
बेनी (म्याग्दी)। ६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ। अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको लेकगाउँमा निर्मित आयोजनाको प्रवर्धक ह्युम कन्सल्ट प्रालि हो।
आन्तरिक परीक्षण सफल देखिएको आयोजना प्रमुख दार्शनिक काफ्लेले बताए। उनका अनुसार प्रसारण लाइनको परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको हो।
विद्युत् विकास बोर्ड र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधि तथा ठेकेदार कम्पनीका प्राविधिकद्वारा विद्युतगृहमा टर्बाइन लगायत उपकरणमा विद्युत् उत्पादनको परीक्षण गरी कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको जानकारी उनले दिए।
‘आयोजनाबाट उत्पादित विद्युत् करिब २० दिनका लागि परीक्षणको रूपमा रहने छ। परीक्षण अवधिमा प्राविधिक समस्या नदेखिए व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु हुन्छ,’ आयोजना प्रमुख काफ्लेले भने। २०७७ देखि नै नारच्याङको बेँसीगाउँबाट पहुँचमार्गका लागि सडक खन्न सुरु गरेको यस आयोजनाले २०७९ सालदेखि आयोजनाको भौतिक पूर्वाधार निर्माण सुरु गरेको थियो।
आयोजनाले नारच्याङको बेँसीगाउँबाट लेकगाउँहुँदै बाँध र विद्युतगृहसम्म १३ किमि पहुँचमार्ग बनाएको छ। पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई सडक यातायातको सुविधा पुगेको छ। एक वर्षअघि नै निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि गत वर्षको बाढीले बाँध र इन्टेकमा क्षति पुर्याएपछि ढिला गरी विद्युत् उत्पादन सुरु भएको हो।
आयोजनाको विद्युतगृहमा दुई वटा टर्बाइन छन्। रेलेखर्कस्थित बाँध क्षेत्रमा पानी थिग्य्राउने पोखरी, अण्डर स्वीच, डिसेन्डरको आउटलेट, इन्लेट, फोरवेलगायत पूर्वाधार बनाएर ३५ सय मिटर लामो पेनस्टक पाइप लाइनमार्फत पानी ल्याएर बिजुली उत्पादन गर्न थालिएको आयोजनाका इलेक्ट्रिकल इञ्जिनियर सुनिलकुमार शाहले जानकारी दिए।
हरिस्वाँरामा रहेको विद्युतगृहमा पानी खसाल्ने हेड ५१० मिटर उचाइको छ। विद्युतगृहबाट दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताको ४.३ किमि प्रसारण लाइन निर्माण गरिएको छ। १ अर्ब ३५ करोड वित्तीय व्यवस्थापन गरेर निर्माण भएको आयोजनामा हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन्।
आयोजना बनाउन सिभिलतर्फ साकुरा पावर कन्स्ट्रक्सन, हाइड्रो मेकानिकलतर्फ वर्कसप इञ्जिनियरिङ सर्भिसेस प्रालि र इलेक्टोमेकानिकलतर्फ फेलोभेल इनर्जी प्रालि इन्डियाले ठेक्का लिएका थिए। अक्करे भीरलाई छिचोलेर पहुँचमार्ग बनाउनुपरेको र बाढीपहिरो लगायत प्राकृतिक विपत्तिको सामाना गर्दै निर्माण सकेर विद्युत् उत्पादन थालिएको आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले बताए।
नारच्याङमा यसअघि १ सय १० मेगावाट क्षमताको नीलगिरि एक र निलगिरि क्यासकेड, ५ मेगावाटको घलेम्दीखोला र ४२ मेगावाटको मिस्त्रीखोला जलविद्युत् निर्माण सम्पन्न भएर राष्ट्रिय प्रसारणमा जोडिइसकेका छन्। रासस