पोखरामा २२ मेगावाटको सेती खोला आयोजनाले थाल्यो उत्पादन, १५ दिन परीक्षण गरिने



बिजमाण्डू
२०८३ असार २५ गते ०९:४८ | Jul 9, 2026
पोखरामा २२ मेगावाटको सेती खोला आयोजनाले थाल्यो उत्पादन, १५ दिन परीक्षण गरिने


कास्की। सेतीखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ। पोखरा–३३ मा निर्माण सम्पन्न २२ मेगावाट क्षमताको आयोजना लक्ष्यको ६ महिना ढिला भएको हो।

Tata
GBIME
Nepal Life

सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्धित आयोजनाको निर्माण २०७८ मंसिरमा थालिएको थियो। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजना निरीक्षण तथा परीक्षण गरेपछि उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको कम्पनी निर्देशक दीपक बरालले जानकारी दिए।

उनका अनुसार प्रारम्भिक रुपमा १५ दिन आयोजना परीक्षण अवधिमा रहनेछ। त्यसपछि नियमित व्यावसायिक उत्पादन सुरु हुनेछ। यो अवधिमा उत्पादित विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह गरिनेछ भने आयोजना र उपकरणको प्राविधिक परीक्षण गरिने छ।

आयोजनाले गत मंसिरदेखि नै उत्पादन सुरु गर्ने लक्ष्य राखेको थियो। तर, प्रसारण लाइन निर्माणसँग सम्बन्धित वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा सम्पन्न गर्न विलम्ब भएको बताएको छ। प्रसारण लाइनका लागि निर्माण गरिएका पाँच टावरमध्ये तीन वटा वन क्षेत्रमा परेकाले आवश्यक स्वीकृतिका लागि समय लागेको निर्देशक बरालको भनाइ छ।

सेती खोला जलविद्युत् आयोजनाको बाँध पोखरा–३३ को तिकलाङमा निर्माण गरिएको छ। त्यहाँबाट ३१०६ मिटर लामो सुरुङमार्ग हुँदै पानी तल्लो पुँडीटारस्थित विद्युतगृहमा पुर्‍याइएको छ । यहाँ ११/११ मेगावाट क्षमताका दुई टर्बाइन जडान गरिएका छन्।

आयोजनामा ५ अर्ब ५ करोड रुपैयाँ लगानी भएको छ। आयोजना व्यावसायिक रूपमा सञ्चालनमा आएपछि आगामी आर्थिक वर्षभित्रै सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने तयारी गरिएको छ।

सेती नदीमा पछिल्लो समय विभिन्न क्षमताका जलविद्युत् आयोजना निर्माणका क्रममा छन्। गत वर्षदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीले प्रवर्धन गरेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरिसकेको छ। हाल आधा दर्जन आयोजना निर्माणको प्रारम्भिक चरणमा र केही निर्माणाधीन छन्। रासस