बाँकेमा ३० मेगावाटको सोलार आयोजना निर्माण हुने, विभागले माग्यो सरोकारवालाको सुझाव



बिजमाण्डू
२०८३ साउन १९ गते १०:१० | Aug 4, 2026
बाँकेमा ३० मेगावाटको सोलार आयोजना निर्माण हुने, विभागले माग्यो सरोकारवालाको सुझाव
फाइल तस्बिर


काठमाडौं। बाँकेमा ३० मेगावाट क्षमताको न्यु नेपालगञ्ज सौर्य विद्युत आयोजना निर्माण हुने भएको छ। बैजनाथ-३ र खजुरा-४ मा मुख्य संरचना बनाउने गरी प्रवर्द्धक कम्पनी सोल पावर लिमिटेडले विद्युत विकास विभागमा प्रक्रिया अघि बढाएको हो।

Tata
GBIME

विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै विद्युत नियमन नियमावली, २०५० बमोजिम प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन र विस्तृत आयोजना प्रतिवेदनका आधारमा विवरणहरू सार्वजनिक गरेको छ।

विद्युत ऐन, २०४९ को दफा २४ बमोजिम भू-क्षय, वायु प्रदूषण आदिका कारण वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने गरी स्वीकृत प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन अनुसार आयोजना सञ्चालन गरिने बताइएको आयोजना बनाउँदा प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय प्रतिक्रिया दिन विभागले सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रस्तावित आयोजनाको जडित क्षमता ३० मेगावाट रहनेछ। यसबाट वार्षिक सरदर ५९.९२२ गिगावाट घण्टा विद्युत उत्पादन हुने अनुमान छ। आयोजनाको मुख्य संरचनाहरू बैजनाथ गाउँपालिका-३ र खजुरा गाउँपालिका-४ को करिब ३०.४७ हेक्टर जग्गामा निर्माण गरिने प्रस्ताव छ।

आयोजनामा सोलार फोटोभोल्टाइक प्यानलहरूबाट डीसी विद्युत निकाली २५५ के.भोल्ट क्षमताको १०८ वटा र ७५ के.भोल्ट क्षमताको ३ वटा स्ट्रीङ इन्भर्टरमार्फत विद्युत उत्पादन गरिनेछ। उत्पादित विद्युतलाई ३३ के.भी. प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको न्यु नेपालगञ्ज ग्रिड सब-स्टेसनमा जोडिनेछ।

पूर्वनिर्धारित योजनाअनुसार काम अघि बढेमा आयोजना आगामी माघभित्र तयार हुने कम्पनीले विभागमा पेस गरेको विवरणमा छ।