
काठमाडौं। साल्ट ट्रेडिङ कर्पोरेशन जसमा सरकारी लगानी पनि छ। त्यही संस्थाले सरकारलाई गुमराहमा राखेर अनावश्यक 'ह्याभोक' सिर्जना गर्न खोजेको देखिन्छ।
दुई महिना अघि कर्पोरेशनले अर्थमन्त्रालयको असहयोगका कारण आयात हुन नसकेको र दसैंतिहारमा चिनीको हाहाकार हुने सार्वजनिकरूपमा भनेको थियो। त्यसमा वाणिज्य मन्त्रालयले समेत सही थाप्दै वैशाखमै ३० हजार टन चिनी आयातका लागि प्रस्ताव पठाए पनि कुनै जवाफ नआएको जानकारी दिएको थियो।
सहुलियतको चिनी नआए निजी क्षेत्रले मूल्य बढाउने र उपभोक्ता महँगोमा पर्ने उनीहरुको जिकिर थियो। तर दसैं सकिएर तिहारको पूर्वसन्ध्यामा रहँदा पनि चिनीको कुनै अभाव छैन। न उपभोक्ताले पहिलाको भन्दा महँगोमा चिनी किन्नुपरेको छ। दुई महिना अघि चिनी सकिन लागेको भन्दै सार्वजनिक रूपमा बोल्ने साल्ट ट्रेडिङले अहिले उपभोक्ताले जति मागे त्यति चिनी बेचिरहेको छ।
अहिले आएर साल्ट ट्रेडिङले भन्न थालेको छ-'छठसम्म चिनी अभाव हुँदैन।' यो अवधिमा साल्ट ट्रेडिङले निजी क्षेत्रसँग पनि चिनी किनेको छैन। यो आधारमा साल्ट ट्रेडिङले सरकारलाई समेत गुमराहमा राखेर सहुलियतको चिनी आयात गर्न खोजेको देखिन्छ।
साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले दुई महिना अघि पाँच सय टन चिनी रहेको र स्टक सकिन लागेकोले एक जनालाई दुई किलो मात्रै बिक्री गरिरहेको बताएका थिए। अहिले उनै राजभण्डारीले तीन सय टन चिनी बाँकी रहेको र छठसम्म पुग्ने जानकारी दिएका छन्।
'हामीसँग अहिले तीन सय टन चिनी छ। यसले छठसम्म पुग्ने अनुमान गरेका छौं,' उनले अहिले बिजमाण्डूसँग भनेका छन्, 'गत वर्ष आयात भएको २० हजार टन चिनी अहिले बिक्री गरिरहेका छौं।' साल्ट ट्रेडिङले सात वटा आउटलेटबाट चिनी बिक्री गरिरहेको छ। यो बाहेक नेपाली सेना र दुग्ध विकास संस्थानलाई साल्ट ट्रेडिङले चिनी बिक्री गर्छ।
उनका अनुसार सहुलियत पसल सुरु भएको ३५ दिनमा १ लाख २२ हजार किलो चिनी बिक्री भएको छ।
तीन महिनामा साढे पाँच करोड किलो चिनी आयात
सरकारी कम्पनी मात्रै होइन व्यवसायीसँग पनि यथेष्ट चिनी छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा भारतबाट २ अर्ब ७५ लाख रुपैयाँको करिब ५ करोड ५२ लाख किलो चिनी आयात भएको छ।
गत वर्ष सो अवधिमा २ अर्ब ५६ लाख रुपैयाँको ६ करोड ४३ लाख केजी चिनी आयात भएको भन्सार विभागले जनाएको छ। यो बाहेक स्वदेशी चिनी मिलसँग ८० हजार टन चिनी छ।
स्वदेशी उत्पादन कम भएको जानकारी पाएपछि व्यवसायीले चिनी आयात बढाएका हुन्। नेपालमा वार्षिक २ लाख ५० हजार टन चिनी आवश्यकता पर्छ। तर पछिल्लो समय ३ महिनामै ५० हजार टन भन्दा बढी आयात भइसकेको छ।