काठमाडौ । सरकारी वार्ता टोली र आन्दोलनरत् ग्यास उद्योगीबीच आइतबार भएको वार्ता विना निष्र्कष टुंगिएको छ । आयल निगमको केन्द्रीय कार्यालय बबरमहलमा भएको ५ घन्टा लामो वार्तामा कुनै सहमति नबनी टुंगिएको हो ।
सरकारसँग भएको वार्ता सकारात्मक दिशातर्फ गइरहेको छ । तर हिजोको वार्तामा सहमति बन्न नसकेकोले फेरी आज बस्ने गरी वार्ता सकिएको छ, ग्यास उद्योग संघका सदस्य राजेन्द्र डल्लाकोटीले भने, सहमतिको प्रयासमा हामी लागेका छौ । तर उनका अनुसार अहिलेसम्म कुनैपनि बुँदामा सहमति भएको छैन ।
आजको वार्ता दिउँसो तीन बजे निगमको केन्द्रीय कार्यालयमै हुने डल्लाकोटीले जानकारी दिए । ग्यास उद्योगीले आफुले खाईपाई आएको कमिसन पाँच प्रतिशत हुनुपर्ने, ग्यासको जनचेतना जगाउन एक प्रतिशत रकम राज्यले दिनुपर्ने, ग्यास कोटा निर्धारण गर्दा संघको सिफारिस हुनुपर्ने, दुईथरी सिलिन्डर कार्यान्वयनमा ल्याउन नहुने लगायतका माग राखेर आन्दोलनमा उत्रिएको छ । ग्यास उद्योगीले भारतबाट ग्यास ल्याउन बन्द गर्दै आन्दोलनमा उत्रिएका छन् भने साउन ३१ देखि उत्पादित ग्यासको बिक्री वितरण ठप्प पार्ने चेतावनी दिइसकेका छन् ।
