काठमाडौं। हिमालपारिको जिल्ला मनाङस्थित समुद्र सतहबाट ४ हजार ९ सय ४९ मिटर उचाइमा रहेको पर्यटकीय स्थल तिलिचो तालमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणले ३९० वाटको सौर्य प्यानल राखेर तिलिचो तालमा विद्युत् आपूर्तिको व्यवस्था गरिएको जनाएको छ।
प्राधिकरण मनाङ वितरण केन्द्र प्रमुख राजु महतोले केही दिनअघिबाट सौर्य प्यानलको व्यवस्था गरी तिलिचो तालमा बत्ती बालिएको बताए। विद्युत् पुगेपछि त्यहाँ जाने स्वदेशी तथा विदेशी पर्यटकलाई मोबाइल फोन चार्ज गर्न सहज भएको केन्द्र प्रमुख महतोले उल्लेख गरे।
मनाङको ङिस्याङ गाउँपालिका-९ खाङ्सारस्थित समुद्री सतहबाट ४ हजार २ सय ५० मिटर उचाइमा रहेको तालको आधार शिविर (बेस क्याम्प)सम्म भने यसअघि नै राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगिसकेको छ। बेस क्याम्पमा ५० केभीए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको छ।
बेस क्याम्पबाट ताल पुग्न करिब ३ घण्टा हिँड्नु पर्छ। ताल वरिपरि बस्ती पनि नभएकाले तत्कालका लागि सौर्य ऊर्जाबाट विद्युत् आपूर्तिको व्यवस्था गरिएको महतोले बताए।











