गोरखाको घ्याम्पेसाल सबस्टेसन सञ्चालनमा आयो, ६ पालिकाका १५ हजार बासिन्दालाई सेवा सहज



बिजमाण्डू
२०८३ साउन १९ गते १०:५७ | Aug 4, 2026
गोरखाको घ्याम्पेसाल सबस्टेसन सञ्चालनमा आयो, ६ पालिकाका १५ हजार बासिन्दालाई सेवा सहज


काठमाडौं। गोरखामा भीमसेन थापा गाउँपालिकाको घ्याम्पेसालमा निर्माण सम्पन्न ३३/११ केभी सबस्टेसन सफलतापूर्वक चार्ज भई सञ्चालनमा आएको छ। सबस्टेसन सञ्चालनमा आएसँगै उत्तरी गोरखाको विद्युत् आपूर्ति प्रणाली थप भरपर्दो, गुणस्तरीय र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

Tata
GBIME

नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारको संयुक्त लगानीमा यो आयोजना निर्माण गरिएको हो।

आयोजनाअन्तर्गत डोटी, कैलाली, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा, रुपन्देही, नवलपरासी, तनहुँ, गोरखा र म्याग्दी लगायतका विभिन्न जिल्लामा ३३/११ केभी सबस्टेसन, ३३ केभी प्रसारण लाइन, ११ केभी फिडर तथा ४०० भोल्टका एलटी (लो टेन्सन) वितरण लाइन निर्माण गर्ने कार्यक्रम थियो।

प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले लामो समयदेखि स्थानीय स्तरमा देखिएको अवरोध हटेसँगै सबस्टेसन सञ्चालनमा आउनु उत्तरी गोरखाका बासिन्दाका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार सबस्टेसन सञ्चालनमा आएसँगै उत्तरी गोरखाका ६ वटा गाउँपालिकाका करिब १५ हजार बासिन्दाले भरपर्दो र गुणस्तरीय विद्युत् सेवा प्राप्त गर्नेछन्।

साथै यस क्षेत्रमा निर्माणाधीन १० मेगावाट क्षमताको बारपाक–दरौंदी जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् पनि यही सबस्टेसनमार्फत नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय विद्युत् प्रणालीमा जोडिनेछ।

भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जाराले घ्याम्पेसाल सबस्टेसन सञ्चालनमा आएसँगै उत्तरी गोरखाका बासिन्दाको लामो समयदेखिको भरपर्दो विद्युत् सेवाप्रतिको अपेक्षा पूरा भएको बताए। उनका अनुसार यो सबस्टेसन सञ्चालनमा आएपछि गोरखा बजार सबस्टेसनमा पर्ने विद्युत् भारसमेत घट्ने भएकाले लाइन अवरुद्ध हुने समस्या न्यून हुने विश्वास गरिएको छ।