काठमाडौं। मुद्दा मामिला मिलाउन बिचौलियाको भूमिकामा देखिएका इनम सापकोटासँग कनेक्सन देखिएपछि सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल पनि विवादमा तानिएका छन्।
इनमसँग मुद्दाको विषयमा कुरा गरी होटलमा भेट्न बोलाएको ह्वाट्सएप म्यासेज बाहिरिएपछि न्यायाधीश फुयाल विवादमा तानिएका हुन्।
सम्पत्ति शुद्धीकरणको मुद्दामा थुनामा रहेका विवादास्पद व्यापारी दीपक भट्टदेखि न्याय किनबेचको आरोप लागेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका इनमसँग गरेको संवाद बाहिरिएपछि न्यायाधीश फुयालमाथि छानबिनको माग उठेको छ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले बिचौलियासँग न्यायाधीशले मुद्दाको विषयलाई लिएर होटलमा भेट्न बोलाएको विषय निक्कै गम्भीर भएको भन्दै यस विषयमा छानबिन गर्नुपर्ने बताए।
‘अदालतमा न्याय किनबेच हुन्छ भन्ने जनगुनासो रहेका बेला बिचौलियासँग न्यायाधीशले मुद्दाको विषयमा संवाद गरी होटलमा भेट्न बोलाएको विषय गम्भीर हो। यो विषय अनुसन्धानबाट टुङ्ग्याउनुपर्ने हुन्छ। यसलाई त्यसै सेलाउन दिनु हुँदैन,’ पूर्वन्यायाधीश केसीले भने।
न्याय परिषद्का पूर्वसदस्य उपेन्द्रकेशरी न्यौपानेले विवादमा मुछिएका न्यायाधीशमाथि न्याय परिषद्ले अनुसन्धान गर्न सक्ने बताउँछन्।
‘उहाँको विषय मैले धेरै बुझेको छैन। तर, आधार र प्रमाण देखिन्छ भने न्याय परिषद्ले छानबिन गर्न नसक्ने भन्ने हुँदैन,’ पूर्वसदस्य न्यौपानेले भने।
सर्वोच्चका बहालवाला न्यायाधीश भ्रष्टाचारमा संलग्न भएको विषयमा छानबिन गर्ने निकाय न्याय परिषद् हो। संविधानले नै न्याय परिषद्लाई न्यायाधीशमाथि जाँचबुझको अधिकार दिएको छ। परिषद्ले उच्च अदालतसम्मका न्यायाधीशलाई बर्खास्त गर्न सक्ने भए पनि सर्वोच्चका न्यायाधीशलाई भने सक्दैन। सर्वोच्चका न्यायाधीशलाई संसद्ले महाभियोग लगाएर हटाउन सक्छ। महाभियोग प्रस्ताव दुई तिहाई बहुमतबाट पारित हुनुपर्छ।
न्यायाधीश फुयालले संवाद गरेका बिचौलिया इनम अहिले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।
इनमसँग कनेक्सन देखिएका शसस्त्र प्रहरीका एआइजी बंशीराज दाहाललाई सरकारले गत असोज २३ गते बर्खास्त गरेको थियो।
के भन्छन् फुयाल?
न्यायाधीश फुयालले इनमले आफूलाई प्रतिष्ठित व्यक्तिमार्फत भेटेको स्वीकार गरेका छन्। उनले बिहीबार अपराह्न केही संचारकर्मीलाई डाकेर ‘इनमले एक मित्रराष्ट्रको राजदूतको प्रतिनिधिका रूपमा नेपालमा काम गर्छु, दूतावासमा काम गर्छु, महाभियोग लाग्न दिंदैनौं भन्दै सुरूका दुई महिना एकदम राम्रा कुरा गरे’ भनेका छन्।
फुयालका अनुसार सर्वोच्चका अरु न्यायाधीश र प्रशासकले पनि इनमसँग होटल हिमालयमा भेटेका थिए। उनले इनमलाई भेट्ने अरु न्यायाधीशको भने नाम खुलाउन चाहेनन्।
प्रधानमन्त्री, प्रधानन्यायाधीश र प्रहरी महानिरीक्षकसँग सम्बन्ध रहेको बताउँदै विवादास्पद व्यक्तिको मुद्दाबारे कुरा गरेपछि आफूलाई इनमप्रति शंका लागेको र आफूहरुले नै सूचना दिएर पक्राउ गर्न लगाएको दाबी गरेका छन्।
‘मेरो अनुरोध छ, यस विषयमा सूक्ष्म र विस्तृत अनुसन्धान होस्। म लगायत न्यायिक नेतृत्व वा अन्य न्यायाधीशलाई विवादमा ल्याउनेभन्दा एउटा व्यक्तिले विभिन्न उच्चपदस्थ व्यक्तिहरूको नाम र पहुँच प्रयोग गरेर समग्र न्यायपालिका, प्रहरी प्रशासन र अन्य प्रशासनिक निकायमा कसरी प्रभाव पार्न खोजेको रहेछ भन्ने विषयमा अनुसन्धान हुनुपर्छ,’ उनले भने, ‘हामी दोषी देखियौं भने त्यसका लागि तयार छौं। तर हामीले गरेको उजुरीकै कारण यो अनुसन्धान सुरू भएको हो भन्ने सन्दर्भ पनि बुझिदिनुपर्छ।’










