफ्ट मोडल ल्याइएको छ। जसमा फ्रन्ट लुकदेखि धेरै परिवर्तन गरिएको छ। गाडीमा हेड अफ डिस्प्ले पनि छ।

ओमोडा एण्ड जेकोको ओमोडा इ५ प्रोको लङ रेन्ज नाडा अटो शोमा देखिनेछ। यसको रेगुलर भेरियन्ट पनि नाडामा हुनेछन्।

रोयल इन्फिल्डले नाडालाई लक्षित गर्दै नयाँ मोडल ल्याएको छ। कम्पनीले क्लासिक ३५० गोर्खा बाइक बिहीबार साँझ सार्वजनिक गरेको छ।

यस्तै प्रोटोनले नाडामा दुई वटा गाडी राख्दैछ। प्रोटोनले इम्यास५ र इम्यास७ नाडा अटो शोमा राख्ने भएको हो।

एमजीको पनि धेरै वटा उत्पादन नाडामा देख्न पाइनेछ। एमजी एचएस, यू९, एमजी५, आइएम६ र एमजी६ मोडल नाडा अटो शोमा हुनेछन्।

ग्रेटवाल मोटर्सले ओरा५ र जोयलन नाडा अटो शोमा राख्नेछ। लिपमोटरले ४ वटा प्रोडक्ड राख्ने योजना बनाएको छ। कम्पनीले केही दिन अगाडि मात्रै नेपाली बजारमा ल्याएको लिपमोटर बी०३ एक्सलाई मूख्यरुपमा डिस्प्ले गर्नेछ। बी१०, सी१० र टी०३ पनि स्टलमा राखिनेछन्।

चेरीको क्यूक्यू ब्रान्ड पनि नाडा अटो शोमा देखिनेछ। यसको क्यू३ नाइमामा धेरैले रुचाएको मोडल हो। कामा र स्काईवर्थ पनि नाडा अटो शोमा देखिनेछन्।

आधा दर्जन नयाँ ब्रान्ड आउने

नाडा अटो शोमार्फत आधा दर्जन नयाँ ब्रान्ड नेपाली बजारमा इन्ट्री गर्दैछन्। एमहिरो, जेटेओर, भिडा, मेड इन नेपाल सिप्रदी यात्री जस्ता ब्रान्ड बजारमा प्रवेश गर्न लागेका हुन्।

एमहिरो नयाँ ब्रान्ड एमएडब्लू ग्रुपले ल्याएको हो। एमहिरो चीन सरकारको स्वामित्वमा रहेको डोङफेङ मोटर कर्पोरेसन कम्पनी हो। यसले लक्जरी इलेक्ट्रिक अफ-रोड गाडी बनाउने गर्छ। यसको एमहिरो१ नेपाल आइसकेको छ।

यसमा १४२ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ। यो ब्याट्रीले फुल चार्जमा ४५० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

चांगनको नेभो पनि नेपालका लागि नयाँ ब्रान्ड हो। एमएडब्लू वृद्धिले डिपल नेभो क्यू०५ नेपाली बजारमा भित्र्याएको छ।

जेटेओर ब्रान्ड पनि नाडा अटो शोबाट नेपाली बजारमा इन्ट्री गर्दैछ। यसलाई लक्ष्मी ग्रुपले नेपाली बजारमा ल्याएको हो। यो ब्रान्ड चेरी अन्तर्गतको अफ-रोड गाडी बनाउने सब कम्पनी हो। यो ब्राण्ड ट्राभल प्लस अवधारणामा आधारित छ।

नेपालमै उत्पादन भएको सिप्रदी यात्री पनि नाडा अटो शोमा देखिनेछ। यो नेपालमा उत्पादन गरिएको पहिलो इलेक्ट्रिक ब्रान्ड हो। सिप्रदी यात्री अहिले नेपालीहरुले धेरै कुरेर बसेको ब्राण्ड हो। यसको स्पेक र मूल्य नाडा अटो शोमा सार्वजनिक गर्ने कम्पनीको तयारी छ।

हिरोको भिडा पनि नाडा अटो शोमा देखिनेछ। यसको इभी स्कुटर र इलेक्ट्रिक डर्ट बाइक पनि राखिनेछ। नाडा अटो शोमा कमर्सियलतर्फ पनि धेरै नयाँ ब्रान्ड देखिनेछन्।