रसियाको अरबात स्ट्रिटमा रिब्रान्डेड भएको स्टार्स कफी, कसरी चलिरहेको छ अर्थतन्त्र?

ऋषिकेश दाहाल
२०८३ कात्तिक १३ गते ०६:०७ | Oct 30, 2026
रसियाको अरबात स्ट्रिटमा रिब्रान्डेड भएको स्टार्स कफी, कसरी चलिरहेको छ अर्थतन्त्र?


मस्कोको ‘रेड स्क्वायर’ भन्दा ६०० मिटर दुरीमा छ अरबात स्ट्रिट। त्यहीँ छ स्टार्स कफीको आउटलेट। टाढाबाट हेर्दा स्टारबक्स देखिए पनि नजिकै पुगेपछि लोगोमा थोरैमात्र फरक देखिन्छ। बाँकी सबै हुबहु।

GBIME
Tata

चार वर्ष अघि स्टार कफीको यो आउटलेट स्टारबक्सकै ब्रान्डिङमै चल्थ्यो। युक्रेन-रुस युद्धका कारण रसियाबाट विदेशी ब्रान्ड बाहिरिनेक्रममा स्टारबक्स पनि समेटियो। रुसी व्यवसायी एन्टन पिन्स्की र चर्चित र्‍यापर तिमातीले स्टारबक्सका सबै आउटलेट किने। भाडामा रहेका स्टोरदेखि उपकरण सबै बिक्यो। त्यसपछि स्टारबक्स स्टार कफीमा रि-ब्रान्डिङ भयो।

युक्रेन र रसिया बीच दोहोरो आक्रमणका घटनापछि अन्तर्राष्ट्रिय दबाब यति चर्को रह्यो कि मल्टिनेसनल कम्पनीहरू स्टारबक्सजस्तैगरी यहाँबाट पलायन भए। विश्वभर स्थापित स्टारबक्स १५ वर्षदेखि रसियामा संचालनमा आएको थियो।

अरबात स्ट्रिटको यही आउटलेट स्टार कफीमा रुपान्तरित भएर औपचारिक रुपमा उद्घाटन पनि भयो पहिलो ब्रान्डिङ आउटलेटका रुपमा। सन् २०२२ मा १३० भन्दा बढी स्टारबक्सका आउटलेट यसैगरी बिक्रीमा गए। अरबातमा रहेको यही आउटलेटमा मैले कफी पिउँदा स्टारबक्सको स्वादभन्दा कुनै पनि कोणमा फरक पाइन।

करिब एक हजार कम्पनीले रुसमा आफ्ना उत्पादन र सेवा स्थगित गरे अथवा बिक्री गरेर बाहिरिए।

पश्चिमा मिडियाका रिपोर्टलाई मान्ने हो भने यसरी बाहिरिँदा कतिपय कम्पनीले त कौडीकै भाऊमा मल्टिनेसनल कम्पनी र ब्रान्ड बिक्री गरेका थिए।

रसियामा स्थापित स्टारबक्सभन्दा पुरानो ब्रान्ड म्याक्डोनाल्डसको कथा पनि अझ ठूलो छ। सन् १९९० मा पुस्किन स्क्वायरबाट रसिया छिरेको म्याकडोनाल्डसको ८५० वटा रेस्टुरेन्ट संचालनमा थिए सन् २०२२ सम्म। युक्रेनमा सैन्य कारबाहीपछि यो मल्टिनेसनल चेन आउटलेट अस्थायी रुपमा बन्द भयो।

पछि साइबेरियामा २५ वटा आउटलेट चलाइरहेका व्यवसायी अलेक्ज्यान्डर गोभोरलाई बिक्री गरियो। ‘रसिया डे’को दिन पारेर म्याक्डोनल्डसको रिब्रान्डिङ भयो, ‘VkusnoiTochka’ का रुपमा। लोगोमा केही परिवर्तन गरियो भने मेनुको फेरि न्वारन भयो खानेकुरा एकै भए पनि।

याला स्कुल अफ म्यानेजमेन्टको एक अध्ययन अनुसार माथिका दुई मल्टिनेसनल ब्रान्डिङजस्ता करिब एक हजार कम्पनीले रुसमा आफ्ना उत्पादन र सेवा स्थगित गरे अथवा बिक्री गरेर बाहिरिए। पश्चिमा मिडियाका रिपोर्टलाई मान्ने हो भने यसरी बाहिरिँदा कतिपय कम्पनीले त कौडीकै भाऊमा मल्टिनेसनल कम्पनी र ब्रान्ड बिक्री गरेका थिए।

सन् २०२२ को फ्रेबुअरी २४ मा रुसले युक्रेनमाथि पूर्णकालीन सैन्य आक्रमणको घोषणा गर्‍यो। त्यसको प्रतिरोध गर्दै पश्चिमा मुलुकले रसियामाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाए। अमेरिका र युरोपेली संघले थालेको यो प्रतिबन्धले रुसमा कडा वित्तीय प्रतिबन्ध लागू भयो।

विदेशी कम्पनीले रसियामा कमाएर पठाउन सक्ने अवस्था टुट्यो। बाहिरी विश्वसँगका सबैखाले यातायत बन्द हुँदा कच्चा पदार्थ, पार्टपुर्जा र सामान रसियामा आयात गर्न नसकिने अवस्था बन्यो। यहाँ उत्पादन हुने खाद्यान्नदेखि गाडी र मेसिनरीसम्मका वस्तु बाहिरी देशमा पठाउन कठिन भयो। यिनै दवावबीच विदेशी कम्पनीहरू रसियाबाट बाहिरिन थाले।

अरबात स्ट्रिटको स्टार कफी पिएको सन्दर्भ उठाउँदै मैले एकजना रसियाली पत्रकारलाई सोधेँ – यस्तो परिस्थितिमा कसरी चलिरहेको छ अर्थतन्त्र?

उनले सीमितताबीच नै रसियाको अर्थतन्त्र अगाडि बढिरहेको सुनाए। एकखाले सकस र प्रतिरोधको बीचमा वैकल्पिक बाटो तय गरेको सन्दर्भ उनले सुनाए।

‘यो युद्ध आजको भोलि भएको होइन। युद्धका लागि रसिया र युक्रेन दुवै तयारी अवस्थामा रहेछन् भन्ने पछिल्ला घटनाक्रमले देखाउँछ,’ उनले सुनाए, ‘अहिले अमेरिका र युरोपेली बजारसँग रसियाको कारोबार छैन। रसियाले नयाँ बजार पहिचान गरेर त्यसलाई पूर्ति गर्न खोजेको छ। भारत, चीन लगायतका देशहरूसँगको काराबारले केही हदसम्म सघाएको छ। वास्तवमै नयाँ एभेन्यू सिर्जना भएको छ।’

अमेरिकाको चर्को दबाबका बाबजुद पनि भारत र चीन दुवैले रसियासँगको व्यावसायिक साझेदारी कायम राखेका छन्। युद्धका कारण कम मूल्यमा पेट्रोलियम पदार्थ यी दुवै मुलुकले रसियाबाट किनिरहेका छन्। पेट्रोलियमदेखि पिउने पानीसम्मै रसिया विश्वकै बलियो स्रोतवाला मुलुक हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुई साता अघि फेरि रसियाबाट इन्धन किन्ने विषय उठाएका थिए। यसले पश्चिमा देशमा फेरि अर्को विवाद निम्तेको छ।

अरबात स्ट्रिट मस्कोको पर्यटकीय केन्द्र नै हो हाम्रो वसन्तपुर जस्तै। यहाँको सव-वे होस् या नजिकैको रेड स्क्वायर अथवा क्रिमलिन नै किन नहोस् – सधैं चर्चामा रहन्छ। पुरानो शहरसँगै बन्दै गरेका आधुनिक भवनले युद्धमा रहेको देश भन्ने अलिकति पनि छनक दिइरहेको थिएन। युद्धकै बिचमा पनि प्रविधि केन्द्र विस्तार गरिरहेको रहेछ रसियाले। यी सबै परिवेशमा केही फरक देखियो भने त्यो हो – पश्चिमा अन्तर्राष्ट्रिय ब्रान्डेड वस्तु र सेवा केन्द्र यस शहरबाट पलायन हुनु।

यही स्ट्रिटमा मैले एउटा स्पेनिस आउटलेट चाहिँ भेटेँ। अरु युरोपेली र अमेरिकी कम्पनीका ब्रान्ड भने मुस्किलै रहेछ भेटिन। भएका आउटलेटहरूमा पनि ब्रान्डिङ गरिनेगरी डिस्प्ले भएको देखिएन। एडिडास वा त्यस्कै ब्रान्डका सामग्रीका स्टकलाई मल्टीब्रान्ड स्टोरबाट बिक्री हुने रहेछ। त्यस्तै जाराजस्ता ब्रान्ड संयुक्त अरब इमिरेटका कम्पनीलाई बिक्री गरेर ब्रान्डिङ फेर्ने काम भएको रहेछ – स्टारबक्सकै शैलीमा।

‘मलाई लाग्छ अझै पनि कतिपय बिक्री वा रिब्रान्डिङ देखावटी हुनसक्छ। कागजमा बिक्री भए पनि कतिपय कम्पनीहरू रसियाको बजार फेरि बाँकी विश्वसँग खुल्ने अपेक्षामा छन्,’ ती रसियन पत्रकारले सुनाए, ‘कुनै न कुनै दिन युद्ध सकिने र फेरि बजारमा फर्किनसक्ने आशा ती लगानीकर्ताहरूमा हुनुपर्छ।’

पश्चिमा बजार खुम्चिँदै जाँदा त्यसको असर चिनियाँ ब्रान्ड विस्तारबाट देखिँदैछ यहाँका आउटलेटमा। एडिडास र नाइकीका ठाउँमा चीनका लि निङ वा अन्टाजस्ता स्पोर्ट्स ब्रान्डले आधिकारिक स्टोरहरू विस्तार गरिरहेका छन्। जाराजस्ता ब्रान्डका विकल्पमा ग्लोरिया जिन्स, मिलोन फेसन ग्रुपजस्ता स्थानीय ब्रान्डले युरोपेली स्टोरले होल्ड गरेका आउटलेटलाई बिर्साइरहेका छन्।

डिजिटल स्पेयरमा रहेका सपिङ स्टोर होस् या ट्याक्सी – स्थानीय एपको बजार विस्तार भएको छ। ‘एन्डेक्स गो’ले नेपालसहित धेरै देशमा उपस्थिति जनाएको ‘उबर’को उपस्थिति बिर्साएको छ। गुगल म्याप एन्डेक्स म्यापबाट विस्थापित भएको छ। डेटामा आधारित इन्टरनेट र मोबाइल फोन सेवासबैलाई सहज छ। युट्युबजस्ता भिडियो सेयरिङ एप्लिकेसनहरू स्थानीय भिडियो एप्लिकेसनमा सीमित भएको छ। बाँकी विश्वसँग जोडिन यहाँ जनस्तरमा ‘भिपिएन’को विस्तार उत्तिकै देखिन्छ।

‌+++

नेपालबाट मस्कोका सडकमा त्यहाँका नागरिकहरूसँग कुरा गर्दा धेरैले नेपाल चिन्ने र रसुवा-नुवाकोटको बाढीबारे प्रश्न गरिहाल्ने पाएँ। उनीहरूलाई लागेको रहेछ – बाढीले सिंगै नेपाल प्रभावित र डावाडोल अवस्थामा छ। ठ्याक्कै त्यस्तै अनुमान थियो हाम्रो – रसिया युद्धमा छ, ड्रोन र अरू हमला चलिरहेकाले अवस्था नाजुक छ।

बाढीका फुटेज देखेर नेपालप्रति उनीहरूले राख्‍ने धारणा र युद्धका समाचारले हामीले रसियाप्रति राख्‍ने धारण एकैखाले रहेछन् – अपूरो।

मस्कोमा युद्धको छायाँसम्म देखिएन। ९० वर्षभन्दा पुरानो विरासत बोकेको यहाँको मेट्रोले रातको १ बजेसम्मै रफ्तार लिइरहँदो रहेछ। सब-वेमा मानिसको भिड र त्यही म्युजिक बजाएर रमाइरहेका युवा पुस्ताहरू निर्धक्क देखिन्थे। साँझ पर्नासाथ पुरानो घरभित्र सञ्चालनमा रहेका रेस्टुराँहरू गुलजार देखिए। अरबत स्ट्रिटका रेस्टुराँहरू उत्तिकै भरिभराउ।

‘सोभिनर सप’मा चहलपहलउत्तिकै। फरक यतिमात्र हो – पर्यटकीय यस सहरमा पश्चिमा पर्यटक ज्यादै न्युन देखिए। आन्तरिक पर्यटकबाहेक सोभियत संघभित्रका देश र अरब मुलुकका पर्यटक भनेराम्रै संख्यामा देखिए मस्कोमा।

रेडस्क्वारयमा बिहानैदेखि मानिसहरूको घुँइचो। चोकैपिच्छेका म्युजिमय र चर्चा पनि मानिसको गतिविधि उत्तिकै। मस्को नदीमा र्‍याडिसन होटलका क्रुजहरू बिहानदेखि मध्य रातसम्मै भरिभराउ चलिरहेका। मस्को घुम्ने प्रमुख दुई रुटमा एउटा जलमार्ग हो भने अर्को सडकमार्ग। अरबत स्ट्रिटमा सिटी टुरका लागि दुई तल्ले बस पर्यटक लिएर ओसारिरहेको दृश्यले युद्धभन्दा परै छ मस्को भन्ने देखाइरह्यो।

त्यसमाथि आफूलाई मन लागेको समयसम्म म निस्फिक्री घुम्न निस्किँदा अलिकति पनि असहज मसुस भएन। सब-वेसँग जोडिएका जमिन मुनिका सुपर मार्केटहरू अन्यत्र भन्दा फरक देखिए। जमिनमुनि छु भन्ने महसुस हुँदैन माइनसतिरको बहुतले भवनमा। रेड स्क्वारबाहिरको सब-वेसँगैको माइनस तलातिर सबै सामान मिल्छ। रेस्टुराँहरू पनि बाक्लै छन् भित्र। तिनमा ‘फुट फ्लो’ पनि उत्तिकै।

यस्ता दृश्यले सबै ठिकठाक छ भन्ने देखाए पनि युद्धको मूल्य भने सधैं महँगो नै हुने गर्छ। सबै ठिकठाक हुँदा पनि यहाँका मानिसमा निर्धक्क बाहिरी देशको यात्रामा जान धक मान्नुपर्ने अवस्था कायमै छ। त्यही अवस्था छ मुद्राको।

रुबेलसँग विदेशी मुद्रा सटही पहिलेको तुलनामा सहज छैन। दुबई विमानस्थलमा मुद्रा किनबेच हुने सेन्टरमा जाँदा ज्यादै न्यून मात्रामा रुबेल किनिने गरेको सुनाए। यस्तै सफोकेसनकै बिच ग्लोबल डिजिटल दुनियाँमा निषेध भोगिरहेको रसियाले आफ्नै स्फेयर बनाउन चाहिरहेको छ। जुन निक्कै महत्त्वकांक्षी पनि हो।

यी सबै परिस्थिति देखेपछि मैले प्राध्यापक नातलिया इबेललाई सोधेँ – हरेक संक्रमणपछि रसिया बलियो बनिरहेको देख्‍छु, सन् १९९० होस् या अहिले। आफ्नै उत्पादनको बलमा उभिनु सहज होइन। अब पनि परिस्थिति थप बलियो हुने देख्‍नुहुन्छ कि हुन्न?

इबेलले लामो सुस्केरा हाल्दै उत्तर दिइन्, ‘हाम्रो जीवनकालमा कति पटक संक्रमण सहनुपर्ने हो? युद्धले हामीजस्ता नागरिकलाई थकाइसक्यो। जतिसक्यो छिटो यो टुंगियोस् त्यही कामना छ।’