यस वर्षको इप्पान ‘ऊर्जा ज्योति सम्मान २०८२’ वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीलाई

बिजमाण्डू
२०८२ असार ३२ गते १२:१३ | Jul 16, 2025
यस वर्षको इप्पान ‘ऊर्जा ज्योति सम्मान २०८२’ वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीलाई


काठमाडौं। यस वर्षको ‘ऊर्जा ज्योति सम्मान, २०८२’ वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीले प्राप्त गरेका छन्।

GBIME
Tata

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रको विकास र विस्तारमा उल्लेख्य योगदान पुर्‍याउने एक जनालाई हरेक वर्ष यस सम्मान दिँदै आएको छ।

मंगलबार इप्पानको २३औं वार्षिक साधारणसभाको अवसरमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उक्त सम्मान प्रदान गरेका हुन्। अधिकारीले सम्मानसहित नगद १ लाख रुपैयाँ प्राप्त गरेका छन्।

सो क्रममा ऊर्जामन्त्री दीपक खड्का, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, इप्पान अध्यक्ष गणेश कार्की र ऊर्जा ज्योति सम्मानका संस्थापक इप्पानका पूर्वअध्यक्ष शैलेन्द्र गुरागाईं लगायतका उपस्थित थिए।

इप्पानका पूर्वअध्यक्ष गुरागाईंले आफ्नी दिवङ्गत छोरी श्रीनिका गुरागाईंको स्मृतिमा विस २०७६ मा ‘ऊर्जा ज्योति सम्मान’ स्थापना गरेका थिए। कुनै सार्वजनिक पद धारण गरेर वा नगरेर ऊर्जा क्षेत्रको विकास र विस्तारमा उल्लेख्य योगदान पुर्‍याउनेमध्ये इप्पान कार्यसमितिले छनोट गरेको एक जनालाई इप्पानको साधारणसभाको अवसर पारेर हरेक वर्ष यो सम्मान प्रदान गरिँदै आएको छ।

नेपाल विद्युत् प्राधिकरणमा ३ दशक सेवा गरी उपकार्यकारी निर्देशकबाट सेवानिवृत्त भएका ऊर्जाविज्ञ अधिकारीले ऊर्जा मन्त्रालयमा वरिष्ठ ऊर्जाविज्ञको रुपमा करिब १ वर्ष काम गरेका थिए। विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागमा लामो समय काम गरेका उनले विद्युत् व्यापारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञता हासिल गरेका छन्।

सार्वजनिक पदमा नरहँदा पनि निजी क्षेत्रलाई संकुचित बनाउने गरी चालिएका विभिन्न सरकारी कदमको तर्क र तथ्यसंगत खण्डन गर्दै ऊर्जा विकासमैत्री वातावरणका लागि निरन्तर खबरदारी गरिरहने व्यक्तिकारुपमा अधिकारी निजी क्षेत्रमाझ परिचित छन्।

सम्मान ग्रहण गर्दै ऊर्जा विज्ञ अधिकारीले नेपालको ऊर्जा विकासमा छोटो समयमै अभूतपूर्व नतिजा दिएको निजी क्षेत्रको छाता संस्था इप्पानले गरेको सम्मानबाट ऊर्जा क्षेत्रमा थप क्रियासिल रहन उत्प्रेरित गरेको बताए।

उनले सरकार र निजी क्षेत्रको सहकार्यबाटै उर्जा विकासमार्फत देशको सामाजिक-आर्थिक रुपान्तरणसहितको समृद्धि हासिल हुने विश्वास व्यक्त गरे। यस अभियानमा सबै सरोकारवालाहरुको साथ, समर्थन र योगदान महत्त्वपूर्ण रहने पनि उनको भनाइ थियो।

‘खासमा जलविद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान अत्यन्त उच्च रहेकाले मैले प्राप्त गरेको आजको यो सम्मान नेपालको समग्र निजी क्षेत्रलाई ‘डेडिकेट’ गर्न चाहन्छु,’ अधिकारीले भने।