ऊर्जामन्त्री श्रेष्ठले हाइड्रो टुरिजम अवधारणामा निर्माणाधीन आयोजनाको गरे अवलोकन



बिजमाण्डू
२०८३ असार १४ गते १७:४५ | Jun 28, 2026
ऊर्जामन्त्री श्रेष्ठले हाइड्रो टुरिजम अवधारणामा निर्माणाधीन आयोजनाको गरे अवलोकन

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो-टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन्।

Tata
GBIME
Nepal Life

आयोजनाले निर्माण सुरु भएको ६ महिनामै ३० प्रतिशतभन्दा बढी भौतिक प्रगति गरिसकेको छ।

तनहुँ र नवलपुरको बीचबाट बग्ने कालीगण्डकी नदीमा निर्माणाधीन ४७.७ मेगावाट क्षमताको आयोजना देवघाटको साँधे बगर क्षेत्रमा छ। आगामी २ वर्षभित्रै आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको मौलाकालिका हाइड्रोपावर कम्पनीका अध्यक्ष कृष्णप्रसाद सुवेदीले बताए।

आयोजनाबाट उत्पादित बिजुली चितवनको न्यु भरतपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य छ। यो ड्याम-टू-टो अवधारणामा आधारित आयोजना हो।

यस आयोजनाका लागि बन्ने १८ मिटर अग्लो बाँधका कारण आयोजनाको अपस्ट्रिमतर्फको कालीगण्डकी नदीमा करिब १५ किलोमिटर लामो जलाशय (पोखरी) बन्नेछ। उक्त जलाशयमा सुविधासम्पन्न क्रुज सेवा संचालन गर्ने योजना कम्पनीले बनाएको छ।

अध्यक्ष सुवेदीका अनुसार बाँधको माथिल्लो भागबाट करिब ३० मिटर उचाइमा आकर्षक झरनाजस्तै पानी झर्ने दृश्य अवलोकन गर्न मिल्ने गरी पाँचतारे होटल पनि निर्माणाधीन अवस्थामा छ। यो आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि नेपालकै एक नमूना हाइड्रो-टुरिजम परियोजनाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।