क्यानडाको वायुसेवा कम्पनी पोर्टर एयरलाइन्सले विउज व्रुइङको सहकार्यमा 'पोर्टर' वियर उत्पादन सुरु गरेको छ। कम्पनीले आफ्नै नामसँग आधारित डार्क वियरको उत्पादन सुरु गरेको हो।
गत अक्टोबर १२ तारिखबाट आफूले उत्पादन गरेको वियरसँगै यात्रुलाई निशुल्क स्न्याक्स वितरण गर्न सुरु गरिसकेको कम्पनीले जनाएको छ। कम्पनीले इन्फ्लाइट सेवा अन्तर्गत ४७३ एमएलको क्यान वियर वितरण सुरु गरेको जनाएको छ।
कम्पनीका अनुसार पोर्टरको राकुन मस्कोट डिजाइनमा आधारित यो वियर यही महीनाभित्र ओन्टारियो र क्युबेकको सिमीत स्टोरमा वितरण गर्ने योजना रहेको छ।
'यो हाम्रो लागि अभूतपूर्व अवसर हो। यसमार्फत हामीले विमानस्थल, जहाज र बाहिरका ग्राहकमाझ आफ्नो ब्राण्डिङ गर्नमा थप टेवा पुग्ने देखेका छौँ।' कम्पनीका चिफ कमर्सियल अफिसर केविन ज्याक्सनले भने,'हामीले नयाँ वियरको उत्पादन सँगै आफ्ना यात्रुलाई निशुल्क अनबोर्ड सेवा दिनेछौँ जसमार्फत यात्रुले पोर्टरमार्फत थप नयाँ अनुभव लिन सक्नुहुनेछ।'
कम्पनीले विउ ब्रिवीङको अरु उत्पादन पनि आफ्नो अनबोर्ड सेवामा समावेश गर्ने योजना रहेको उनले जानकारी दिए।
कोभिडका कारण १८ महिना यता बन्द भएको यो वायुसेवा कम्पनीले गत सेप्टेम्बर ८ तारिबाट आफ्नो नियमित उडान पुनः सुरु गरेको हो। यो वायुसेवा कम्पनी पोर्टर एभिएशन अल्डिङ्स इन्कको भगिनी कम्पनी हो।