सोलुखुम्बु। हिमाली जिल्ला सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ। सोलुखोलामा निर्माणसम्पन्न उक्त आयोजना सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो।
सोलु हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्धित आयोजनाले गत साउन ४ गतेदेखि पहिलो युनिटको विद्युत् उत्पादन थालेको थियो। उत्पादन परीक्षणसहित ग्रिडमा जोडिएको आयोजनाका सहायक प्रबन्धक कृष्णबहादुर चौधरीले जानकारी दिए। सोलुदूधकुण्ड नगरपालिका-७ र ११ को सिमानामा पर्ने साल्मेमा बाँध निर्माण गरेर करिब ६ किलोमिटर तल तिङ्लाको भदौरेस्थित भूमिगत पावरहाउसमा पानी झारेर आयोजनाले ऊर्जा उत्पादन थालेको हो।
पाँच किलोमिटर लामो सुरुङमार्ग निर्माण गरी खोलाको बहावलाई नियन्त्रण गर्दै ऊर्जा उत्पादन गर्ने संरचना निर्माण गरिएको छ। सहायक प्रबन्धक चौधरीले भने, ‘४१/४१ मेगावाट क्षमताका दुई वटा पेल्टन टर्बाइन जडान गरिएको छ। दुवै युनिटको ग्रिडमा सफल परीक्षण भइसकेको छ। अब विद्युत् प्राधिकरणले आगामी १५ दिनसम्म उत्पादन परीक्षण गर्नेछ।’ परीक्षणको चरण सकेर प्राधिकरणको स्वीकृति प्राप्त गरेपछि आयोजनाले व्यावसायिक रूपमा उत्पादन थाल्नेछ।
सन् २०१६ मा निर्माण थालिएको यो आयोजनामा विभिन्न भौगोलिक कठिनाइ, प्राविधिक जटिलता र जलवायुजन्य अवरोध आएको थियो। निर्माण अन्तिम चरणमा पुगेका बेला, पहिरोले पेनस्टकसहितको संरचनामा ठूलो क्षति पुर्याएको थियो। जसका कारण सबै संरचना पुनः निर्माण गर्नु परेको आयोजना सहायक प्रबन्धक चौधरीले बताए। फेरबदलले लागतमा बढाएको छ।
आयोजनामा एफएमओसहितका विभिन्न युरोपियन बैंकहरूको १६ अर्ब रुपैयाँ लगानी छ। निर्माण कम्पनीले आयोजनाको काम सेप्टेम्बर २०२५ भित्र सम्पन्न गर्ने लक्ष्य राखेको थियो। दुई महिनाअघि नै सकेर विद्युत् उत्पादन थालिएको हो। तल्लो सोलु आयोजनाबाट हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा अधिकतम ८२ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य छ।
उत्पादित विद्युत् १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसनमार्फत राष्ट्रिय ग्रिडमा जोडिएको छ। यो आयोजना सरकारको ‘सुपर सिक्स’ परियोजनाको हिस्सा हो, जसअन्तर्गत निजी लगानीमा निर्माण भइरहेका ६ वटा प्रमुख जलविद्युत् आयोजना समावेश छन्। नेपालमा निजी क्षेत्रबाट अहिलेसम्म निर्माण भएको सबैभन्दा ठूलो आयोजना भने ८६ मेगावाटको सोलु दूधकोशी हो, जुन यसअघि नै सञ्चालनमा आइसकेको छ। तल्लो सोलु आयोजनाले निजी लगानीको दोस्रो ठूलो जलविद्युत् आयोजना हो।
विद्युत् उत्पादनसँगै यो आयोजनाले सोलुखुम्बु जिल्लामा रोजगार, पूर्वाधार, व्यावसायिक गतिशीलता र आर्थिक क्रियाकलापमा उल्लेखनीय योगदान दिएको छ। सुरुङ खन्नेदेखि पेनस्टक राख्ने, टरबाइन जडानदेखि पावर हाउस सञ्चालनसम्म दर्जनौँ स्थानीय युवा प्राविधिक र अप्राविधिक क्षेत्रमा संलग्न भएका थिए। रासस










