विद्युत प्राधिकरणले सुरु गर्‍यो डिएमएस र सफ्टवेयरबाट चल्ने बिलिङ सिस्टम प्रणाली



बिजमाण्डू
२०८३ साउन २० गते १२:१६ | Aug 5, 2026
विद्युत प्राधिकरणले सुरु गर्‍यो डिएमएस र सफ्टवेयरबाट चल्ने बिलिङ सिस्टम प्रणाली


​काठमाडौं। नेपाल विद्युत प्राधिकरणले ‘डिजिटल एनइए’ अवधारणालाई थप सुदृढ बनाउने लक्ष्यका साथ विद्युत व्यापार विभागमार्फत निर्मित ‘डकुमेन्ट म्यानेजमेन्ट सिस्टम (डीएमएस)’ तथा ‘सफ्टवेयर बेस्ड बिलिङ सिस्टम’ को सुरुवात गरेको छ।

Tata
GBIME

प्राधिकरणमा आयोजित कार्यक्रमका बीच कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले दुवै प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन्।

​नयाँ संचालनमा आएको डकुमेन्ट म्यानेजमेन्ट सिस्टममार्फत निर्माणाधीन आयोजनाहरूले आफ्ना चौमासिक प्रगति विवरण, संचालित आयोजनाहरूले वार्षिक प्रतिवेदन, समन्वय समितिका माइन्युट, र बीमा विवरणहरू अनलाइनबाटै बुझाउन सक्नेछन्।

साथै, आइपीपीहरूले विभागसँग गर्ने पत्रआदान-प्रदान डिएमएसबाटै गर्न सक्नेछन्। पीपीए र आयोजनाका जानकारीहरू एउटै एकीकृत प्लेटफर्ममा उपलब्ध प्राधिकरणको जानकारी दिएको छ।

त्यस्तै, सफ्टवेयर बेस्ड बिलिङ सिस्टममार्फत संचालनमा रहेका आयोजनाहरूले अभाइलविलिटी डिक्यिरेसन(एडी) तथा रिभाइजड अभाइलाविलिटी डिक्लिरेसन (आरएडी) पेश गरेर अनलाइनबाटै स्वीकृति लिन सक्ने, संयुक्त मिटर रिडिङ (जेएमआर) पेश गर्न सक्ने भएका छन्।

अब मासिक विद्युत बिलहरू अनलाइनबाटै प्रक्रियामा लैजान सक्ने जनाइएको छ ।

कार्यक्रममा श्रेष्ठले डिजिटल प्राधिकरण निर्माणको लक्ष्यमा विभागको पहलको प्रशंसा गर्दै यी प्रणालीहरूलाई यथाशीघ्र निरन्तर कार्यान्वयनमा ल्याउन र समयसापेक्ष बनाउँदै लग्नुपर्नेमा जोड दिएका छन्।

​प्राधिकरणको विद्युत व्यापार विभागका प्रमुख थर्क बहादुर थापाले प्रविधिको प्रयोगसँगै विभाग थप पारदर्शी र स्वतन्त्र ऊर्जा प्रवर्द्धकमैत्री बन्दै गएको बताए। यसले आगामी दिनका विद्युत खरिद सम्झौता (पीपीए) तथा निर्माण व्यवस्थापन सम्बन्धी कार्यलाई थप सहज बनाउने उनी बताउँछन्।

​नयाँ डिजिटल प्रणालीको सुरुवातसँगै निजी क्षेत्रका ऊर्जा प्रवर्द्धक र प्राधिकरणबीचको प्रशासनिक तथा व्यावसायिक कार्यसम्पादन थप छरितो, पारदर्शी र प्रविधिमैत्री हुने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ।