
काठमाडौं। बैंकिङ क्षेत्र तरलताबाट आक्रान्त बनिरहेका बेला सेयर बजार भने तीन दिनदेखि लगातार उकालो लागिरहेको छ। सेयर बजार उकालो लाग्नुको कारण केही देखिदैन्।
तर आइतबार २७ अंक, सोमबार ८७ अंक र मंगलबार ७८ अंकसहित करिब २०० अंक बढेको छ।पछिल्लो समय दैनिक ३ अर्ब रुपैयाँमा झरिसकेको कारोबार रकम समेत मंगलबार करिब साढे ६ अर्ब रुपैयाँ पुगेको छ।
बजारमा सूचक मात्रै नबढेर कारोबार रकम समेत बढिरहेकोले बजारको बृद्धि दीर्घकालिन भएको आम लगानीकर्ताको बुझाइ छ।
तर के बजार साँच्चै दीर्घकालिन रुपमै बलियो हुने आधार छन् त?
बजार बिश्लेषक अनलराज भट्टराई बजारमा नदेखिने गरी साना सुधार भइरहेकोले दीर्घकालिन रुपमै बजार बढ्न सक्ने जिकिर गर्छन्।
'पहिले पनि बजार हल्लै हल्लैमा घटेको थियो। अहिले राम्ररी अध्ययन गर्दा बजार धेरै घट्नुपर्ने कारणनै देखिएन। त्यसमा राष्ट्र बैंकले नदेखिने गरि केही साना साना नीतिगत सुधार गरेकाले सुधार भएकोहो,' उनले भने।
अहिले निक्षेपको ब्याजदर बढाएपनि कर्जाको ब्याजदर बढाउन नपाउने गरि राष्ट्र बैंकले निर्देशन दिएको छ। ब्याजदर बढाउनु पर्ने भए तीन महिनाको औसत लिनुपर्ने भएकाले पनि केहि समय बजार सकारात्मक दिशामा जान सक्ने भट्टराईले बताए।
नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार राष्ट्र बैंकबाट थप केही सकारात्मक नीति आउन सक्ने मनोविज्ञानले बजारमा सकारात्मक प्रभाव पारेको बताउँछन्।
'पहिला नकारात्मक कुरा धेरै आए। ब्रोकरले पनि लगानीकर्ताको खातामा पैसा हालिदिएनन्। प्राविधिक विष्लेषकले पनि नकारात्मक कुरा मात्रै गरे,' उनले भने 'तर अहिले राष्ट्र बैंकले सिडी रेसियो खारेज गरेर सिसिडी रेसियो नै कायम गर्ने, ब्याजदर बढ्न नदिन हस्तक्षेप गर्ने र बजार धेरै तल आइसकेकोले यसलाई प्रभाव पार्ने गरि कुनै पनि विषय उठाउदैन भन्ने विश्वासले बजार सकारात्मक दिशामा गइरहेको छ।'
लाभांस घोषणा गरेका कम्पनीले पनि राम्रो प्रतिफल घोषणा गरेको बताउँदै रौनियारले ४०/५० प्रतिशत सम्म मूल्य घटिसकेको समेत बताए।तरलता अभाव भएको र विदेशी मुद्राको सञ्चिती घटेको विषयले मात्रै सेयर बजारलाई त्यति धेरै नछुने विश्लेषक भट्टराईको भनाई छ। ४० लाख बढी लगानीकर्ता रहेको बजारमा बैंकबाट ऋण लिएर लगानी गर्नेको संख्या ८ हजार हाराहारी मात्रै रहेको बताउँदै उनले खुद्रा पैसा मात्रै आउँदा बजारले लय समात्ने बताए।
यस्तो रह्यो कारोबार
मंगलबार २२७ कम्पनीको एक करोड १५ लाख कित्ता सेयर कारोबारबाट ६ अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएका छन्। सोमबार जम्मा चार अर्ब ३० करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको थियो।
सूचक ७८ अंकले बढेर २७५१ बिन्दुमा पुगेको छ। २५११ बिन्दु सम्म झरेको बजार ५ कारोबार दिनमा करिब २४० अंक बढेको छ।
सबै उपसमूह हरियो हुँदा जीवन बीमा समूह ५०० अंक, निर्जिवन बीमा समूह ३१७ अंक, होटल तथा पर्यटन २३२ अंक, विकास बैंक १८५ अंक, उत्पादन समूह १७४ अंक, फाइनान्स समूह १३६ अंक र जलविद्युत समूह १२३ अंक बढेको छ।
कारोबारमा आएका मध्ये ६ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको मूल्य स्थिर छ भने बाँकी सबै कम्पनीको मूल्य बढेको छ।
कामना सेवा विकास बैंकको सर्वाधिक ४४ करोड ७५ लाख रुपैयाँको सेयर किनबेच हुँदा नबिल बैंकको ३४ करोड ७८ लाख , एनआइसी एसियाको २४ करोड ५५ लाख र अरुण भ्याली हाइड्रोपावरको १६ करोड रुपैयाँको सेयर किनबेच भएको छ।